काठमाडौं । फेसबुक प्रयोगकर्ताका लागि गोपनीयता र व्यक्तिगत अनुभवलाई सहज बनाउन विभिन्न फिचर उपलब्ध छन् । यिनैमध्ये एक उपयोगी फिचर हो ‘टेक अ ब्रेक’ (Take a Break), जसले कुनै व्यक्तिलाई अनफ्रेन्ड वा ब्लक नगरी उनीसँगको अनलाइन अन्तरक्रियालाई सीमित गर्न मद्दत गर्छ ।
यो फिचर विशेष गरी सम्बन्धमा दूरी कायम गर्न, अनावश्यक पोस्टहरूबाट बच्न वा कुनै व्यक्तिसँगको डिजिटल सम्पर्कलाई कम गर्न चाहने प्रयोगकर्ताका लागि उपयोगी मानिन्छ ।
‘टेक अ ब्रेक’ सक्रिय गरेपछि सम्बन्धित व्यक्तिका पोस्ट, तस्बिर तथा अपडेटहरू तपाईंको फेसबुक न्युज फिडमा कम वा नदेखिने व्यवस्था गर्न सकिन्छ । साथै, उनीहरूले तपाईंका निजी पोस्टहरू हेर्न सक्ने पहुँच पनि सीमित गर्न सकिन्छ ।
कसरी प्रयोग गर्ने ‘टेक अ ब्रेक’ फिचर ?
यो फिचर प्रयोग गर्न निम्न चरणहरू पालना गर्न सकिन्छ;
- फेसबुकमा सम्बन्धित व्यक्तिको प्रोफाइलमा जानुहोस् ।
- प्रोफाइल तस्बिरको तल रहेको Friends बटनमा क्लिक वा ट्याप गर्नुहोस् ।
- देखिएको मेनुबाट Take a Break विकल्प चयन गर्नुहोस् ।
त्यसपछि फेसबुकले तपाईंलाई तीनवटा मुख्य विकल्प उपलब्ध गराउँछ ।
१. See Less of [Name]’s Profile
यो विकल्पले सम्बन्धित व्यक्तिका पोस्ट तथा गतिविधिहरू तपाईंको न्युज फिडमा कम देखाउने व्यवस्था गर्छ । साथै, उनीहरूलाई ट्याग गर्न वा म्यासेज पठाउन फेसबुकले दिने सुझावहरू पनि कम गरिदिन्छ ।
२. Limit What [Name] Will See
यो विकल्पले सम्बन्धित व्यक्तिलाई फेसबुकको Restricted List मा राख्छ । त्यसपछि तपाईंले सार्वजनिक (Public) रूपमा साझा नगरेका पोस्टहरू उनीहरूले देख्न सक्दैनन् । यदि कुनै पोस्टमा उनीहरूलाई ट्याग गरिएको छैन भने पनि त्यस्ता सामाग्री उनीहरूको पहुँचबाहिर रहनेछ ।
३. Edit Who Can See Past Posts
यो सुविधाले विगतमा साझा गरिएका पोस्ट, तस्बिर वा स्टाटस अपडेटहरूको दृश्यता नियन्त्रण गर्न मद्दत गर्छ । विशेष गरी दुवै जना ट्याग भएका पुराना सामाग्रीलाई सीमित वा लुकाउन यो विकल्प उपयोगी हुन्छ ।
किन उपयोगी छ यो फिचर ?
धेरै अवस्थामा प्रयोगकर्ताहरू कसैलाई ब्लक वा अनफ्रेन्ड नगरी दूरी कायम गर्न चाहन्छन् । यस्ता परिस्थितिमा ‘टेक अ ब्रेक’ फिचर प्रभावकारी विकल्प बन्न सक्छ । यसले सम्बन्धित व्यक्तिलाई थाहा नदिई उनीहरूको सामाग्री कम देखाउने तथा आफ्नो निजी जानकारीमाथि थप नियन्त्रण कायम गर्न सहयोग पुर्याउँछ ।
आईसीटी समाचार