कीवर्डहरू -

‘नेपालको आईटी क्षेत्र दश वर्ष पछाडि छ, यस्तै ढिलासुस्ती हुँदै गयो भने झन झन पछाडि पर्छ’

‘नेपालको आईटी क्षेत्र दश वर्ष पछाडि छ, यस्तै ढिलासुस्ती हुँदै गयो भने झन झन पछाडि पर्छ’

सूचना प्रविधिले गर्दा विश्वलाई एउटै ग्लोबल भिलेजको रूपमा अगाडि बढाएको छ । हामीहरू विदेशको काम नेपालको कुनै पनि ठाउँमा बसेर गर्न सक्छौं । एप्पल, गूगल, माइक्रोसफ्ट जस्ता विश्वका ठूला ठूला प्रविधि कम्पनीमा समेत नेपालीहरूले काम गरिरहेका छन् ।

विश्वका ठूला ठूला कम्पनीमा नेपालीले काम गरिरहेको भएपनि नेपालले भने प्रविधिको विकासक्रमलाई पछ्याउन सकिरहेको छैन् । त्यसमाथि नयाँ नयाँ प्रविधिमा नेपालमा अनुसन्धानको काम एकदमै कम भइरहेको छ ।

तर विदेशमा रहेका नेपालीले भने नयाँ नयाँ प्रविधिमा अनुसन्धान गरिरहेका छन् । त्यसैमध्यका एक हुन्, डां विकास लम्साल । उनी जापानमा बसेर एआर, फेस डिटेक्सन लगायतका नयाँ प्रविधिमा अनुसन्धान गरिरहेका छन् । उनी बी एण्ड बी टेकका सह-संस्थापक समेत हुन् ।

नेपालको सूचना प्रविधिको अवस्था, अनुसन्धान, आउटसोर्स लगायतका विषयमा उनै डा. विकास लम्साल नेपाल आएको अवसरमा आइसिटी समाचारका लागि कमल केसीले गरेको सम्पादित कुराकानी


तपाईले जापानमा सूचना प्रविधिको क्षेत्रमा अनुसन्धान गर्दै आउनु भएको छ । नेपाल र जापानबीच प्रविधिको भिन्नता कत्तिको पाउनु भएको छ ? 

जापानमा पाठ्यक्रमलाई नयाँ प्रविधि अनुसार अपडेट गरिएको हुन्छ । अनुसन्धानमा आधारित अध्ययन गर्न पाइन्छ । नयाँ प्रविधिलाई कसरी कोपअप गर्ने भन्ने कुरा जापान धेरै अगाडि छ । 

नेपालमा अनुसन्धान कम हुँदै आएको छ । पढाउने क्षेत्रमा पनि अनुसन्धान कम हुन्छ भने काम गर्ने क्षेत्रमा पनि अनुसन्धान कम हुँदै आएको छ । नयाँ प्रविधिलाई कसरी कोपअप गर्ने भन्ने कुरामा पनि नेपाल पछाडि छ । 

प्रविधि एकदमै गतिशील छ । दिनदिनै यो क्षेत्रमा नयाँ नयाँ परिवर्तनहरू भइरहेका छन् । विश्व प्रविधिको विकास सँगसँगै नेपाल हिड्न सकेको छ ?  

नेपाल देशको रूपमा विश्व प्रविधिको फड्कोसँग हिड्न चुकेको छ । तर कतिपय नेपाली डेभलपरहरूले विदेशीकै लागि नयाँ प्रविधिसँग कोप-अप गरेर काम गरिरहनु भएको छ । हाम्रो टिमले पनि त्यस्ता काम गर्दैछ ।

अहिले एआई, कम्प्युटर भिजन, ब्लकचेन, रोबोटिक्स लगायतका नयाँ नयाँ प्रविधि विश्वमा आइरहेका छन् । डिजिटलाइज भइरहेको बेला नगरपालिकामा एउटा कागज बनाउन जानु पर्‍यो भने १० दिन धाउनु पर्ने हुन्छ । त्यसकारण डिजिटलाइजेसनको क्षेत्रमा पनि नेपाल पछाडि छ । प्रविधिको क्षेत्रमा नेपाल १० वर्षभन्दा धेरै पछाडि छ ।

डकुमेन्ट डिजिटाइजेसनको काम नेपालमा हुन सकेको छैन् । त्यो काम जापानमा सन् २०१० भन्दा अगाडि नै भइरहेको थियो । तर नेपालमा अझै राम्रोसँग कार्यान्वयन हुन सकेको छैन् । यस आधारमा पनि हामी १३-१४ वर्ष पछाडि नै छौं । सबै सेवा डिजिटाइज भएर पेपरलेस सेवा पाउन अझै ५ वर्ष लाग्छ । यस्तै ढिलासुस्ती हुँदै गयो भने नेपाल झन झन पछाडि पर्दै जान्छ । 

तपाईले भन्नुभयो, नेपाल प्रविधिको क्षेत्रमा १० वर्षभन्दा धेरै पछाडि छ । यसले समग्र देश र अर्थतन्त्रलाई कस्तो असर गर्छ ?

