कीवर्डहरू -

एआईबाट चाहेजस्तो उत्तर पाइरहनुभएको छैन ? गुगलले दियो प्रभावकारी ‘प्रम्प्टिङ’का सूत्र र स्मार्ट रूपमा काम गर्ने उपाय

एआईबाट चाहेजस्तो उत्तर पाइरहनुभएको छैन ? गुगलले दियो प्रभावकारी ‘प्रम्प्टिङ’का सूत्र र स्मार्ट रूपमा काम गर्ने उपाय

काठमाडौं । यदि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले तपाईंले चाहेजस्तो उत्तर दिइरहेको छैन भने यसको कारण एआई नभई तपाईंले दिएको प्रम्प्ट पनि हुन सक्छ । गुगलको भनाइ पनि यही हो । कम्पनीले हालै एआईबाट उत्कृष्ट नतिजा प्राप्त गर्नका लागि विस्तृत गाइडलाइन सार्वजनिक गरेको छ ।

गुगलका अनुसार एआईबाट उत्कृष्ट काम गराउन सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको सही र स्पष्ट प्रम्प्ट दिनु हो । यदि प्रम्प्टमा केही आवश्यक पक्ष समेटिए भने एआईले तपाईंले अपेक्षा गरेअनुसारकै परिणाम दिन सक्छ ।

एआईलाई प्रम्प्ट दिँदा यी पाँच कुरामा ध्यान दिनुहोस्

१. भूमिका (पर्सोना)

सबैभन्दा पहिले जेमिनीलाई एउटा निश्चित भूमिका दिनुहोस् । उदाहरणका लागि, "अनुभवी फाइनान्सियल एडभाइजर", "कन्टेन्ट राइटर", "मार्केटिङ विशेषज्ञ" वा "शिक्षक" जस्ता भूमिका तोक्न सकिन्छ ।

२. स्पष्ट कार्य (टास्क)

एआईलाई तपाईंले के काम गराउन चाहनुभएको हो भन्ने कुरा स्पष्ट रूपमा लेख्नुहोस् । अस्पष्ट निर्देशनभन्दा स्पष्ट कार्य विवरणले राम्रो परिणाम दिन्छ ।

३. आवश्यक सन्दर्भ (कन्टेक्स्ट)

सम्बन्धित फाइल, डाटा, पृष्ठभूमि जानकारी वा अन्य आवश्यक सामग्री पनि उपलब्ध गराउनुहोस् । यसले एआईलाई सही सन्दर्भ बुझ्न मद्दत गर्छ ।

४. उत्तरको ढाँचा (फर्म्याट)

अन्तिम उत्तर कस्तो चाहिएको हो भन्ने पनि उल्लेख गर्नुहोस् । उदाहरणका लागि इमेल, टेबल, ग्राफ, बुलेट पोइन्ट्स वा रिपोर्ट ।

५. राम्रो प्रम्प्ट बनाउन पनि एआईकै सहयोग लिनुहोस्

यदि तपाईं आफैंले लामो वा विस्तृत प्रम्प्ट लेख्न सक्नुहुन्न भने जेमिनीलाई नै "मेक दिस अ बेटर प्रम्प्ट" भन्न सक्नुहुन्छ । त्यसपछि जेमिनीले तपाईंको सामान्य अनुरोधलाई अझ व्यवसायिक र प्रभावकारी प्रम्प्टमा रूपान्तरण गरिदिन्छ ।

यसका साथै, गुगल ड्राइभबाट सिधै फाइल अट्याच गर्न सकिन्छ भने जिमेल, गुगल डक्स र गुगल सिट्स भित्रै जेमिनी प्रयोग गरेर काम गर्न पनि सकिन्छ ।

यसरी काम गर्दा के फाइदा हुन्छ ?

गुगलका अनुसार यसले रिसर्च र डकुमेन्टेसनसम्बन्धी झन्झट निकै कम गर्छ । कार्यालयमा घण्टौं लाग्ने अनुसन्धान तथा लामो प्रपोजल तयार गर्ने काम अहिले जेमिनीले केही मिनेटमै गर्न सक्छ । कम्पनीले यसका लागि दुई महत्त्वपूर्ण सुविधाको उल्लेख गरेको छ ।

१. नोटबुकएलएमबाट छिटो अनुसन्धान

यदि तपाईंले सयौं पृष्ठको रिपोर्ट वा प्राविधिक म्यानुअल अध्ययन गर्नुपर्छ भने प्रत्येक पृष्ठ छुट्टाछुट्टै पढ्नुपर्ने आवश्यकता छैन । सम्बन्धित फाइल नोटबुकएलएममा अपलोड गरेपछि जेमिनीले केही क्षणमै त्यसको कस्टमाइज्ड एनालिसिस तयार गर्छ । यसले मुख्य बुँदा, साझा विषय वस्तु तथा तपाईंका प्रश्नहरूको उत्तर पनि उपलब्ध गराउँछ ।

