कीवर्डहरू -

सिप्रदी यात्रीले सार्वजनिक गर्‍यो नयाँ इलेक्ट्रिक स्कुटर ‘यात्री पी२’ को मूल्य

सिप्रदी यात्रीले सार्वजनिक गर्‍यो नयाँ इलेक्ट्रिक स्कुटर ‘यात्री पी२’ को मूल्य

काठमाडौं । सिप्रदी यात्रीले नेपालमै उत्पादन गरेको नयाँ इलेक्ट्रिक स्कुटर ‘यात्री पी२’ को मूल्य औपचारिक रूपमा सार्वजनिक गरेको छ । यससँगै नेपालमै इन्जिनियरिङ तथा उत्पादन गरिने विद्युतीय मोबिलिटीको विकासमा सिप्रदी यात्रीको यात्रामा अर्को महत्त्वपूर्ण उपलब्धि थपिएको कम्पनीले जनाएको छ ।

नेपालका विविध तथा चुनौतीपूर्ण सडक र भौगोलिक अवस्थालाई ध्यानमा राखेर विकास गरिएको पी२ स्कुटर सहरी आवतजावतका लागि मात्र डिजाइन गरिएको होइन । उकालो बाटो, घुम्ती सडक, दैनिक सहरको ट्राफिकदेखि लामो दूरीको यात्रासम्मलाई ध्यानमा राख्दै पी२ मा कार्यक्षमता, रेन्ज, सहज चार्जिङ, कनेक्टिभिटी र राइडरकेन्द्रित प्रविधिलाई एउटै प्लेटफर्ममा समेटिएको कम्पनीको भनाइ छ ।

सिप्रदी यात्रीका अनुसार पी२ को सुरुवाती मूल्य ३ लाख २९ हजार ९ सय रुपैयाँ तोकिएको छ । ग्राहकले आफ्नो आवश्यकता र प्राथमिकताअनुसार ब्याट्री क्षमता, रङ तथा कम्फर्ट र कनेक्टिभिटीका विभिन्न विकल्प छनोट गरी स्कुटरलाई आफूअनुकूल बनाउन सक्नेछन् ।

नेपाली सडकका लागि इन्जिनियरिङ गरिएको पी२ को मुख्य विशेषतामध्ये पीएमएसएम मिड–ड्राइभ मोटर एक हो । विभिन्न सडक तथा ड्राइभिङ अवस्थामासमेत उत्कृष्ट कार्यक्षमता प्रदान गर्ने गरी यो मोटर डिजाइन गरिएको कम्पनीले जनाएको छ ।

यसले पाङ्ग्रामा ३१५ एनएम टर्क उत्पादन गर्छ । त्यस्तै, एक्टिभ्ली कुल्ड हाई–पावर कन्ट्रोलरले विशेष गरी उकालो सडकमा समेत निरन्तर र भरपर्दो कार्यक्षमता कायम राख्न सहयोग गर्ने कम्पनीको दाबी छ ।

पी२ मा उच्च मजबुतीको स्टिल च्यासिस, लामो ट्राभल सस्पेन्सन र १४ इन्चका पाङ्ग्रा प्रयोग गरिएको छ । यी विशेषताले नेपालका विभिन्न प्रकारका सडकमा स्थिरता र नियन्त्रण कायम राख्न मद्दत गर्ने कम्पनीले जनाएको छ ।

डुअल डिस्क ब्रेकसँगै कम्बाइन्ड ब्रेकिङ सिस्टमले ब्रेक लगाउँदा थप आत्मविश्वास प्रदान गर्ने बताइएको छ ।

तीन ब्याट्री विकल्प
पी२ मा ग्राहकको दैनिक यात्राको आवश्यकताअनुसार छनोट गर्न मिल्ने तीनवटा ब्याट्री विकल्प उपलब्ध छन् । ३ किलोवाट आवरको ब्याट्रीले सहरभित्र ९० किलोमिटरसम्म, ३.७ किलोवाट आवरको ब्याट्रीले ११२ किलोमिटरसम्म र ५.२ किलोवाट आवरको ब्याट्रीले १५७ किलोमिटरसम्म रेन्ज दिने कम्पनीको भनाइ छ ।

थप रेन्ज आवश्यक पर्ने राइडरका लागि एक्स्टेन्डर प्याकमार्फत थप ५० किलोमिटरसम्म रेन्ज प्राप्त गर्न सकिनेछ । पी२ का ब्याट्री प्रणाली यही प्लेटफर्मलाई ध्यानमा राखेर विकास गरिएको र नेपालको सञ्चालन अवस्थाअनुसार परीक्षणसमेत गरिएको कम्पनीले जनाएको छ ।

पी२ मा ८ वर्ष वा ८० हजार किलोमिटरसम्मको ब्याट्री वारेन्टी उपलब्ध छ । कम्पनीका अनुसार यो उद्योगकै अग्रणीमध्ये एक हो । यसले दीर्घकालीन प्रयोगमा ग्राहकको विश्वास थप मजबुत बनाउने कम्पनीको उद्देश्य रहेको छ ।

पी२ मा इन्स्टल्ड अनबोर्ड चार्जर, ७ इन्चको टीएफटी डिस्प्ले, ४जी कनेक्टिभिटी, मल्टिपल राइडिङ मोड, स्मार्ट चार्जिङ मोड, मल्टिपल लेभल रिजेनेरेटिभ ब्रेकिङ, हिल होल्ड, क्रुज कन्ट्रोल, क्लास डी हेडलाम्प, रिजेन–रेस्पोन्सिभ टेललाइट, एन्टिथेफ्ट नोटिफिकेसन र मोटर लकजस्ता सुविधा उपलब्ध छन् ।