काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि क्षेत्रमा डिजिटल रूपान्तरणलाई थप सुदृढ बनाउने उद्देश्यसहित शिक्षकहरूका लागि तयार गरिएको ‘एआई लिट्रेसी एन्ड डिजिटल कम्पिटेन्सी’ तालिम मोडुलको पाइलट कार्यक्रम सोमबार शुभारम्भ गरिएको छ ।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपाल भ्रमणमा रहनुभएका एसियाली विकास बैंक एडीबीका अध्यक्ष मासातो कान्दाले काठमाडौंको त्रिपुरेश्वरस्थित विश्वनिकेतन माध्यमिक विद्यालयमा संयुक्त रूपमा उक्त कार्यक्रमको शुभारम्भ गर्नुभएको हो ।
उहाँहरूले एडीबीको सहयोगमा २०७२ सालको भूकम्पपछिको पुनर्निर्माण कार्यक्रमअन्तर्गत निर्माण गरिएका विद्यालय भवन, विज्ञान प्रयोगशाला (साइन्स ल्याब) तथा स्मार्ट कक्षाको पनि अवलोकन गर्नुभयो ।

मन्त्रालयका अनुसार अनलाइन तथा स्व-अध्ययन (सेल्फ–लर्निङ) प्रणालीमा आधारित उक्त तालिम मोडुल शिक्षा तथा खेलकुद मन्त्रालय र एडीबीको प्राविधिक सहकार्यमा विकास गरिएको हो ।
तालिममार्फत शिक्षकहरूलाई कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी आधारभूत ज्ञान, डिजिटल साक्षरता तथा प्रविधिको प्रभावकारी प्रयोगसम्बन्धी दक्षता अभिवृद्धि गराइने लक्ष्य राखिएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले नेपालको शिक्षा क्षेत्रमा एडीबीले करिब पाँच दशकदेखि निरन्तर पुर्याउँदै आएको सहयोगको प्रशंसा गर्नुभयो । उहाँले डिजिटल शिक्षा, प्राविधिक तथा व्यावसायिक शिक्षा लगायतका प्राथमिकताका क्षेत्रमा आगामी दिनमा पनि एडीबीसँगको सहकार्य अझ विस्तार हुने विश्वास व्यक्त गर्नुभयो ।
एडीबी नेपाल सरकारको विद्यालय शिक्षा क्षेत्र योजनाको प्रमुख विकास साझेदारमध्ये एक हो । विद्यालय पूर्वाधार निर्माण, शैक्षिक गुणस्तर सुधार तथा क्षमता अभिवृद्धिलगायत विभिन्न कार्यक्रममार्फत एडीबीले लामो समयदेखि नेपाललाई सहयोग गर्दै आएको शिक्षा तथा खेलकुद मन्त्रालयले जनाएको छ ।
आईसीटी समाचार