कीवर्डहरू -

कुनै पनि बेला इन्टरनेट बन्द हुन सक्ने आईस्पानको चेतावनी, १२ को परीक्षा पनि प्रभावित हुन सक्ने

कुनै पनि बेला इन्टरनेट बन्द हुन सक्ने आईस्पानको चेतावनी, १२ को परीक्षा पनि प्रभावित हुन सक्ने

इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईस्पान) ले जुनुसुकै बेला पनि इन्टरनेट अवरूद्ध हुन सक्ने चेतावनी दिएको छ । प्रेस विज्ञप्ती जारी गर्दै आईस्पानले इन्टरनेट वितरण केन्द्रमा विद्युत काटिएको भन्दै कुनै पनि बेला इन्टरनेट काटिन सक्ने चेतावनी दिएको हो ।

नेपाल विद्युत प्राधिकरणका कार्यालयहरुले विवादित पोलभाडाको निहुँमा देशको विभिन्न भागहरुमा इन्टरनेट सेवा प्रदायकहरुका डाटा सेन्टर, पीओपीमा प्रयोग भईरहेको विद्युत लाईन काट्नाले इन्टरनेट सेवा अवरुद्ध भइरहेको संघले जनाएको छ ।

इन्टरनेट सेवा प्रदायकहरुका घरबेटी समेतको विद्युत लाईन काट्ने लगाएतका गतिविधिले इन्टरनेट प्वाइन्ट बाट इन्टरनेट सेवा प्रवाह गर्न नसकिएको आईस्पानको भनाइ छ । संस्थाका अनुसार यो क्रम अति उच्चतम गतिमा अघि बढिरहेकोले गर्दा अहिले धेरै इन्टरनेट प्वाइन्टहरु बन्द हुन पुगेका छन् ।

‘एकातर्फ राष्ट्रिय परीक्षा बोर्ड र नेपाल दूरसञ्चार प्राधिकरणले बिना अवरोध इन्टरनेट सेवा देशभरी प्रवाह गर्न भनिरहेको छ भने अर्कोतर्फ नेपाल विद्युत प्राधिकरणका क्रियाकलापहरुले देशभर इन्टरनेट बन्द हुने स्थिति उत्पन्न गरेको छ,’ आइस्पानको विज्ञप्तीमा भनिएको छ, ‘यसकारण यस स्थितिले कक्षा १२ को वार्षिक परीक्षा सञ्चालनमा प्रतिकुल असर पार्ने हुँदा राष्ट्रिय परीक्षा बोर्ड, शिक्षा विज्ञान प्रविधि मन्त्रालयको विषेश ध्यानाकर्षण गराउदछौँ ।’

केही दिन अघि मात्रै राष्ट्रिय परीक्षा बोर्डले जेठ १६ गतेदेखि २५ गतेसम्म इमेलबाट प्रश्नपत्र पठाउनुपर्ने भएकाले बिहान ७ बजेदेखि १० बजेसम्म देशभर इन्टरनेट अवरूद्ध नहुने व्यवस्था मिलाउन नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्र लेखेको थियो । त्यसपछि प्राधिकरणले सेवा प्रदायकलाई इन्टरनेट नजाने व्यवस्था गर्न निर्देशन दिएको थियो ।

तर विद्युत प्राधिकरणका कारण कुनै पनि बेला इन्टरने सेवा अवरूद्ध हुन सक्ने सम्बन्धमा नेपाल दूरसञ्चार प्राधिकरण र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पनि सेवा प्रदायकहरूले जानकारी गराउँदै पत्र दर्ता गराएका छन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरणलाई आवश्यक कार्य गरी उच्च स्तरिय समितीले प्रतिवेदन कार्यान्वयन गर्न/गराउन आइस्पानले अपिल गरेको छ ।

केही महिना अगाडि भरतपुरमा इन्टरनेट सेवा अवरुद्ध भएपश्चात नेपाल दूरसञ्चार प्राधिकरण र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सहजीकरण पश्चात उच्च स्तरीय समिति गठन भई ‘विद्युतिय पोल प्रयोग तथा सो को भुक्तानी एंव उपभोग सम्बन्धमा सिफारिस गर्न गठित समितिको प्रतिवेदन’ दिएको थियो ।

उक्त प्रतिवेदनलाई सरकारका अन्य निकायले कार्यान्वयन गरेपनि नेपाल विद्युत प्राधिकरणले प्रतिवेदन कार्यान्वयन नगरेको इन्टरनेट सेवा प्रदायकको आरोप छ ।

साथै इन्टरनेट ब्ल्याक आउट हुन नदिन नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषद्का कार्यालय लगायत सम्बन्धित सरकारका अंगहरुलाई आइस्पानले पुनः अपिल गरेको छ ।