कीवर्डहरू -

शिक्षा सुधारका लागि डिजिटल प्रविधि र अनुसन्धान अपरिहार्य : उपराष्ट्रपति यादव

शिक्षा सुधारका लागि डिजिटल प्रविधि र अनुसन्धान अपरिहार्य : उपराष्ट्रपति यादव

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले समयानुकूल र गुणस्तरीय शिक्षा प्रणाली विकास गर्न शिक्षालाई अनुसन्धान, नवप्रवर्तन तथा डिजिटल प्रविधिसँग एकीकृत गर्न आवश्यक रहेको बताएका छन् ।

मदन भण्डारी मेमोरियल कलेजको रजत महोत्सवका अवसरमा आइतबार आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले कृत्रिम बौद्धिकता (एआई) सहित आधुनिक प्रविधिको प्रयोग विद्यालयदेखि विश्वविद्यालय तहसम्म विस्तार गर्नुपर्नेमा जोड दिए ।

शिक्षा क्षेत्रमा अपेक्षाअनुसार नवप्रवर्तन हुन नसकेको उल्लेख गर्दै उपराष्ट्रपति यादवले डिजिटल शिक्षामार्फत त्यसको परिपूर्ति गर्न सकिने बताए । शिक्षाले केवल ज्ञान प्रदान गर्ने मात्र नभई अनुशासन, अनुसन्धान, सिर्जनशीलता र सामाजिक उत्तरदायित्वको भावना विकास गर्नुपर्ने उनको भनाइ थियो ।

उनले बहुजातीय र बहुसांस्कृतिक समाजमा शिक्षा नै सामाजिक सद्भाव र राष्ट्रिय एकताको आधार भएको उल्लेख गर्दै राष्ट्र निर्माणमा शिक्षाको भूमिका अझ प्रभावकारी बनाउन आवश्यक रहेको बताए ।

युवालाई स्वरोजगार र उद्यमशीलतासँग जोड्ने शिक्षा प्रणाली विकास गर्नुपर्नेमा जोड दिँदै उनले प्रमाणपत्रमुखी शिक्षाभन्दा गुणस्तरीय र व्यावहारिक शिक्षालाई प्राथमिकता दिन आग्रह गरे ।

उपराष्ट्रपति यादवले शिक्षकलाई राष्ट्र निर्माणका प्रमुख अभियन्ताका रूपमा चित्रण गर्दै विश्वविद्यालयहरूलाई अनुसन्धान र ज्ञान उत्पादनको केन्द्रका रूपमा विकास गर्नुपर्ने धारणा पनि व्यक्त गरे ।