कीवर्डहरू -

चालकबाट ६ महिनासम्म कमिसन लिदैनौं, त्यसपछि पनि अरूको तुलनामा कम हुनेछः पवित नन्दा (अन्तर्वाता) 

चालकबाट ६ महिनासम्म कमिसन लिदैनौं, त्यसपछि पनि अरूको तुलनामा कम हुनेछः पवित नन्दा (अन्तर्वाता) 

पछिल्लो समय नेपालमा राइड शेयरिङ लोकप्रिय भइरहेको छ । केही समय अगाडि अन्तर्राष्ट्रिय राइड शेयरिङ सेवा प्रदायक कम्पनी ‘ इनड्राइभर’ पनि नेपाली बजारमा प्रवेश गरेको छ ।

नेपालसहित ४२ वटा देशमा सञ्चालन भइरहेको इनड्राइभरका १०० मिलियन प्रयोगकर्ता छन् । काठमाडौं उपत्यकामा सेवा सुरू गरेको इनड्राइभरले कम्तिमा ६ महिना कमिसन नलिने घोषणा गरेको छ ।

यसै सन्दर्भमा इनड्राइभरको विविध विषयमा इमेलबाट इनड्राइभरकी दक्षिण एशिया जनसम्पर्क व्यवस्थापक पवित नन्दा सँग आइसिटी समाचारका लागि कमल केसी ले गरेको कुराकानीः


राइड शेयरिङ प्लेटफर्म इनड्राइभर नेपालमा उपलब्ध भएको छ । खासमा इनड्राइभर के हो ? यसले के के सेवाहरू दिन्छ ?

इनड्राइभर अन्तर्राष्ट्रिय राइड हेलिङ सेवा प्रदायक हो, जसले चालक र यात्रुलाई जोड्छ । इनड्राइभरमा यात्रुले आफु जाने ठाउँ छनोट गरेर आफै मूल्य निर्धारण गर्न सक्छन् भने चालकले पनि उक्त मूल्यमा काउन्टर अफर दिन सक्छन् ।
नेपालमा अन्य राइड शेयरिङ प्लेटफर्म पनि सञ्चालनमा छन् । उनीहरू र इनड्राइभरबीच के फरक छ ?

अरू राइड शेयरिङ प्लेटफर्ममा एल्गोरिदमले आफै मूल्य निर्धारण गर्छ तर इनड्राइभरमा यात्रु र चालक दुवैले स्वतन्त्र रूपमा आफै मूल्य निर्धारण गर्छन् ।

यदी यात्रुले धेरै अफरहरू प्रस्ताव गरेमा चालकले आफ्नो आवश्यकता अनुसार कुनै एउटा प्रस्ताव स्वीकार गर्न सक्छन् ।

हाल तपाईहरूले काठमाडौंमा मात्रै सेवा सुरू गर्नुभएको छ । छोटो समयमै लोकप्रिय पनि भएको छ । देशका अन्य शहरमा सेवा शुरू गर्ने योजना छ ?

अहिले हाम्रो सेवा काठमाडौं उपत्यकामा मात्रै उपलब्ध रहेको छ । नेपालका अन्य शहरमा पनि सेवा दिने हाम्रो योजना छ ।

डनड्राइभरले राइड शेयरिङ, इन्टरसिटी, ढुवानी र कुरियर सेवा दिदै आएको छ । नेपालमा चाहिँ कुन कुन सेवा सञ्चालनमा छन् ?

काठमाडौंमा हामीले राइड शेयरिङ, इन्टरसिटी र कुरियर सेवा उपलब्ध गराइरहेका छौं ।

सुरूमा ६ महिनाका लागि राइडरबाट कमिसन नलिने घोषणा गर्नुभएको छ । त्यसपछि कति प्रतिशत कमिसन लिनुहुन्छ ?

नेपालमा सञ्चालनमा आएको कम्तिमा ६ महिनासम्म चालकबाट कुनै पनि कमिसन लिदैनौं । त्यसपछि पनि अन्य राइड शेयरिङको तुलनमा शुल्क कमिसन कम नै हुनेछ । कमिसन १० प्रतिशतभन्दा कम राख्ने हाम्रो योजना छ ।

इनड्राइभर प्रयोग गर्नेलाई के फाइदा हुन्छ ?

इनड्राइभर प्रयोग गर्नुको फाइदा भनेको यसमा यात्रु र चालक दुवैले भाडामा सम्झौता गर्न सक्छन । यदी एउटा यात्रुले एउटै मूल्यमा धेरैवटा प्रस्तावहरू प्राप्त गरेमा व्यक्तिले चालक आउने समय, मूल्य, गाडी मोडेल र चालकको मूल्यांकनको आधारमा प्रस्ताव छनोट गर्न सक्छ । भविष्यमा पनि एपमा नयाँ केही अपडेट आएमा हामी तपाईहरुलाई अवगत गराउनेछौँ ।

अन्त्यमा नेपाली प्रयोगकर्तालाई केही भन्न चाहनुहुन्छ ?

इनड्राइभरसँग तपाईको यात्राका लागि आफुले कति तिर्ने भनेर निणर्य गर्न सक्नुहुन्छ । आफुले नै यात्राको मूल्य निर्धारण गरेर पैसा बचत गर्न सक्नुहुन्छ । यदी तपाई ‘फेयर डिल’ को खोजिमा हुनुहुन्छ भने इनड्राइभरबाट बुक गर्नुहोस् र फरक अनुभव लिनुहोस् ।