कीवर्डहरू -

सामाजिक सञ्जालमा निर्वाचनलाई असर पार्ने सामग्री पोष्ट नगर्न निर्वाचन आयोगको चेतावनी

सामाजिक सञ्जालमा निर्वाचनलाई असर पार्ने सामग्री पोष्ट नगर्न निर्वाचन आयोगको चेतावनी

सामाजिक सञ्जालमा निर्वाचनलाई असर पार्ने सामग्री पोष्ट नगर्न निर्वाचन आयोगले चेतावनी दिएको छ । सोमबार एक विज्ञप्ती जारी गर्दै आयोगले निर्वाचनलाई असर पार्ने गलत सामग्री पोष्ट नगर्न चेतावनी दिएको हो ।

निर्वाचन आचारसंहिताको परिच्छेद-२ अन्तर्गत सबैले पालना गर्नुपर्ने आचरणमा सामाजिक सञ्जालको प्रयोग र दफा २२ को (ज) मा भएको प्रावधान विपरीत गलत सामग्री सामाजिक सञ्जालमा पोष्ट नगर्न कडा चेतावनी दिएको छ ।

स्थानीय तह निर्वाचन, २०७९ का उम्मेदवार तथा राजनीतिक दलप्रति लक्षित गरी मिथ्या सूचना, दुष्प्रचार, द्वेषपूर्ण अभिव्यक्ति सामाजिक सञ्जालमा पोष्ट भईरहेको र यस्ता गलत, भ्रामक, चरित्र हत्या हुने व्यक्तिगत लाञ्छना लगाउने, मानहानी हुने वा यस्तै प्रकृतिका निर्वाचनलाई प्रत्यक्ष रुपमा असर पार्ने गलत सामग्री सामाजिक सञ्जालमा पोष्ट हुंदा निर्वाचनको स्वच्छता, स्वतन्त्रता र गरिमामा समेत आंच पुग्न सक्ने भएकोले यस्ता प्रकृतिका कार्य कुनै पनि हालतमा नगर्न नगराउन सबैमा आयोगले कडा चेतावनी दिएको छ ।

आचारसंहिता विपरित कतिपय स्थानमा कानूनले बर्जित गरेका यस्ता कार्य भैरहेको भन्दै आयोगले राजनीतिक दल, उम्मेदवार निर्वाचन प्रतिनिधि वा कुनै व्यक्तिले आचारसंहिता विपरीत पोपुर, भित्ते लेखन, तुल, व्यानर, डिजिटल डिस्प्ले जस्ता प्रचारात्मक सामग्री प्रयोग गरेको पाइएमा तत्काल हटाउन आदेश दिएको छ ।