काठमाडौं । चलचित्र वा शृङ्खला हेर्दा कलाकारले लगाएको कपडा वा प्रयोग गरेको सामान मन पर्यो भने त्यसको विवरण खोज्न छुट्टै समय खर्चिनुपर्ने अवस्था अब कम हुने भएको छ । अमेजनले आफ्नो भिडियो प्रसारण सेवा ‘प्राइम भिडियो’मा सामाग्री हेर्दाकै क्रममा देखिएका सामान पहिचान गरेर खरिद गर्न सकिने सुविधा विस्तार गरेको छ ।
कम्पनीले दर्शकको हेर्ने अनुभवलाई किनमेलसँग जोड्ने उद्देश्यले ‘सप द शो’ र ‘सप द सिन’ नामका सुविधा ल्याएको हो । यी सुविधामार्फत पर्दामा देखिएको वस्तु पहिचान गर्नेदेखि उपलब्ध भएमा सोही सामान खरिद गर्नेसम्मको प्रक्रिया सहज बनाइएको छ ।
विशेष गरी टेलिभिजनमा ‘प्राइम भिडियो’ प्रयोग गर्ने दर्शकका लागि नयाँ सुविधा अझ सरल बनाइएको छ । फायर टिभीको रिमोटमा रहेको ‘अप’ बटन थिचेपछि भिडियो चलिरहेको अवस्थामै ‘सप’ ट्याब खोल्न सकिन्छ । त्यहाँ सम्बन्धित चलचित्र वा शृङ्खलामा देखिएका खरिद गर्न मिल्ने सामानको सूची देखिन्छ ।
त्यसपछि प्रयोगकर्ताले अमेजनको किनमेल सेवासँग जोडिएर आवश्यक वस्तु रोज्न र खरिद प्रक्रिया अघि बढाउन सक्छन् । यसले भिडियो हेर्ने र सामान खोज्ने कामलाई एउटै अनुभवमा जोड्ने प्रयास गरेको छ ।
पर्दामा देखिएको सामान कसरी खोजिन्छ ?
‘सप द सिन’ सुविधा अमेजनको ‘लेन्स’ प्रविधिमा आधारित छ । यसले चलचित्र वा शृङ्खलाका दृश्यमा देखिएका वस्तु तथा कलाकारले लगाएका पहिरन पहिचान गरी त्यस्तै वा मिल्दोजुल्दो सामान खोज्न सहयोग गर्छ । कम्पनीका अनुसार यो सुविधा अहिले ६०० भन्दा बढी चलचित्र तथा शृङ्खलाका शीर्षकमा उपलब्ध भइसकेको छ ।
त्यस्तै, ‘सप द शो’ सुविधाको दायरा पनि विस्तार गरिएको छ । अमेजनका अनुसार यो सुविधा अब ८ हजारभन्दा बढी चलचित्र तथा शृङ्खलामा प्रयोग गर्न सकिने बनाइएको छ । मोबाइल वा टेलिभिजनमा सामाग्री हेरिरहेका बेला सम्बन्धित सामानसम्म पुग्ने र त्यसलाई खरिद गर्ने प्रक्रिया यसबाट सहज हुन्छ ।
अमेजनले मनोरञ्जन र किनमेललाई एउटै मञ्चमा जोड्दै आफ्नो व्यापारिक मोडललाई थप विस्तार गर्न खोजेको देखिन्छ । दर्शकले सामग्री हेर्दा देखेका वस्तु तत्काल खरिद गर्न सक्ने भएपछि भिडियो प्रसारण सेवासँग जोडिएको किनमेलको सम्भावना पनि बढ्ने अपेक्षा गरिएको छ ।
यद्यपि, अमेजनले यो सुविधा तत्कालका लागि अमेरिकामा रहेका प्रयोगकर्तालाई मात्र उपलब्ध गराएको छ ।
आईसीटी समाचार