कीवर्डहरू -

मेटाद्वारा भारतमा १ लाख ६० हजार फेसबुक–इन्स्टाग्राम अकाउन्ट किन हटाइयो ?

मेटाद्वारा भारतमा १ लाख ६० हजार फेसबुक–इन्स्टाग्राम अकाउन्ट किन हटाइयो ?

काठमाडौं । सामाजिक सञ्जाल प्लेटफर्ममा बालबालिकाको सुरक्षालाई थप प्रभावकारी बनाउन फेसबुक र इन्स्टाग्रामको मूल कम्पनी मेटाले भारतमा ठूलो स्तरको कारबाही गरेको छ । कम्पनीले पछिल्लो छ महिनाको अवधिमा करिब एक लाख ६० हजार फेसबुक र इन्स्टाग्राम अकाउन्ट हटाएको जानकारी दिएको हो ।

मेटाका अनुसार ती अकाउन्टहरू बालबालिकामाथिको यौन शोषणसँग सम्बन्धित हुन सक्ने शंकास्पद बाह्य वेबसाइट वा अन्य डिजिटल प्लेटफर्मका लिङ्कहरू साझा गरिरहेको पाइएकाले हटाइएको हो । कम्पनीले यस्ता गतिविधिप्रति आफूले ‘शून्य सहनशीलता’को नीति अपनाएको स्पष्ट गरेको छ ।

कम्पनीका अनुसार धेरैजसो आपत्तिजनक सामाग्री प्रत्यक्ष फेसबुक वा इन्स्टाग्राममा पोस्ट नगरी बाह्य वेबसाइट तथा मेसेजिङ सेवामार्फत फैलाउने प्रयास हुने गरेको छ । त्यसैले यस्ता गतिविधिको पहिचान गर्न कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिसँगै विशेष सुरक्षा टोली परिचालन गरिएको जनाएको छ ।

मेटाले प्रयोगकर्ताको उजुरीमा मात्र निर्भर नरही आफ्नै स्वचालित प्रणालीमार्फत पनि शंकास्पद गतिविधिको निगरानी गर्ने गरेको जनाएको छ । पछिल्ला महिनाहरूमा कम्पनीले किशोर प्रयोगकर्ताका लागि ‘टीन अकाउन्ट’, थप कडा गोपनीयता सेटिङ्स तथा शंकास्पद सन्देश पहिचान गर्ने नयाँ सुरक्षा सुविधासमेत लागू गरेको छ ।

कम्पनीले बालबालिकाको यौन शोषणसँग सम्बन्धित सामग्री, अकाउन्ट वा नेटवर्कलाई आफ्नो प्लेटफर्ममा कुनै स्थान नदिइने दोहोर्‍याउँदै यस्ता गतिविधि फेला परे तत्काल हटाइने र आवश्यक पर्दा सम्बन्धित निकायसँग विवरणसमेत साझा गरिने जनाएको छ ।

मेटाले प्रयोगकर्तालाई अपरिचित व्यक्तिबाट आएका लिङ्क, फोटो, भिडियो वा अन्य फाइल नखोल्न, शंकास्पद अकाउन्टलाई रिपोर्ट तथा ब्लक गर्न, गोपनीयता सेटिङ्स नियमित रूपमा अद्यावधिक गर्न र व्यक्तिगत जानकारी अपरिचित व्यक्तिसँग साझा नगर्न पनि आग्रह गरेको छ ।

साथै, बालबालिकाले सामाजिक सञ्जाल प्रयोग गर्ने परिवारलाई उनीहरूको अनलाइन गतिविधिप्रति सचेत रहन र सुरक्षित इन्टरनेट प्रयोगबारे नियमित जानकारी दिन कम्पनीले सुझाव दिएको छ ।