पुस ८ गते शुक्रबार विभिन्न १४ विधामा इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२ वितरण गरिएको छ ।
नेपाल सरकार मुख्यसचिव, सचिव, प्रतिनिधि सभा सदस्य, सरकारी तथा निजी क्षेत्रका उच्च व्यक्तित्व लगायत १ हजार बढीको सहभागीतामा अवार्ड वितरण गरिएको हो । अवार्ड बिजेताहरु के कस्ता छन र उनीहरुले के गरिरहेका छन, यसबारेमा जानकारी राखौ ।
यस वर्ष स्टार्टअप तथा इन्नोभेसन अन्तर्गत ह्वावे स्टार्टअप आइसिटी अवार्ड २०२२ बाट मोनाल टेक, प्रडक्ट आइसिटी अवार्ड २०२२ बाट गल्ली म्याप्स, राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड २०२२ बाट कारोबार एप, पब्लिक च्वाइस आइसिटी अवार्ड २०२२ बाट टिग र साउथ एशिया स्टार्टअप आइसिटी अवार्ड २०२२ बाट चिंगारी सम्मानित भएका छन् ।
त्यस्तै व्यक्तिलाई प्रदान गरिने अवार्ड अन्तर्गत आन्ट्रप्रेनर आइसिटी अवार्ड २०२२ मंगेशलाल श्रेष्ठ, नेपाल टेलिकम पायोनियर आईसिटी अवार्ड २०२२ विजय कृष्ण श्रेष्ठ, नेपाली डायस्पोरा आइसिटी अवार्ड २०२२ डा. वेद काफ्ले, एनसेल वुमन आईकन आइसिटी अवार्ड २०२२ शिला कंसाकार कार्की, जुरी मेन्सन आइसिटी अवार्ड २०२२ दिक्षान्त पाण्डेले पाएका छन् ।
यसैगरी डिजिटल एजुकेसन (पब्लिक सेक्टर) आइसिटी अवार्ड २०२२ ज्ञानोदय बाल बाटिका स्कुल, डिजिटल एजुकेसन (प्राइभेट सेक्टर) आइसिटी अवार्ड २०२२ ज्ञानोदय माध्यमिक विद्यालय, डिजिटल सर्भिसेस आइसिटी अवार्ड २०२२ फोनपे र डिजिटल गभर्नेन्स आइसिटी अवार्ड २०२२ वैदेशिक रोजगार विभागलाई प्रदान गरिएको छ ।
१. ह्वावे स्टार्टअप आइसिटी अवार्ड २०२२ - मोनाल टेक
मोनाल टेक सूचना प्रविधि सुरक्षा, नेटवर्क सुरक्षा, पूर्वाधार सुरक्षा र संगठनको साइबर सुरक्षालाई बलियो पार्न सन् २०२० मार्चमा स्थापना भएको हो । साइबर सुरक्षा विज्ञसहितको आईटी टिमले २४ सै घण्टा नेटवर्क, पूर्वाधार र डेटाको सुरक्षा गर्नेछ । मोनाल टेकले साइबर सोलुसन, ट्रेनिङ र समग्र सूचना प्रविधि पूर्वाधारको सुरक्षा पनि प्रदान गरिरहेको छ ।
२. प्रडक्ट आइसिटी अवार्ड २०२२ - गल्ली म्याप्स
गल्ली म्याप्स नेपालको स्थानिय डिजिटल म्याप हो । नेपालका गल्ली गल्ली भेटाउन सकिने गरी गल्ली म्याप्स तयार गरिएको छ । गल्ली म्याप्समा गल्ली, सडक, घर नम्बर, ल्याण्डमार्क जानकारी भेटाउन सकिन्छ, जुन गूगल म्यापमा मिसिङ छ ।
गल्ली म्याप्सलाई कुनै एक ठाउँमा अर्को ठाउँमा सजिलै र वास्तविक रूटबाट जान मिल्नेगरी ३६० डिग्री भ्यु इमेलमा ट्याग गर्न र सेयर गर्न पनि सकिन्छ ।
३. राइजिंग स्टार इन्नोभेसन आइसिटी अवार्ड २०२२ - कारोबार एप