२. गुगल डक्सबाट केही सेकेन्डमै प्रोजेक्ट ब्रीफ

खाली पृष्ठबाट नयाँ सामाग्री लेख्न सुरु गर्नुको सट्टा गुगल डक्स भित्रै जेमिनी प्रयोग गर्न सकिन्छ । यसले तपाईंको पुरानो अनुसन्धान वा गुगल ड्राइभमा रहेका फाइलका आधारमा नयाँ प्रोजेक्ट प्रपोजल, प्रोजेक्ट ब्रीफ तथा विस्तृत रिपोर्ट तुरुन्त तयार गर्न सक्छ ।

डाटा व्यवस्थापन र प्रस्तुतीकरणलाई अझ स्मार्ट बनाउने उपाय

घण्टौंसम्म स्प्रेडसिट मिलाउने वा प्रेजेन्टेसनका लागि उपयुक्त तस्बिर खोज्ने समय अब विस्तारै समाप्त हुँदै गएको गुगलको भनाइ छ ।

स्मार्ट प्रोजेक्ट ट्र्याकर

गुगल सिट्समा केवल एउटा सामान्य टेक्स्ट कमान्ड दिएर सम्पूर्ण प्रोजेक्ट क्वालिटी ट्र्याकर तयार गर्न सकिन्छ । जेमिनीले स्वचालित रूपमा टाइमलाइन, स्टेकहोल्डर सूची, रिस्क एसेसमेन्ट, टेबल तथा चार्ट तयार गरिदिन्छ ।

आफ्नै आवश्यकताअनुसार प्रस्तुतीकरणका तस्बिर

गुगल स्लाइड्समा प्रस्तुतीकरण तयार गर्दा अब इन्टरनेटबाट कपिराइट-फ्री स्टक फोटो खोजिरहनु पर्दैन । विषय वस्तु मात्र बताएपछि जेमिनीले सोहीअनुसार मौलिक तस्बिर जेनेरेट गरिदिन्छ ।

"ब्युटिफाइ दिस स्लाइड" सुविधा

यो सुविधा धेरै प्रयोगकर्तालाई थाहा नहुन सक्छ । यदि स्लाइडको सामाग्री तयार भएपनि डिजाइन आकर्षक छैन भने ब्युटिफाइ दिस स्लाइड सुविधाले सामाग्री परिवर्तन नगरी लेआउट र फर्म्याटिङलाई केही क्षणमै व्यवसायिक बनाइदिन्छ ।

मिटिङ र समय व्यवस्थापन पनि सहज

जेमिनीले धेरै एप बीच स्विच गर्नुपर्ने झन्झट तथा मिटिङ नोट्स बनाउने काम पनि सहज बनाउँछ ।

जिमेलबाटै मिटिङ तालिका

जिमेलमा इमेल लेख्दै गर्दा जेमिनीले तपाईंको क्यालेन्डर हेरेर खाली समय सुझाव दिन्छ । यसले छुट्टै एप खोलेर मिटिङ तय गर्नुपर्ने आवश्यकता हटाउँछ ।

एआई नोट-टेकर

गुगल मिटमा मिटिङ चलिरहेको बेला जेमिनीले पृष्ठभूमिमै नोट तयार गर्छ । यसले महत्त्वपूर्ण निर्णय, एक्सन आइटम्स तथा गर्नुपर्ने कामहरूको सूची तयार पार्छ र मिटिङ सकिएपछि फलो-अप इमेल समेत मस्यौदा तयार गरिदिन्छ ।

ढिलो पुगेकाहरूका लागि क्विक समरी

यदि तपाईं कुनै महत्त्वपूर्ण मिटिङमा ढिलो सहभागी हुनुभयो भने पनि जेमिनीले अरूलाई अवरोध नगरी अहिलेसम्म भएको छलफलको क्विक समरी उपलब्ध गराउँछ ।

व्यवसायिक इमेल लेख्न पनि सहयोग

कार्यालयको औपचारिक संवादलाई प्रभावकारी बनाउन जिमेल भित्रको जेमिनी उपयोगी बन्न सक्छ । यसले केवल इमेल ड्राफ्ट मात्र तयार गर्दैन, संवेदनशील विषयमा फर्मल, विनम्र वा संक्षिप्त शैलीमा लेख्ने सुझाव पनि दिन्छ ।

‘जेम्स’ सुविधाले बनाउँछ आफ्नै एआई सहायक

गुगलले व्यवसायका लागि जेम्स (Gems) नामक सुविधा पनि सिफारिस गरेको छ । यसको माध्यमबाट कुनै पनि संस्था वा टोलीले बारम्बार दोहोरिने काम; जस्तै सोसल मिडिया पोस्ट लेख्ने, दैनिक इमेल पठाउने वा नियमित सामाग्री तयार गर्नका लागि आफ्नै कस्टम एआई असिस्टेन्ट बनाउन सक्छ ।

यसलाई कम्पनीको आफ्नै डाटा र गाइडलाइनका आधारमा ट्रेन गर्न सकिन्छ । त्यसपछि उक्त एआई सहायक सम्पूर्ण संस्थामा साझा गर्न सकिन्छ, जसले कार्यालयभरि एउटै शैली, गुणस्तर र शुद्धता कायम राख्न मद्दत गर्छ ।