कीवर्डहरू -

एआईको सुरक्षित र जिम्मेवार विकासका लागि विश्वव्यापी सहकार्य आवश्यक : संयुक्त राष्ट्रसंघ

एआईको सुरक्षित र जिम्मेवार विकासका लागि विश्वव्यापी सहकार्य आवश्यक : संयुक्त राष्ट्रसंघ

एजेन्सी । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले कृत्रिम बौद्धिकता (एआई) को तीव्र विकाससँगै यसको प्रभावकारी र जिम्मेवार व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय सहकार्य अपरिहार्य भएको बताएका छन् ।

जेनेभामा आयोजित एआई शासनसम्बन्धी पहिलो विश्वव्यापी संवादको उद्घाटन गर्दै उनले एआईले विश्वका अर्थतन्त्र, समाज र सार्वजनिक सेवामा व्यापक परिवर्तन ल्याइरहेको उल्लेख गरे । यस्तो अवस्थामा यसको विकास सुरक्षित, पारदर्शी, समावेशी र नैतिक मापदण्डअनुसार अघि बढाउन सबै राष्ट्रबीच साझा समझदारी आवश्यक रहेको उनको भनाइ थियो ।

महासचिव गुटेरेसले एआई प्रविधिको भविष्य मानवताकै हितमा उपयोग हुने वा चुनौतीको कारण बन्ने भन्ने कुरा अहिले गरिने नीतिगत निर्णयमा निर्भर रहने बताए । विश्वव्यापी संवादले सबै मुलुकलाई समान सहभागितासहित एआई शासनका साझा आधार तय गर्ने अवसर प्रदान गरेको पनि उनले उल्लेख गरे ।

उनले एआई सुशासनका लागि चार प्रमुख आधार प्रस्तुत गर्दै सुरक्षा सुनिश्चित गर्नु, मानवअधिकारको संरक्षण, सबै देशको क्षमता अभिवृद्धि तथा निर्णय प्रक्रियामा पारदर्शिता कायम गर्नु आवश्यक रहेको बताए ।

यी प्राथमिकताले एआईको विकासलाई विश्वसनीय र उत्तरदायी बनाउन सहयोग पुग्ने उनको विश्वास छ । संयुक्त राष्ट्रसंघले आगामी वर्ष न्युयोर्कमा हुने अर्को विश्वव्यापी संवादसम्म एआईको सुरक्षित र न्यायपूर्ण प्रयोगका लागि ठोस प्रगति हासिल गर्ने अपेक्षा गरेको जनाएको छ ।

यसैबीच, एआईसम्बन्धी संयुक्त राष्ट्रसंघीय स्वतन्त्र अन्तर्राष्ट्रिय वैज्ञानिक प्यानलले सार्वजनिक गरेको प्रारम्भिक प्रतिवेदनमा एआई प्रविधिको विकास अत्यन्त तीव्र गतिमा अघि बढिरहेको तर त्यसअनुसारका सुरक्षा तथा नियामक संयन्त्र पर्याप्त रूपमा विकास हुन नसकेको उल्लेख गरेको छ ।

दुई दिने विश्वव्यापी संवादमा विभिन्न देशका सरकारी प्रतिनिधि, प्रविधि कम्पनी, शैक्षिक तथा अनुसन्धान संस्था, नागरिक समाज र प्राविधिक विज्ञहरूको सहभागिता रहेको छ । सम्मेलनमा एआईका सम्भावना र चुनौती, डिजिटल विभाजन न्यूनीकरण, अन्तर्राष्ट्रिय सहकार्य तथा एआई प्रणालीमा मानवीय निगरानीको भूमिकाबारे विस्तृत छलफल हुने जनाइएको छ ।