पक्कै पनि, प्रविधिको विकास सँगसँगै हिड्न नसक्दा देश र अर्थतन्त्रलाई असर त गर्छ नै । नेपालमा पनि विभिन्न कम्पनीहरूले विदेशी कम्पनीसँग सहकार्य गरेर काम गरिरहनु भएको छ । त्यो गर्नुको एउटा उद्देश्य प्रविधिको विकाससँगै कोपअप गर्न सकियोस्, नेपालमा पनि त्यसलाई लागु गर्न सकियोस भन्ने हो । तर नयाँ नयाँ प्रविधिको विकाससँगै कोपअप गर्न सकिएन भने झनझन पछाडि पर्दै जान्छौं । पछाडि पर्ने बित्तिकै हामी अन्य देशसँग प्रतिस्पर्धा गर्न सक्दैनौं । 

सन् २०१० मा जापानमा मास्टर्स पढ्न जाँदा प्रोफेसरले नेपालमा के पढ्यो भनेर सोध्नु भयो । ८०८६८०८५ माइक्रोप्रोसेसर पढेको हो भन्दा उहाँले मैले त्यो ३० वर्ष अगाडि पढेको हो भन्नु भएको थियो । यो उदाहरणबाट पनि थाहा हुन्छ, हामी कत्तिको पछाडि छौं । यसले नेपाली विद्यार्थी विदेश गएर पढ्न खोज्दा, अध्ययन अनुसन्धान गर्न खोज्दा समस्यामा पार्छ । सैद्धान्तिक ज्ञान भएपनि प्रयाक्टिकल ज्ञान शुन्य हुन्छ । हामी त्यहाँबाट नै पिछडिएका हुन्छौं । नयाँ प्रविधिसँग कोपअप गर्न विदेशको विद्यार्थीभन्दा एक डेढ वर्ष हामीलाई छुट्टै समय लाग्छ, त्यो पनि दिनरात मिहिनेत गरेर ।

यो बाहेक देशको पूर्वाधार र डिजिटल प्रविधिको प्रयोगमा पनि पछाडि छौं । त्यसैकारण सरकारले अनुसन्धान, अप टु डेट पाठ्यक्रम, पूर्वाधार लगायतका विषयमा जोड दिएन भने अझै पछि पर्छौं । 
प्रविधिको प्रयोगले समय बचाइदिएको छ । पहिले पहिले घण्टौं लाग्ने काम अहिले केही मिनेटमै गर्न सकिन्छ । त्यहाँबाट बचत भएको समय हामी कुनै प्रडक्टिभ काममा उपयोग गर्न सक्छौं ।  

कुनै पनि देशको विकासका लागि खोज, अनुसन्धानको विषय महत्त्वपूर्ण हुन्छ । विकसित देशहरूको प्राथमिकतामा सधैं खोज र अनुसन्धान हुन्छ । तर नेपालले अनुसन्धानलाई कम प्राथमिकता दिएको पाइन्छ । नेपालले खोज तथा अनुसन्धानलाई प्राथमिकता दिन किन आवश्यक छ ? 

विश्वका जति पनि विकसित देश छन्, उनीहरूले अध्ययन, अनुसन्धानमा धेरै रकम खर्चिरहेका छन् । अनुसन्धान भनेको सफल हुन पनि नहुन पनि सक्छ । यसले समय लिन्छ । जबसम्म सरकारले अनुसन्धानमा लगानी गर्दैन्, अनुसन्धानबाट छिटो प्रतिफल खोज्छ, तबसम्म प्रगती हुँदैन् ।

नेपालमा पनि महावीर पुनले राष्ट्रिय आविष्कार केन्द्रबाट विभिन्न अनुसन्धानको काम गरिरहनु भएको छ तर सरकारले बुझ्न सकेको छैन् । सरकारले जबसम्म खोज, अध्ययन र अनुसन्धानमा लगानी गर्दैन्, तबसम्म हामी सधैं पछाडि पर्छौं । अरूको मुख ताकेर बस्ने बाहेक विकल्प हुँदैन् । 

