कीवर्डहरू -

आज एकदिन मात्र सुरक्षित इन्टरनेटको कुरा गरेर हुँदैन्, दिन दिनै गर्नुपर्छः अनिल रघुवंशी (अन्तर्वाता)

आज एकदिन मात्र सुरक्षित इन्टरनेटको कुरा गरेर हुँदैन्, दिन दिनै गर्नुपर्छः अनिल रघुवंशी (अन्तर्वाता)

आज सुरक्षित इन्टरनेट दिवस । नेपालसहित विश्वका १७० भन्दा बढी देशमा सुरक्षित इन्टरनेट दिवस मनाइँदै छ । नेपालमा पनि विविध कार्यक्रम गरी सुरक्षित इन्टरनेट दिवस मनाइँदै छ । सन् २०१९ बाट चाइल्ड सेफ नेटले नेपालमा सुरक्षित इन्टरनेट दिवस मनाउन शुरू गरेको हो ।

यो अभियानमा अहिले धेरै संस्थाहरू जोडिएका छन् र अभियान पनि व्यापक हुँदै छ । सुरक्षित इन्टरनेट दिवसको अवसरमा चाइल्ड सेफ नेटका अध्यक्ष अनिल रघुवंशी सँग सुरक्षित इन्टरनेटका विविध विषयमा आइसिटी समाचारका लागि कमल केसी ले गरेको कुराकानीको सम्पादित अंशः


मंगलबार अर्थात आज नेपालमा सुरक्षित इन्टरनेट दिवस मनाइँदै छ । कसरी मनाइँदै छ ?

नेपालमा सन् २०१९ देखि चाइल्ड सेफ नेटले सुरक्षित इन्टरनेट दिवस मनाउन शुरू गरेका हो । यसका लागि नेपालको सचिवालयको रूपमा हामीले काम गरिरहेका छौं ।

अहिले यो नेपालमा पनि व्यापक बन्दै छ । शुरूवात चाइल्ड सेफ नेटले गरेपनि यसमा अहिले धेरै संघसंस्था जोडिएका छन् । आजको दिनमा मात्रै नभएर यसभन्दा अगाडि बाटै सुरक्षित इन्टरनेट प्रयोगका अन्य कार्यक्रमहरू शुरू भइसकेका छन् ।

कास्की, सुर्खेत, नवलपरासी, क्राभेप्लाञ्चोक जस्ता जिल्लाहरूमा अनलाइन सचेतनासम्बन्धि कार्यक्रम गरिसकेका छौं । अहिले पनि भइरहेको छ । आज ललिपुरमा रेडियो कार्यक्रम गर्दैछौं । रेडियो कान्तिपुरसहित देशभरका १०० बढी रेडियोबाट १२१५ बजेदेखि लाइभ प्रसारण हुन्छ ।

यसबाहेक अरू कार्यक्रमहरू पनि गरिरहेका छौं । पहिलेको भन्दा यसपालिको सुरक्षित इन्टरनेट दिवस व्यापक हुँदै गएको छ । विद्यालयहरूमा इन्टरनेटको सुरक्षित प्रयोग बारे सिकाउन पनि हामीले सहयोग गरिरहेका छौं ।

किन मनाइन्छ सुरक्षित इन्टरनेट दिवस ?

अहिले ययग डिजिटल युग हो । डिजिटल युगमा विद्युत, पानी भने जस्तै इन्टरनेट पनि अतिआवश्यक चीज भइसकेको छ । इन्टरनेटको सुरक्षित प्रयोग नहुँदा, प्रयोग गर्न नजान्दा धेरै समस्या आएका छन् ।

बालबालिकामाथि हुने हिंशा, दुर्व्वहार, शोसन, साइबर बुलिङ जस्ता कुराहरू धेरै भइरहेका छन् । त्यस्ता कुराहरूलाई कम गर्न र बालबालिकाहरूलाई सुरक्षित राख्न सुरक्षित इन्टरनेट दिवस मनाउने गरिन्छ ।

सुरक्षित इन्टरनेट दिवस भन्दा बाहेकका दिनमा पनि सुरक्षित इन्टरनेट प्रयोगका लागि विभिन्न कार्यक्रम गरिन्छ । विश्वभर १७० भन्दा बढी देशमा सुरक्षित इन्टरनेट दिवस मनाइन्छ ।

सुरक्षित रूपमा इन्टरनेटको प्रयोगका लागि सरकार, प्रहरी, विदयालय, अभिभावक, परिवार र बालबालिकाले आ-आफ्नो जिम्मेवारी पुरा गर्न सहयोग होस् भनेर सचेतनाका लागि एउटा अभियानको रूपमा सुरक्षित इन्टरनेट दिवस सञ्चालन भइरहेको छ ।

नेपालमा सन् २०१९ देखि तपाईहरूले सुरक्षित इन्टरनेट दिवस मनाउन थाल्नुभएको हो । त्यो बेला र अहिलेको स्थित हेर्दा के फरक छ ?

