कीवर्डहरू -

बालबालिकाहरुका लागि मृत्युको घाट बन्दै टिकटकको \'ब्लाकआउट च्यालेन्ज\'

बालबालिकाहरुका लागि मृत्युको घाट बन्दै टिकटकको \'ब्लाकआउट च्यालेन्ज\'

टिकटकलाई 'ब्लाकआउट च्यालेन्ज' कन्टेन्ट प्रसारण गरेको भनेर मुद्दा लागेको छ । टिकटक र प्यारेन्ट कम्पनी बाइट डान्स विरुद्ध ब्लाकआउट च्यालेन्ज गर्न खोजेको एक जना १० वर्षीया बालिकाको मृत्युमा लापरवाही गरेको भनेर मुद्दा हालिएको हो ।

डिसेम्बर ७ मा पेन्सिलिभेनियाकी १० वर्षीया नाइला एन्डरर्सन आफ्नो सुत्ने कक्षमा बेहोस रुपमा फेला परेकी थिइन् । उनलाई तुरुन्तै अस्पताल लगिएता पनि उपचारको क्रममा पाँच दिनपछि उनको मृत्यु भएको हो ।

एन्डरर्सनकी आमाले नाइलाले ब्लाकआउट च्यालेन्ज गर्दा बेहोस हुन पुगेकी बताएकी छिन् । ब्लाकआउट च्यालेन्जमा प्रयोगकर्ताहरुलाई बेहोस नभएसम्म आफ्नो श्वास रोक्न वा आफूलाई निसासिन प्रोत्साहित गरिन्छ ।

टिकटकको एल्गोरिदमले गर्दा नाइलाले आफनो 'फोर यू पेजमा' सो च्यालेन्ज देखेपछि प्रयास गरेकी थिइन् जसले अन्तत उनको अल्पआयुमानै मृत्यु हुन पुग्यो ।

उनकी आमाले आफ्नो छोरीको मृत्यु कम्पनीको डरलाग्दो च्यालेन्जको कारणले भएकाले यसका लागि कम्पनी जिम्मेवार हुनुपर्ने र यस्तो नोक्सान गर्ने खालको च्यालेन्जहरु प्लेटफर्मबाट पूर्ण रुपले बन्द गरिनुपर्ने बताएकी छिन् ।

टिकटकका एक प्रवक्ताले ब्लाकआउट च्यालेन्ज टिकटकको ट्रेन्ड नभई प्रयोगकर्ताहरुले अरु स्रोतबाट सिकेको बताएका छन् । उनले हामी सदैव प्रयोगकर्ताहरुको सुरक्षा सुदृढ गर्नका लागि काम गर्दछौँ र यही हाम्रो प्रतिबद्धता हुने गर्दछ भनेर पनि बताए । प्रवक्ताले कम्पनीको तर्फबाट शोकसन्तप्त परिवारलाई संवेदना पनि प्रकट गरेका छन् ।

यही च्यालेन्जले अरु बालबालिकाको पनि मृत्यु भईसकेको छ । अप्रिल २०२१ मा कोलोराडोको एक जना १२ वर्षीया बालक जोशुवा हेलेसस उपचारको क्रममा १९ दिन पछि बितेका थिए । उनले पनि सोही च्यालेन्ज प्रयत्न गरेकाले मृत्युलाई अंगाल्नु परेको थियो ।

इटलीमा पनि एक जना बालिकाको यही च्यालेन्ज गरेपश्चात मृत्यु भएपछि उमेर भेरिफाई नगरेको प्रयोगकर्ताहरुलाई प्रशासनले टिकटकबाट ब्लक गरेको थियो । टिकटकले बालबालिका माथि कस्तो हानी पुर्याउन सक्छ भनेर एक अनुसन्धाननै सुरु भएको छ ।