अनुसन्धान भनेको कुनै नयाँ विषयमा हुनुपर्छ भन्ने छैन् । भइरहेकै विषयमा पनि अनुसन्धान गर्न सकिन्छ । त्यसले हाम्रो देशलाई कत्तिको फाइदा पुर्‍याउछ भन्ने कुरा पनि आउँछ । तर सरकारले नयाँ नयाँ प्रविधि र दिगो विकासका लक्ष्यमा आधारित हुने अनुसन्धानमा जोड दिन आवश्यक छ । 

तपाईको नाममा चार वटा प्याटेन्ट समेत दर्ता भएका छन् । कुन कुन प्रविधिमा प्याटेन्ट दर्ता छन् ?

म सूचना प्रविधि क्षेत्रमा आवद्ध छु । जापानमा विद्यावारिधि गरेपछि जापानको नम्बर वान कन्स्ट्रक्सन कम्पनी खाजिमा कर्पोरेसनमा अनुसन्धानकर्ताको रूपमा आवद्ध भएको थिए । आईटीको व्यक्ति कन्स्ट्रक्सनमा के गर्छ भन्ने लागेको होला ? तर आईटी सबै क्षेत्रमा प्रयोग हुँदै आएको छ ।

खाजिमा कर्पोरेसनमा नयाँ प्रविधिलाई कसरी कन्स्ट्रक्सनको प्रडक्टिभिटी व्यवस्थापनमा प्रयोग गर्ने भन्ने बारेमा अनुसन्धान गर्छौं । अहिले मेरो नाममा ४ वटा प्याटेन्ट दर्ता भइसकेका छन् भने अझै ३-४ वटा प्याटेन्टका लागि मैले आवेदन दिएको छु । मेरो नाममा दर्ता भएका ४ वटा प्याटेन्ट मध्ये २ वटा अगुमेन्टेड रियालिटी (एआर) सँग सम्बन्धित छन् । एउटा आईप्याडको प्रयोग गरी भर्चुअल रियालिटीको माध्यमबाट बिल्डिङमा घुम्न सक्नुहुन्छ । अर्को भनेको ठूलो ठूलो क्रेनबाट दुर्घटना नगराउनका लागि एआरबाट डिटेक्सन गरेर सामान सार्न मिल्छ । 

त्यस्तै फेस डिटेक्सन प्रविधिमा एउटा प्याटेन्ट छ । यसमार्फत कन्ट्रक्सन कम्पनीमा काम गर्ने कर्मचारीको शारिरिक अवस्थाको जानकारी लिन सकिन्छ । भविष्यमा मोबाइलबाटै कुनै पनि मानिसले आफ्नो शारीरिक अवस्थामा थाहा पाउने गरी प्रविधिको विकास गर्ने योजना छ । यस परियोजनामा अहिले जापानमै कार्यरत नेपाली डाक्टर समेत आवद्ध हुनु भएको छ । 

चौथो भनेको स्मार्ट चोरेको प्याटेन्ट हो । चोरे भनेको जापानमा मर्निङ एसेम्बलीलाई भनिन्छ । कुनै पनि कम्पनीमा काम सुरू गर्नुभन्दा अगाडि जापानमा चोरे अर्थात मर्निङ एसेम्बली गर्ने प्रणाली हुन्छ । म्यानेजरले एकैपटक धेरैलाई बिफ्रिङ गर्दा कत्ति कुराहरू बिर्सिने हुन्छ । त्यसमाथि कोरोना महामारी हुँदा सबै एकैठाउँमा जम्मा हुनै मिलेन । त्यसपछि हामीले स्मार्ट चोरे एप सार्वजनिक गर्‍यौं ।

म्यानेजरले भनेको सबै काम बारे स्मार्ट चोरेबाटै प्रतिक्रिया दिन सकिन्छ । साइटभित्र मात्रै त्यसलाई पहुँच गर्न सकिन्छ । पहुँचका लागि पनि साइटको स्पेसिफिक क्युआर कोड आवश्यक पर्छ । यसमा जीपीएस सिस्टम समेत जडान गरिएको छ । साइटभन्दा बाहिर जानु भयो भने त्यसलाई हेर्न मिल्दैन् । 

तपाई बी एण्ड बी टेक ग्रुपको सह-संस्थापक पनि हुनुहुन्छ । बी एण्ड बी टेकको बारेमा बताइदिनुहोस् न ।