त्यो बेलाको भन्दा अहिले चेतनाको स्तर बढेको छ । पहिले यो गर्न हुन्छ, यो गर्न हुँदैन् भन्ने कुरा त्यति धेरै थाहा थिएन् । थाहा भएपनि धेरै कमलाई थाहा थियो । अहिले त्यो धेरै बढिसकेको छ । त्योसँगै इन्टरनेटका प्रयोगकर्ता बढेका छन् ।

नेपालकै कुरा गर्दा २०१९ मा र अहिले इन्टरनेट प्रयोगकर्ता एकदमै बढेका छन् । साथसाथै प्रयोग गर्ने समय पनि बढेको छ । कोभिड अघि ४ घण्टा बढी इन्टरनेट चलाउनेको संख्या कुल इन्टरनेट प्रयोगकर्ताको ४० प्रतिशत थियो भने कोभिड पछि त्यो ८६ प्रतिशत भन्दा बढी पुगेको छ ।

दिनमा १६ घण्टासम्म इन्टरनेट चलाउने प्रयोगकर्ता पनि छन् । ४ मा १ प्रयोगकर्ताले १० घण्टाभन्दा बढी इन्टरनेट प्रयोग गर्छन् । इन्टरनेट चलाउने बढेसँगै दुर्व्वहार, हिंशा, शोसनका घटना बढेका छन् ।

प्रहरीमा रिपोर्ट बढेको छ । समस्या बढेको छ, चेतना बढेको छ तरपनि त्यो गतिमा हामी जान सकेका छैनौं । सचेतना मात्र होइन, त्यसलाई व्यवहारमा पनि ल्याउनु पर्छ । त्यसकारण अहिले हामी व्यवहार परिवर्तनका लागि काम गर्दैछौं ।

सुरक्षित रूपमा इन्टरनेट प्रयोग गर्न के गर्नुपर्छ ?

सुरक्षित रूपमा इन्टरनेट प्रयोग गर्न प्रयोग गर्नेले नै मलाई यो बेला हानी हुन सक्छ है भन्ने कुरा जान्न आवश्यक छ । कोबाट मलाई हानी हुन सक्छ त्यो थाहा पाउनु पर्छ । चिनेको नचिनेको दुबैबाट हानी हुन सक्छ ।

नचिनेकोसँग अनलाइनमा साथी बन्ने गर्नु भएन् । जोपायो त्यहीसँग म्यासेज गर्ने गर्नुभएन् । आफ्नो गोप्य र आफुलाई अप्ठ्यारो पार्न सक्ने फोटो र भिडियोहरू कसैलाई पठाउनु भएन् । साथै इन्टरनेटका केही सेटिङ बारे जानकारी लिनु आवश्यक छ ।

कसैको निजी र पारिवारिक कुरा छन् भने सार्वजनिक रूपमा शेयर गर्नु आवश्यक हुँदैन् । त्यो कुरामा हामीले फेसबुक लगायतका सामाजिक सञ्जालको प्राइभेसी सेटिङमा गएर नियन्त्रण गर्न सक्छौं ।

अर्को कुरा हामी बलियो पासवर्ड राख्दैनौं । कसैले एबिसि, आफ्नो नाम, जन्ममिति, फोन नम्बर जस्ता सजिलै अनुमान गर्न सकिने पासवर्ड राखेका हुन्छन् । त्यसकारण आठ अंकभन्दा बढीको नम्बर, अक्षर, विशेष क्यारेक्टर प्रयोग गरी बलियो पासवर्ड राख्नुपर्छ ।

पासवर्ड बेला बेलामा फेरिरहनु पर्छ । एपमा र डिभाइसमा फरक फरक पासवर्ड राख्नुपर्छ । आफुलाई कसैले नराम्रो कुरा गरेको छ भने त्यसलाई ब्लक गर्ने, रिपोर्ट गर्ने अप्सन हुन्छ । आवश्यकता अनुसार प्रहरीमा रिपोर्ट गर्न सकिन्छ । हेल्पलाइनमा सम्पर्क गर्न सकिन्छ ।

अनि अभिभावकले पनि आफ्ना बालिबालिकाले अनलाइनमा के गर्दै छन् त्यो थाहा पाउन जरूरी छ । सानै उमेरदेखि विद्यार्थीलाई सुरक्षित इन्टरनेट बारे सिकाउनु आवश्यक छ । सुरक्षित इन्टरनेटलाई पाठ्यक्रम राख्दा झन उपयुक्त हुन्छ ।

अन्त्यमा केही भन्न चाहनुहुन्छ ?

इन्टरनेट सुरक्षाको कुरा आज एकदिन मात्रै गरेर सकिने होइन् । हामीले दिनदिनै गर्नुपर्छ । यसका लागि हामीले चेतनाका साथै व्यवहार पनि परिवर्तन गर्नुपर्ने हुन्छ । जानेका कुरा मात्रै लागु गर्न सके पनि धेरै हुन्छ ।

आफुले जानेका कुरा अरूलाई भन्ने, बुझाउने गर्नुपर्छ । कुनै संस्था, सरकार वा कसैको मात्रै जिम्मेवारी नभएर सबैको जिम्मेवारी हो र सबैले गर्नुपर्छ । यसमा सबैको साझा प्रयास हुनुपर्छ ।

त्यसकारण यस वर्षको नारा ‘राम्रो इन्टरनेटका लागि हातेमालो’ रहेको छ । यसको लाग लागि थप जानकारी चाइल्ड सेफ नेटको वेबसाइट बाट लिन सकिन्छ ।

चाइल्ड सेफ नेटको फेसबुक पेज, इन्स्टाग्राम र ट्विटर जस्ता सामाजिक सञ्जालबाट पनि जानकारी लिन सकिन्छ । आजको कार्यक्रम चाइल्ड सेफ नेट र इक्वल एक्सेसको फेसबुज पेजबाट लाइभ हेर्न सकिन्छ ।