कीवर्डहरू -

नेपाल टेलिकमको नयाँ सुविधा : के हो सब्सक्रिप्सन बेस्ड मोडेल, कसरी हुन्छ प्याकेज स्वत: नवीकरण ?

नेपाल टेलिकमको नयाँ सुविधा : के हो सब्सक्रिप्सन बेस्ड मोडेल, कसरी हुन्छ प्याकेज स्वत: नवीकरण ?

काठमाडौं । नेपाल टेलिकमले प्रिपेड सेवाग्राहीका लागि नयाँ सुविधा सुरु गर्ने भएको छ । अब ग्राहकले एकपटक आफूले रोजेको प्याकेज सक्रिय गरेपछि मोबाइलमा पर्याप्त ब्यालेन्स रहेसम्म उक्त प्याकेज स्वत: नवीकरण (अटो–रिन्यु) हुने व्यवस्था लागू गर्न लागिएको हो ।

सरकारको १०० दिने कार्यसूचीअन्तर्गत ‘डेलिभरी बेस्ड गभर्नेन्स’ कार्यक्रमअनुसार नेपाल टेलिकमले ‘सब्सक्रिप्सन बेस्ड’ मोडेलमा आधारित यो सेवा आइतबारदेखि सञ्चालनमा ल्याउन लागेको सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमल्सिनाले जानकारी दिएका छन् ।

यस व्यवस्थाअनुसार प्रिपेड ग्राहकले हरेक महिना वा प्याकेजको अवधि सकिएपछि पुन: म्यानुअल रूपमा प्याकेज खरिद वा एक्टिभेट गर्नुपर्ने झन्झटबाट मुक्ति पाउनेछन् । एकपटक सब्सक्रिप्सन गरेपछि खातामा पर्याप्त ब्यालेन्स रहेसम्म प्रणालीले स्वत: सोही प्याकेज नवीकरण गरिदिनेछ ।

मन्त्री तिमल्सिनाले सामाजिक सञ्जाल फेसबुकमार्फत सरकारको १०० दिने कार्यसूचीको बुँदा नम्बर २ अन्तर्गत रहेको डेलिभरी बेस्ड गभर्नेन्सको प्रतिबद्धता कार्यान्वयन गर्दै नेपाल टेलिकमले आइतबारदेखि प्रिपेड सेवाग्राहीका लागि विभिन्न सब्सक्रिप्सन प्याकेज उपलब्ध गराउन लागेको बताएका छन् ।

नेपाल टेलिकमले ग्राहकको आवश्यकता र प्रयोगको आधारमा आगामी दिनमा थप आकर्षक सब्सक्रिप्सन प्याकेजसमेत सार्वजनिक गर्ने तयारी गरेको छ । नयाँ सेवासम्बन्धी विस्तृत प्याकेज, शुल्क तथा अन्य सर्तहरूबारे कम्पनीले औपचारिक रूपमा थप जानकारी सार्वजनिक गर्ने जनाएको छ ।