म र मेरो साथी विमलको पहिलो अक्षरबाट बी एण्ड बी टेकको नामाकरण भएको हो । विमल र म बच्चादेखिकै साथी हौं । विमल डेनमार्कमा छ, उ सफ्टवेयर इन्जिनियर हो । हामीले स्मार्ट चोरेको काम गर्दै थियो, त्यतिबेला आफ्नै केही गरौं भनेर बी एण्ड बी टेक सुरू गरेका हौं । सुरूमा हामीले जम्मा १० डलरको डोमेनबाट सुरू गरेका थियौं ।

अहिले जापानका उत्कृष्ट कम्पनीसँग काम गरिरहेका छौं । तर रमाइलो के छ भने बी एण्ड बी टेकको कुनै पनि भौतिक कार्यालय छैन् । यो नेपाल, जापान, इटाली, डेनमार्क र फ्रान्सबाट सञ्चालन भइरहेको छ । हाम्रा सबै कर्मचारीले रिमोटबाट नै काम गर्छन् । अहिले हामीसँग ५० बढी स्टाफ छन् । नेपालमा पनि हामीले ३० जनालाई रोजगारी दिइरहेका छौं ।

इन्डोर पोजिसनिङ एण्ड न्याभिगेटिङ प्रोजेक्टमा विशेष गरी काम गरिरहेका छौं । यो चाँहि जीपीएस डेटा नआउने ठाउँमा कसरी आफ्नो मोबाइलबाटै रियल पोजिसन पत्ता लगाउने र एक ठाउँबाट अर्को ठाउँमा जान मिल्ने सिस्टम हो । यसका लागि आईबीएम जापानसँग पनि सहकार्य गर्दैछौं ।

यस बाहेक स्मार्ट चोरे, फेस डिटेक्सनको काम पनि बी एण्ड बी टेकबाटै भइरहेको छ । आउटसोर्सिङको काम पनि गरिरहेका छौं । इटालीमा शरिरका कुनै पनि अंग नचल्ने व्यक्तिले परेला झिम्काएर उसले के भन्न खोजिरहेको छ भन्ने कुरा पत्ता लगाउने प्रविधिमा पनि काम गरिरहेका छौं । हामीले बायोमेट्रिक, कम्प्युटर भिजन, रोबोटिक्स, अटोनोमस ड्रोन कन्टोलको काम पनि गरिरहेका छौं । बी एण्ड बी टेकले ५ वटा देशबाट काम गरिरहेको छ । 

नेपालमा सूचना प्रविधिमा आधारित आउटसोर्सिङको सम्भावना कत्तिको छ ? 

आउटसोर्सिङको सम्भावना एकदमै राम्रो छ । विदेशीको काम गर्‍यो भने आईटीको स्तर पनि बढ्छ । तर कुन कामका लागि नेपाली आउटसोर्स भइरहेका छन्, त्यो पाटो महत्त्वपूर्ण हुन्छ । बी एण्ड बी टेकले पनि आउटसोर्स गर्ने योजना बनाएको छ । नेपाललाई फाइदा पुग्ने गरी आउटसोर्स गर्छौं ।

नेपालमै बसेर विदेशका ठूला ठूला कम्पनीमा काम गर्ने नेपालीहरू छन् । सरकारले पनि यस्ता ट्यालेन्टको उपयोगमा ध्यान दिन जरूरी छ । आउटसोर्स गर्दा धेरै कुरा सिकिन्छ । त्यसले १० वर्षको आईटीको ग्यापलाई ५ वर्षमा झार्न सक्छ । आउटसोर्स गर्दा जानेको प्रविधि नेपालमा कार्यान्वयन गर्न सकियो भने त्यो नेपालका लागि फाइदा हुन्छ । 

आईटी सेवा आउटसोर्सिङ गर्ने देशको नाममा भारत अंग्रपंक्तिमा छ । तर भारतले आउटसोर्समा धेरै जोड दियो र आफ्नै प्रडक्ट विकासमा कम ध्यान दियो । अहिले आएर भारतले यस विषयमा पछुतो मानिरहेको छ । आउटसोर्ससँगै आफ्नै प्रडक्ट विकासमा ध्यान दिनु कत्तिको आवश्यक छ ? 

