कीवर्डहरू -

विश्वास र प्यासनले बनेको ब्राण्ड ‘ब्रोडवे इन्फोसिस’

‘जसलाई सुरूमा विश्वास गर्दैन्थे, त्यही आज धेरैको विश्वासको केन्द्रविन्दु बनेको छ’

विश्वास र प्यासनले बनेको ब्राण्ड ‘ब्रोडवे इन्फोसिस’
सीईओ अधिकारीका चार दाजु भाइ

ब्रोडवे इन्फोसिस नेपालको आइटी ट्रेनिङ क्षेत्रको एउटा स्थापित नाम हो । सन् २००८ मा स्थापना भएको ब्रोडवे इन्फोसिसले आज हजारौं आईटीका जनशक्ति बजारमा पठाएको छ ।

ब्रोडवेले व्यक्तिगत रूपमा मात्र नभएर संस्थागत रूपमा पनि आईटीका ट्रेनिङहरू प्रदान गर्दै आएको छ । त्यो बेला ब्रोडवे सुरू गर्न सजिलो थिएन् तर पनि विभिन्न आरोह अवरोह छिचोल्दै आज एउटा सफल आईटी ट्रेनिङ संस्थाका रूपमा उभिएको छ ।

एक दशक अघि आफ्नै केही गर्ने हुटहुटीले ब्रोडवे स्थापना भएको ब्रोडवे इन्फोसिसका संस्थापक राजु अधिकारी बताउँछन् ।

अधिकारीको त्यो हुटहुटीले आज ब्रोडवे इन्फोसिस एउटा बलियो ब्राण्डसँगसँगै दक्ष सीप प्रदान गर्ने संस्था बनेको छ । यसले एकेडेमीया र इन्डष्ट्रीबीचको खाँडललाई कम गर्ने पुलको रूपमा काम गरिरहेको छ । यसले नेपालमा मात्र होइन्, अमेरिकामा समेत सेवा विस्तार गरेको छ ।

यसरी सुरू भयो ब्रोडवे

नुवाकोटमा जन्मिएका राजु अधिकारीलाई सानैदेखि आईटी (सूचना प्रविधि) मा रूची थियो । मध्यम किसान परिवारमा जन्मिएका उनी ८ कक्षा पढ्न काठमाडौं प्रवेश गरे । काठमाडौंमा पढ्न आएपछि बिहान र दिउँसो उनी पढ्थे भने साँझ अरूलाई पढाएर पैसा कमाउथे ।

उनले कक्षा ११-१२ पढ्दा पढ्दै आईटीका ट्रेनिङहरू लिन थालेका थिए । भातरमा गएर पनि उनले केही आइटी ट्रेनिङ लिए । आईटीका ट्रेनिङ दिने क्रममा पार्टनरकै रूपमा एउटा ट्रेनिङ इन्स्टिच्युटमा जोडिए ।

\"\"

आईटी ट्रेनिङकै क्षेत्रमा केही गर्न सकिन्छ भनेर ब्रोडवे सुरू भएको अधिकारीले बताए । ‘आईटीमा सानैदेखि रूची थियो,’ उनले लिभिङ विथ आइसिटीसँग भने, ‘त्यही रूचीको परिणाम नै ब्रोडवे हो ।’

ब्रोडवे सुरू गर्दा उनी २३ वर्षका थिए । भनिन्छ ‘समस्या र समाधानको बीचमा बिजनेस हुन्छ ।’ राजुले पनि नेपालमा आईटी ट्रेनिङको समस्या देखे र सो समस्यालाई समाधान गर्न ब्रोडवे सुरू गरे ।

हुनत ब्रोडवे सुरू हुनुभन्दा अगाडि राजु अर्को ट्रेनिङ इन्स्टिच्युटमा आवद्ध थिए । तर त्यो विविध कारणले सफल हुन सकेन् ।

अधिकारीले व्यवस्थापन र सूचना प्रविधि दुवैमा स्नातक तहको अध्ययन गरेका छन् । सिकाइलाई कहिले पनि रोक्न नहुने उनको मान्यता छ ।

‘सिक्ने प्रक्रियालाई कहिले पनि रोक्नु हुँदैन् । म अहिले पनि हरेक दिन नयाँ कुरा सिकिरहेको हुन्छु । आफुलाई अपडेटेड गराइरहेको हुन्छु,’ अधिकारी भन्छन् ।

अधिकारीका अनुसार व्यक्तिको सफलतामा साथी संगतको ठूलो अर्थ हुन्छ । साथीहरू पनि आईटीमै आवद्ध भएकाले आइटीप्रति झनै रूची बढेको उनको भनाइ छ ।

विश्वास र प्यासनले बनेको ‘ब्राण्ड’

ब्रोडवेले १४ वर्षसम्म आईपुग्न थुप्रै चुनौती पार गरेको छ । सुरूमा राजुले मात्रै ब्रोडेवे सुरू गरेका हुन् तर पछि उनको परिवार नै ब्रोडवेमा जोडियो । ब्रोडवे सफल हुनुमा परिवारको पनि ठूलो योगदान छ ।