कारोबार, डिजिटल खाताको रुपमा विकास भएको मोबाइल अकाउन्टिङ एप हो । यस एप मार्फत, साना व्यपारी तथा पसलेहरुले सजिलैसँग आफ्नो व्यापार लेखा र मोबाइलबाट इन्भेन्टरी व्यवस्थापन गर्न सक्छन् । हालसम्म यो एप ४० हजार बढि डाउनलोड भएको छ भने ३० हजार भन्दा बढी व्यवसायहरू एपमा दर्ता भएका छन् ।
४. पब्लिक च्वाइस आइसिटी अवार्ड २०२२- बिआइसी टेक्नोलोजी (टिग)
टिग आन्तरिक राजस्व विभागबाट प्रमाणित क्लाउडमा आधारित अकाउन्टिङ सफ्टवेयर हो । कम्पनीको फाइनान्स र ट्याक्सलाई म्यानेज गर्न सघाउने टिग एप इन्जिनियर, चार्टड एकाउन्टेन्ट र बिजनेस म्यानेजरहरूको समूहले तयार पारेको हो ।
टिग सफ्टवेयरमा कुनै पनि व्यवसायको हिसाब किताब सजिलै राख्न सकिन्छ भने रिपोर्ट पनि डाउनलोड गर्न सकिन्छ । टिगमा डुकुमेन्ट व्यवस्थापन, सेल्स व्यवस्थापन, इन्भेन्ट्री व्यवस्थापन, अकाउन्टिङ, बैंक रिकन्सिलेसन, पर्चेच साइकल, रिपोर्टिङ लगायतका सुविधा छन् ।
५. आन्टरप्रेनर्स आइसिटी अवार्ड २०२२ - मंगेश लाल श्रेष्ठ
मंगेशलाल श्रेष्ठ, विगत २ दशकदेखि सूचना प्रविधि क्षेत्रको उद्यमशीलतामा सक्रिय छन् । फ्रस्ट डिजिटल भेञ्चर्सको प्रमुख कार्यकारी अधिकृत रहेका उनी सूचना प्रविधिमा काम गर्ने थुप्रै युवाहरूका लागि प्रेरणाको स्रोत हुन ।
डिजिटल नेपाल फ्रेमवर्क तयार गर्न महत्वपूर्ण योगदान दिएका श्रेष्ठ ओम डाटा सेन्टर, क्यास टेक्नो सेल्स लगायतका सञ्चालक सदस्य समेत हुन । उनले बेलायतको अस्टन विश्वविद्यालयबाट बिजनेस र सूचना प्रविधिमा एमएस्सी अध्ययन पूरा गरेका छन् ।
श्रेष्ठले बैंक तथा वित्तिय संस्था, आइसिटी, डाटा सेन्टर, क्लाउड प्रविधि, बिग डाटा, फिनटेक, हेल्थकेयर, स्टार्टअप लगायतका क्षेत्रको विकास र विस्तारमा अमूल्य योगदान दिएका छन् ।
उनी नेप्लिज योङ आन्टरप्रेनर्सको अध्यक्ष, सार्क योङ आन्टरप्रेनर्स फोरमको उपाध्यक्ष, उद्योग वाणिज्य महासंघमा आइसिटी विकास समितीको अध्यक्षको जिम्मेवारी सम्पन्न गरिसकेका छन् भने योङ आन्टप्रेनर्स ग्रुप, एसिया प्यासिफिकको सदस्य समेत हुन् ।
६. नेपाली डायस्पोरा आईसिटी अवार्ड २०२२ - डा. वेद काफ्ले
विदेशमा रहेर नेपालको सूचना प्रविधि क्षेत्रको विकास र विस्तारमा महत्वपूर्ण योगदान दिएका व्यक्ति हुनुहुन्छ, डा। वेद काफ्ले । जापानको सरकारी अनुसन्धान एजेन्सी एनआईसीटीमा अनुसन्धान प्रबन्धकको रूपमा कार्यरत काफ्लेले २५ वर्ष बढीको महत्वपूर्ण योगदान रहेको छ ।
टोकियोको इलेक्ट्रो कम्युनिकेसन विश्वविद्यालयका एशोसिएट प्रोफेसर रहेका उनी आईटीयुको टेलिकम्युनिकेसन मापदण्ड निर्माणमा सहभागी हुने पहिलो नेपाली हुन् ।