हामीले अरू देशका लागि गरेको कामले हाम्रो देशलाई पनि फाइदा हुनुपर्छ । बी एण्ड बी टेकले जापानका जति पनि काम गरेको छ, ती सबै हामीसँग छन् । हामीले सबै स्क्र्याचबाट गरेका छौं । प्याटेन्ट पनि सहकार्यमा गर्छौं । प्याटेन्ट गर्न नमिल्ने काम हामी गर्दैनौं । प्याटेन्ट भएको प्रविधिलाई हामी नेपालमा पनि कार्यान्वयन गर्न सक्छौं ।

जापानको काम आउटसोर्स गरिरहँदा त्यो प्रविधिको स्वामित्व हामीसँग पनि छ । कसैको लागि काम मात्रै गर्ने होइन । आफ्नै प्रडक्टमा पनि काम गर्नु जरूरी छ । कुनै पनि आउटसोर्स प्रडक्टमा जिरोदेखि काम गर्दै छौं, हामीले पनि इन्पुट दिएका छौं, त्यसमा आफ्नो पनि नयाँपन परेको भने उनीहरूलाई प्रोपटी राइट माग्नु पर्छ । हाम्रो पनि स्वामित्व हुनुपर्छ भनेर भन्नुपर्छ ।

पैसामा सबै कुरा दियो भने त हामीसँग केही पनि रहदैन् । हामीसँग भएको नलेज ‘बिग एसेट’ हो । त्यो कुरा भोलि अर्को कम्पनीलाई कस्टमाइज गरेर बेच्न सकिन्छ । किनकी त्यसले कसरी काम गर्छ, त्यो त हामीलाई थाहा छ नी, त्यसकारण आउटसोर्स हामीले गर्नुपर्छ । तर हाम्रो केही प्रोपटी राइट्समा हुनुपर्छ । अर्को कुरा अन्तर्राष्ट्रिय कम्पनीसँग काम गर्दै जाँदा विभिन्न देशको आवश्यकताको बारेमा थाहा हुन्छ । आवश्यता अनुसार आफुले प्रडक्ट बनाएर उनीहरूलाई बेच्न पनि सकिन्छ ।  

आईटी क्षेत्र गतिशील छ । तर नेपालको आईटी क्षेत्रमा पुरानै नीतिहरू छन् । अहिलेको प्रविधिको विकास अनुसार नयाँ नीति बन्न वा सुधार हुन सकेका छैन् । यस्तो अवस्थामा नीतिगत सुधार गर्न सरकारले के के कुरामा ध्यान दिनुपर्छ ?  

नीतिहरूमा सुधार ल्याउँदा सबैभन्दा पहिलो कुरा एउटा ‘विज्ञ समूह’ चाहिन्छ । आईटीका नीति, नियममा सुधार गर्दा आईटीको विज्ञ समूह चाहिन्छ । त्यो विज्ञ समूहले विश्वको प्रविधि बुझेको हुनुपर्छ । कुन देशमा कस्तो नीति छ, त्यसले राम्रो गरेको छ वा नराम्रो गरेको छ भन्ने कुरा खोज्नुपर्छ । त्यत्तिकै गरेर हुँदैन् । त्यसकारण नीति नियम परिवर्तन गर्न विज्ञ समूहको एकदमै खाँचो हुन्छ । यसमा विदेशमा राम्रो काम गरिरहेका नेपालीलाई पनि सहभागी गराउन सकिन्छ ।

अर्को कुरा नेपालमा नीतिगत एकरूपता छैन् । हामीले केही समय अगाडि सरकारका लागि एउटा एप्लिकेसन बनाएका थियौं । एप्लिकेसन बनाएर दियौं तर त्यसको भुक्तानी पनि हुन सकेन र कार्यान्वयन पनि हुन सकेन । कसैले लेखाले मानेन भन्छ, कसैले के भन्छ । त्यो हामीसँग मतलबको विषय होइन । उहाँहरूले नै एप्लिकेसन बनाउनको लागि एप्रोच गर्नुभएको थियो । यस्ता यस्ता कुराहरूले निराशा सिर्जना गर्छ । नीति, नियम सबैले बुझ्ने हुनुपर्छ । अहिलेको नीति, नियम पढेपनि बुझिदैन् । हामीले बुझ्ने र सरकारी कर्मचारीले बुझ्ने कुरा नै फरक पर्छ । 

विदेशमा अनुसन्धान गरेर नीति, नियम बनाइन्छ । किन बनाइँदै छ, त्यसको फाइदा के छ, बेफाइदा के छ, त्यो सबै अनुसन्धान गरेर मूल्यांकन गरेर गरिन्छ । सामान्यतयाः खाजा खाने समय १० मिनेट सार्नु पर्‍यो भने पनि किन सार्ने, सारेमा के फाइदा हुन्छ भन्ने बारेमा अनुसन्धान हुन्छ । हचुवाका भरमा समय सर्दैन् । त्यसकारण कुनै पनि नीति, नियम हचुवाका भरमा नभएर व्यवस्थित खोज र अनुसन्धानबाट बनाउनु पर्छ । 

भविष्यमा बी एण्ड बी टेकमार्फत नेपालमा के के गर्ने योजना बनाउनु भएको छ ? 

