कीवर्डहरू -

राष्ट्रिय वाणिज्य बैंकको नयाँ सुविधा, अब घरबाटै अनलाइनमार्फत कर्जा लिन सकिने

राष्ट्रिय वाणिज्य बैंकको नयाँ सुविधा, अब घरबाटै अनलाइनमार्फत कर्जा लिन सकिने

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ग्राहकलाई कर्जा सेवा अझ सहज, छरितो र प्रविधिमैत्री बनाउने उद्देश्यले अनलाइन कर्जा आवेदन सेवा सञ्चालनमा ल्याएको छ ।

सरकारले अघि सारेको सुशासन तथा नतिजामुखी कार्यसम्पादनसम्बन्धी १०० बुँदे कार्ययोजनालाई कार्यान्वयन गर्ने क्रममा बैंकले डिजिटल माध्यमबाटै कर्जा आवेदन दिने व्यवस्था सुरु गरेको जनाएको हो ।

बैंकका अनुसार अब ग्राहकले कर्जा लिन बैंक धाउनुपर्ने बाध्यता हट्नेछ । आवश्यक विवरण र कागजात अनलाइनमार्फत पेश गरी घर वा कार्यालयबाटै आवेदन दिन सकिने व्यवस्था मिलाइएको छ । यसले कर्जा प्रक्रियालाई थप पारदर्शी, सरल र समय बचत गर्ने विश्वास बैंकको छ ।

अनलाइन आवेदनका लागि बैंकको आधिकारिक वेबसाइटमा रहेको Quick Access मेनु अन्तर्गत Online Loan Application विकल्पमा क्लिक गरी RBB Xmart Lending Digital Loan Portal मा प्रवेश गर्न सकिन्छ । पोर्टलमा इमेल, प्रयोगकर्ता नाम (युजरनेम) र पासवर्ड प्रयोग गरी दर्ता गरेपछि व्यक्तिगत विवरण तथा सम्पर्क जानकारी भरेर आवश्यक कागजात अपलोड गर्दै आवेदन प्रक्रिया पूरा गर्न सकिने बैंकले जनाएको छ ।

आवेदन पेश गरिसकेपछि ग्राहकले Track Progress सुविधामार्फत आफ्नो आवेदन कुन चरणमा पुगेको छ भन्ने जानकारी अनलाइनमै हेर्न सक्नेछन् । सेवालाई थप सहज बनाउन बैंकले क्यूआर (QR) कोडमार्फत पनि पोर्टलमा पहुँच हुने व्यवस्था गरेको छ ।

बैंकले यस डिजिटल सेवाको अधिकतम लाभ लिन सर्वसाधारण, व्यवसायी तथा सबै सरोकारवालालाई आग्रह गरेको छ । वि.सं. २०२२ सालमा पूर्ण सरकारी स्वामित्वमा स्थापना भएको राष्ट्रिय वाणिज्य बैंकले हाल देशका ७७ वटै जिल्लामा फैलिएका ३१६ शाखामार्फत निक्षेप, कर्जा, एटीएम, मोबाइल बैंकिङ तथा अन्य आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।