राजुसँगै उनका भाइहरू हरि अधिकारी, उत्तम अधिकारी र गोविन्द अधिकारी ब्रोडवेको सफलताका लागि दिनरात खटिरहेका छन् । ब्रोडवे इन्फोसिसलाई स्थापित ब्राण्ड बनाउनमा परिवारको टिमवर्क पनि महत्वपूर्ण रहेको राजु बताउँछन् ।

तिनकुनेमा सुरू गर्दा धेरैले राजुलाई ब्रोडवे चल्दैन् भनेर भन्थे । तर तिनकुनेको ब्रोडवेलाई सफल बनाएरै छाड्ने राजुको दृढ विश्वास थियो ।

‘बेलुन कहिले पनि कलरले उड्दैन् त्यसभित्र भएको हावाले उड्छ,’ उनी भन्छन्, ‘बजार आफैले बनाउनु पर्छ बजार रेडिमेड हुँदैन् । बजार बनाउँदै ब्रोडवे आज एक सफल ट्रेनिङ इन्स्टिच्युटको रूपमा दरिएको छ ।’

बजारको प्रतिस्पर्धालाई उनले कहिले पनि चुनौतीको रूपमा लिएनन् । अरू कम्पनीहरू आएपछि बजार ठूलो हुँदै जाने अधिकारीको बुझाइ छ ।

ब्रोडवेलाई हार्ड वर्क र विश्वासले बलियो बनाएको उनी बताउँछन् । उनी भन्छन्, ‘तपाई जुन काम सुरू गर्नुहुन्छ, त्यस कामप्रति तपाईको विश्वास हुन जरूरी छ ।’

त्यही विश्वासले ब्रोडवे अमेरिकासम्म विस्तार भएको छ । सन् २०१५ देखि ब्रोडवेले अमेरिकाबाट ट्रेनिङ सेवा दिइरहेको छ । प्रविधिले गर्दा नेपाल र अमेरिका बाट दिने ट्रेनिङमा खासै भिन्नता नभएको उनको धारणा छ ।

अमेरिकाका विद्यार्थीलाई पढाउने अधिकांश जनशक्ति नेपालका छन् । अमेरिकामा नेपालको जस्तो कानुनी झन्झट नभएको उनले बताए । ‘अमेरिकामा काम गर्न ठूलो चुनौती छैन्,’ उनी भन्छन, ‘ब्रोडेवे नेपालबाट आएको कम्पनी भनेर चिनाउन चाहन्छौं ।’

हजारौलाई ट्रेनिङ, सयौंलाई जब

ब्रोडवेलाई सुरूमा मान्छेले विश्वास नै गर्दैन्थे । सन् २००८ मा ब्रोडवे एउटा फ्ल्याटबाट सुरू भएको थियो । त्यसमा ३-४ वटा कोठा थिए, ३-४ जनाको टिम थियो ।

सुरूवाती दिनमा मान्छेको विश्वास जित्न धेरै चुनौती भएको राजुको अनुभव छ । तर आज जसलाई सुरूका दिनमा धेरैले विश्वास गर्दैन्थे, त्यही आज धेरैको भरोसाको केन्द्रविन्दु बनेको छ ।

‘ब्रोडवेले आज हजारौंलाई आईटी ट्रेनिङ दिएको छ,’ अधिकारीले भने, ‘स्वदेश तथा विदेशका उत्कृष्ट कम्पनीहरूमा ब्रोडवेका विद्यार्थीहरूले काम गरिरहेका छन् । सयौंलाई जबका लागि सहयोग गरेका छौं ।’

ब्रोडेवेले सुरूमा पीएचपी माईएसक्युएल, ग्राफिक्स, मल्टिमिडिया लगायतका ट्रेनिङ दिदै आफ्नो सेवा सुरू गरेको थियो । पछि प्रविधिको गतिशीलतालाई आत्मसात गर्दै गयो र अहिले मेसिन लर्निङ, एआई, डेटा साइन्स लगायतका नयाँ नयाँ प्रविधिको बारेमा समेत ट्रेनिङ दिइरहेको छ ।

जुनसुकै नयाँ प्रविधि आएपनि त्यसलाई पछ्याउन सक्ने क्षमता ब्रोडवेमा रहेको उनको भनाइ छ । ब्रोडवेले हाल १०० भन्दा बढी विषयमा आईटीका ट्रेनिङ दिइरहेको छ ।

‘जुनसुकै नयाँ प्रविधि आएपनि त्यसलाई पढाउनको लागि आवश्यक पर्ने टिम, विशेषज्ञता हामीसँग छ,’ विश्वस्त हुँदै अधिकारीले भने ।

ब्रोडवेमा उद्योगमा काम गरिरहेका दक्ष प्रशिक्षकबाट पढाइ हुन्छ । पाठ्यक्रममा भन्दा पनि प्रोजेक्टमा आधारित भएर पढाइ हुन्छ ।