हामी नेपालमा अनुसन्धान गर्ने संस्था स्थापना गर्ने तयारीमा छौं । यसको नाम बी एण्ड बी टेक रिसर्च एण्ड इन्नोभेसन सेन्टर हुनेछ । यो पोखरामा स्थापना हुनेछ । उक्त सेन्टरबाट नयाँ नयाँ प्रविधि बारे अनुसन्धान गर्ने योजना छ । नेपालमा पनि नयाँ नयाँ प्रविधिमा अनुसन्धान हुन थालेको छ भन्ने गरेर विश्वको ध्यान खिच्ने गरी रिसर्च एण्ड इन्नोभेसन सेन्टरमा काम गर्नेछौं ।

अहिले गरिरहेको कामलाई अझै अर्को स्तरमा लैजान हामीले विदेशमै रिसर्च सेन्टर खोल्न सक्थ्यौं । तर हामीले नेपाल छनौट गर्‍यौं । किनभने हामी नेपाली हौं । मेड इन नेपाल भन्ने लोगो विश्वभर फैलाउन चाहन्छौं । सुरूमा पोखरामा खोलेपनि माग बढ्दै जाँदा नेपालका अन्य ठाउँमा पनि खोल्न सक्छौं । १ देखि २ वर्षमा रिसर्च सेन्टर स्थापना भइसक्ने छ । 

सूचना प्रविधिमा लाग्न चाहने युवाहरूलाई के सल्लाह सुझाव दिन चाहनुहुन्छ ? 

यदी तपाई सूचना प्रविधिको क्षेत्रमा आउन चाहनुहुन्छ भने त्यहीबाटै खोज गर्न सुरू गर्नुहोस् । अहिलेका इमर्जिङ प्रविधिहरू के के छन् खोज्नुहोस् । एआई, अटोमेसन, रोबोटिक्स, फाइभजी, ब्लकचेन लगायतका नयाँ प्रविधिलाई फोकस गरेर अगाडि बढ्नुहोस् । एउटामा बेस बनाउनुहोस् ।

पढ्नलाई कलेज नै जानुपर्छ भन्ने इन्टरनेटबाटै पढ्न सक्नुहुन्छ । खोलाको बहाबसँगै नबग्नुहोस् । एक ठाउँमा रोकिनुहोस् र खोज्नुहोस् । रिसर्च पेपरहरू पढ्ने बानी बसाल्नुहोस् । हरेक क्षेत्रमा सूचना प्रविधिको प्रयोग हुनुपर्ने अनिवार्यता सिर्जना भइसकेको छ । यसमा भविष्य छ ।   

कुराकानीको अन्त्यमा केही भन्न चाहनुहुन्छ ? 

अन्त्यमा, विदेशका बसेका नेपालीहरूले विश्वका ठूला ठूला कम्पनी विभिन्न एडभान्स प्रविधिमा काम गरिरहेका छन् । उहाँहरूलाई नेपालमै केही गर्ने अवसर प्रदान गराउनुहोस् भनेर यहीबाटै सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । हामी नेपाल छोडेर गएको होइन । नेपालका लागि केही गरौं भनेर बाहिर बसिरहेका छौं ।

त्यसकारण हामीलाई नेपालमा पनि केही गर्ने मौका मिलोस् । नेपाल आउन हामी तयार छौं । तर यहाँ आएर निराशा सिर्जना नहोस् । त्यसकारण सरकारले काम गर्न सजिलो वातावरण बनाउनु पर्छ । विज्ञको छनौट गर्दा विदेशमा बसेर काम गरिरहेकालाई पनि अवसर दिनुहोस् । 

नेपालमै बसेर राम्रो काम गरिरहेका पनि हुनुहुन्छ । तर धेरैलाई थाहा छैन् । उहाँहरूलाई प्रोत्साहनको पनि खाँचो छ । यसका साथै नेपाली डेभलपर र इन्जिनियरहरूलाई पनि अनुसन्धानमा जोड दिन आग्रह गर्दछु ।