कीवर्डहरू -

नवप्रवर्तन केन्द्र स्थापना गर्न १३ विश्वविद्यालयसँग मन्त्रालयले माग्यो प्रस्ताव

नवप्रवर्तन केन्द्र स्थापना गर्न १३ विश्वविद्यालयसँग मन्त्रालयले माग्यो प्रस्ताव

काठमाडौं । सरकारले १३ वटा विश्वविद्यालयमा नवप्रवर्तन केन्द्र स्थापना गर्ने तयारी अघि बढाएको छ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले केन्द्र स्थापना तथा सञ्चालनका लागि इच्छुक विश्वविद्यालयसँग प्रस्ताव माग गरेको हो । मन्त्रालयले बिहीबार सूचना जारी गर्दै आगामी असोज १० गतेभित्र प्रस्ताव पेश गर्न भनेको छ ।

मन्त्रालयका अनुसार नवप्रवर्तन केन्द्रले विश्वविद्यालयमा भइरहेका अनुसन्धान तथा प्रविधिलाई प्रयोगात्मक रूपमा विकास गर्न सहयोग गर्नेछ । त्यस्तै, नयाँ प्रविधिको प्रोटोटाइप निर्माण, प्रविधि हस्तान्तरण, बौद्धिक सम्पत्ति संरक्षण तथा स्टार्टअप र उद्यमशीलताको विकासमा केन्द्रले काम गर्नेछ ।

विश्वविद्यालयमा उत्पादन भएका अनुसन्धान तथा प्रविधिलाई प्रयोगशालामै सीमित नराखी बजारसम्म पुर्‍याउने वातावरण निर्माण गर्नु पनि नवप्रवर्तन केन्द्रको उद्देश्य रहेको मन्त्रालयले जनाएको छ ।

नवप्रवर्तन र उद्यमशीलतालाई अनुसन्धान तथा प्रविधि विकाससँग जोड्दै ज्ञानमा आधारित अर्थतन्त्रको आधार तयार गर्ने उद्देश्यले विश्वविद्यालयमा यस्तो संस्थागत संरचना विकास गर्न लागिएको मन्त्रालयको भनाइ छ ।

यी १३ विश्वविद्यालयमा स्थापना हुँदैछ केन्द्र
मन्त्रालयले प्रस्ताव माग गरेका विश्वविद्यालयमा त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, नेपाल खुला विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय, राजर्षि जनक विश्वविद्यालय, कृषि तथा वन विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय लगायत छन् ।

मन्त्रालयले तोकिएको समयभित्र आवश्यक विवरणसहित प्रस्ताव पेश गर्न सम्बन्धित विश्वविद्यालयलाई आग्रह गरेको छ । नवप्रवर्तन केन्द्र स्थापना भएपछि विश्वविद्यालयमा हुने अनुसन्धान, प्रविधि विकास र उद्यमशीलताबीचको सम्बन्धलाई थप बलियो बनाउने सरकारको अपेक्षा छ ।