उनले अगाडि भने, ‘हामी हार्ड स्किलसँगै सफ्ट स्किल पनि दिन्छौं । विद्यार्थीलाई जब प्लेसमेन्टमा सहयोग गर्छौं ।’ अहिले ब्रोडवेमा मात्रै ७० भन्दा बढीले रोजगारी पाएका छन्  । साथै ब्रोडवेबाट ट्रेनिङ लिएर नेपाल तथा विदेशका विभिन्न कम्पनीमा सयौंले काम गरिरहेका छन् ।

\"\"

ब्रोडवे परिवार


सुरूमा मानिसहरू कार्यालयमै आएर ट्रेनिङ लिन्थे । पैसा पनि क्यासमै दिन्थे । अनलाइन ट्रेनिङको त्यति विश्वास पनि गर्दैन्थे । तर पछिल्लो समय ब्रोडवेमा अनलाइन र अफलाइनमा पढने विद्यार्थी बराबर छन् । अनलाइनबाट हुने पेमेन्ट पनि बढी छ ।

नेपालमा प्रविधिको विकासमा कोरोना महामारी कोसेढुंगा सावित भएको अधिकारीले बताए । उनले भने, ‘केही वर्ष लाग्ने प्रविधिको विकास महामारीका कारण छोटो समयमा भएको छ । डिजिटल साक्षरता बढेको छ ।’ एक दशक अगाडिको प्रविधि र अहिलेको प्रविधिमा फरक आएको उनको भनाइ छ ।

अधिकारीका अनुसार कुनै पनि मान्छेले आफुलाई समय अनुसार परिवर्तन नगराएमा बजारबाटै आउट हुन्छ । ‘यदी बजारमा टिकिरहने हो भने परिवर्तनलाई अगाल्नु पर्छ,’ उनी भन्छन् ।

गाउँ गाउँमा सेवा

ब्रोडवे इन्फोसिसले अब गाउँ गाउँमा समेत आईटी ट्रेनिङ दिने योजना बनाएको छ । सस्तो शुल्कमा गाउँमा पनि आईटी ट्रेनिङ दिने योजना अधिकारीले सुनाए । ‘पैसा नभएर कोही पनि ट्रेनिङबाट बञ्चित नहोस् भन्ने उद्देश्यसहित काम गरिरहेका छौं,’ उत्साहित हुँदै उनले भने ।

त्यस्तै कम्पनीले आफ्नो सेवा नेपाल र अमेरिकामा मात्र नभएर अन्य देशमा पनि विस्तार गर्ने योजना बनाएको छ । अझै गुणस्तरीय सेवा दिने योजना कम्पनीको छ । साथै नेपाललाई ट्रेनिङ टुरिजमको रूपमा विकास गर्ने उनको लक्ष्य छ । ‘यो मेरो सुरू देखिकै उद्देश्य हो,’ उनले भने ।

एकेडेमीया र इन्डष्ट्रीको ग्यापलाई जोड्दै

ब्रोडवेले एकेडेमीया र इन्डष्ट्री बीचको ग्यापलाई कम गर्न काम गरिरहेको छ । एकेडेमीयामा बढी सैद्धान्तिक पढाइ हुन्छ अभ्यास त्यति हुँदैन् । त्यो ग्यापलाई कम गर्न ब्रोडवे तल्लिन छ ।

‘एकेडेमीया र इन्डष्ट्री बीच अझै पनि ठूलो खाडल छ,’ राजु भन्छन्, ‘त्यसलाई पुरा गर्न हामी सधै लागिरहन्छौं । त्यसका लागि कहिले पनि बिचलित हुँदैनौं ।’

\"\" सीईओ राजु अधिकारी



अधिकारीका अनुसार इन्डस्ट्रीमा जसरी काम हुन्छ त्यसरी पढाइ भएमा एकेडेमीया र इन्डष्ट्रीको ग्याप कम हुन्छ । ट्यागलाइनको लागि मात्रै भएपनि शैक्षिक संस्थाको पढाई चाहिने उनको तर्क छ ।

‘शैक्षिक संस्थाको पढाइ स्किलमध्येको हार्ड स्किल हो । त्यो स्किललाई बजारमा बिक्री गर्नका लागि ब्रोडवे जन्मेको हो,’ उनले भने ।

सम्भावना र अवसर जोड्दै

पछिल्लो समय नेपालका दक्ष जनशक्तिहरू विदेश पलायन भइरहेका छन् । विदेशमा राम्रो अवसर र सेवा सुविधा हुने भएकाले पनि जनशक्तिहरू विदेश पलायन भइरहेका छन् । प्राय विदेश पलायन हुनेले नेपालमा सम्भावना नै देख्दैनन् । तर राजु भने नेपालमा सम्भावना भएको बताउँछन् ।

‘नेपालमा सम्भावना छ । नेपालमै काम गर्न सकिन्छ भन्ने मानसिकता विकास गर्नु आवश्यक छ,’ उनले लिभिङ विथ आइसिटीसँगको कुराकानीमा भने, ‘जबसम्म यस्तो मानसिकता हामी विकास गर्न सक्दैनौं, तबसम्म नेपालको क्षमता विदेश जान्छ ।’