कीवर्डहरू -

सामाजिक सञ्जालको प्रयोग गरी मत सर्वेक्षण गर्न नपाइने, अन्यथा कारवाही गर्ने आयोगको चेतावनी 

सामाजिक सञ्जालको प्रयोग गरी मत सर्वेक्षण गर्न नपाइने, अन्यथा कारवाही गर्ने आयोगको चेतावनी 

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०७९ लागु भइरहेको सन्दर्भमा आचारसंहिता विपरीत सामाजिक सञ्जाल प्रयोग गरी मत सर्वेक्षण गर्न नपाइने जनाएको छ ।

एक विज्ञप्ती जारी गर्दै आयोगले कतिपय व्यक्तिहरूले सामाजिक सन्जालको प्रयोग गरेर राजनीतिक दल उम्मेदवारका सम्मत सर्वेक्षण गरेको तथा त्यसको नतिजा सार्वजनिक गरेको भन्दै त्यस्तो नगर्न जानकारी दिएको हो ।

मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचन प्रयोजनका लागि निर्वाचन आचारसंहिता, २०७९ लागु भइरहेको सन्दर्भमा आचारसंहिता विपरीत कतिपय व्यक्तिहरूले सामाजिक सन्जालको प्रयोग गरेर राजनीतिक दल उम्मेदवारका सम्मत सर्वेक्षण गरेको तथा त्यसको नतिजा सार्वजनिक गरेको निर्वाचन आयोगको अनुगमनबाट पाइएको छ ।

निर्वाचन आचारसंहिता २०७९ को दफा ४ (त) मा उम्मेदवारको मनोनयनपत्र दर्ता भएको मितिदेखि मतदान सम्पन्न नभएसम्म उम्मेदवार वा राजनीतिक दलको मत परिणामका सम्बन्धमा कुनै मत सर्वेक्षण गर्न वा सर्वेक्षणको परिणाम घोषणा गर्न वा प्रकाशन गर्न नपाइने स्पष्ट उल्लेख गरिएको छ ।

आचारसंहिताको दफा ४ को (थ) मा निर्वाचनलाई प्रतिकूल प्रभाव पार्ने वा अवरोध गर्ने गरी विचार राख्न, प्रचारप्रसार गर्न, कुनै विद्युतीय सामग्री उत्पादन गर्न तथा सामाजिक सञ्जालमा प्रकाशन गर्न वा अरुले प्रकाशन गरेको सामग्री शेयर गर्न समेत नहुने व्यवस्था छ ।

उपरोक्त व्यवस्थाहरू विपरीत कोही कसैले कार्य गरेमा कानून वमोजिम कारवाही हुने निर्वाचन आयोगले जानकारी दिएको छ ।