कीवर्डहरू -

स्टार्टअप कर्जाका लागि ९६६ परियोजना छनोट, बैंक शाखा पनि तोकियो

स्टार्टअप कर्जाका लागि ९६६ परियोजना छनोट, बैंक शाखा पनि तोकियो

काठमाडौं । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले स्टार्टअप उद्यम कर्जा कार्यक्रमअन्तर्गत ९६६ वटा परियोजनालाई कर्जा प्रवाहका लागि सिफारिस गरेको छ । सिफारिस भएका परियोजनाका प्रस्तावकले आफ्नो क्षेत्रअनुसार तोकिएका राष्ट्रिय वाणिज्य बैंकका शाखामार्फत सहुलियतपूर्ण स्टार्टअप कर्जा प्राप्त गर्नेछन् ।

प्रतिष्ठानका अनुसार प्रारम्भिक छनोटमा परेका परियोजनामध्ये प्रस्तुतीकरण र बैंकको कर्जा मूल्याङ्कन (क्रेडिट अप्रेजल) को संयुक्त नतिजाका आधारमा अन्तिम सिफारिस गरिएको हो ।

यसअघि प्रारम्भिक योग्य सूचीमा परेका १ हजार २९८ परियोजनाका प्रस्तावकलाई प्रस्तुतीकरणका लागि आह्वान गरिएको थियो । विराटनगर, जनकपुर, काठमाडौं, पोखरा, बुटवल, सुर्खेत र धनगढीमा आयोजित कार्यक्रममा १ हजार १५६ प्रस्तावकले आफ्नो परियोजना प्रस्तुत गरेका थिए ।

मूल्याङ्कनका क्रममा परियोजनाको प्रस्तुतीकरण, वित्तीय अवस्था, फोटो तथा भिडियो, प्रश्नोत्तर र अन्य आवश्यक विवरणलाई आधार बनाइएको प्रतिष्ठानले जनाएको छ । त्यसपछि मूल्याङ्कन समितिले दिएको अंक र बैंकबाट गरिएको क्रेडिट अप्रेजलको अंक जोडेर अन्तिम अंक निर्धारण गरिएको थियो ।

प्रतिष्ठानका अनुसार कुल अंकभारमा कम्तीमा ५० प्रतिशत अंक प्राप्त गरेका प्रस्तावकमध्ये उच्च प्राथमिकताका आधारमा ९६६ परियोजनालाई कर्जा सिफारिस गरिएको हो । अब सिफारिस भएका उद्यमीहरूले तोकिएका राष्ट्रिय वाणिज्य बैंकका शाखाबाट आवश्यक प्रक्रिया पूरा गरी स्टार्टअप कर्जा लिन सक्नेछन् ।