नेपाल सरकारको गृह मन्त्रालयमा कम्प्युटर शाखा स्थापना गर्न पनि उनको विशेष भूमिका रहेको छ । थुप्रै अवार्डबाट सम्मानित हुनुभएका काफ्लेको जापानबाट नेपालमा उन्नत प्रविधि र ज्ञान हस्तान्तरणमा अहम भूमिका समेत निर्वाह गरिरहेका छन् । उनी नेपालमा आइसिटी फोरडी र अन्य सस्थाहरुसँग आवद्ध रहेर आफ्नो विज्ञतामार्फत योगदान दिइरहेका छन् ।
७. नेपाल टेलिकम पायोनियर आइसिटी अवार्ड - विजय कृष्ण श्रेष्ठ
नेपालको सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा लामो योगदान दिनुभएका व्यक्ति हुन्, विजय कृष्ण श्रेष्ठ । ‘आइसिटी भेट्रान’को उपनामले समेत परिचित श्रेष्ठले इलेक्ट्रोनिक्स उत्पादन गर्ने कम्पनी बेल्ट्रोनिक्स कम्प्युटर एन्ड इलेक्ट्रोनिक्स इन्जिनियर्स स्थापना गर्नुभएको थियो । यहि कम्पनीमार्फत २० वर्षअघि युपिएस र अन्य इलेक्ट्रोनिक्स उपकरणहरु नेपालमै निर्माण गरिएको थियो ।
अमृत साइन्स क्याम्पसमा आइएस्सी गरेर छात्रवृतिमा अमेरिकाबाट इलेक्ट्रेकिल इन्जिनियरिङ गरेका श्रेष्ठले नेपालको हाइड्रो क्षेत्रमा नयाँ प्रविधिलाई प्रयोग गर्ने काम गरेका छन् ।
एमबीएसम्मको अध्ययन पुरा गर्नुभएका उनी क्यान महासंघका पूर्व अध्यक्ष समेत हुन । देश तथा विदेशका विभिन्न कम्पनीमा काम गरेका विजय नेपाल इलेक्ट्रिक भेहिकल इन्डष्ट्रीका अध्यक्ष पनि हुन् ।
विभिन्न कम्पनीमा प्रोमोटर तथा निर्देशक रहेका श्रेष्ठसँग हाइड्रोपावर, बैंकिङ, इन्स्योरेन्स, कम्प्युटर, इलेक्ट्रोनिक क्षेत्रमा काम गरेको ४० वर्षको लामो अनुभव रहेको छ ।
८. एनसेल वुमन आइकन आइसिटी अवार्ड २०२२ - शिला कंसाकार कार्की
नेपालको सूचना प्रविधि क्षेत्रको अग्रणी नाम हो, शिला कंसाकार । नेपाल प्रहरीमा कम्प्युटर शाखा स्थापना गर्न महत्वपूर्ण भूमिका खलेकी उनी पूर्व डीआईजी समेत हुन् ।
सिस्टम एनालिष्टको रूपमा प्रहरी निरीक्षकबाट सरकारी सेवा सेवा आरम्भ गरेकी कंसाकार आइसिटी क्षेत्रबाट डीआईजीसम्म पुग्ने पहिलो महिला हुन् ।
२८ वर्ष प्रहरी सेवामा बिताएकी कंसाकार सूचना प्रविधिमा महिलाहरूलाई आकर्षित गर्न र उत्प्रेरित गर्न तल्लिन छन् ।
सूचना प्रविधिका विभिन्न संघ, संस्थामा क्रियासिल उनले नेपाल प्रहरीलाई डिजिटल युगमा पुर्याउन महत्वपूर्ण योगदान दिएकी छन् ।
९. डिजिटल एजुकेसन (पब्लिक सेक्टर) आइसिटी अवार्ड २०२२ - ज्ञानोदय माध्यमिक विद्यालय, बाफल
वि.सं. १९६३ सालमा स्थापना भएको ज्ञानोदय माध्यमिक विद्यालय बाफलमा रहेको समुदायमा आधारित शैक्षिक संस्था हो । यस विद्यालयमा ३ हजारबढि विद्यार्थीहरु अध्ययनरत छन ।
ज्ञानोदयमा नेपालमा नै पहिलो पटक कोरियाली सहयोगबाट अत्याधुनिक स्मार्ट क्लास बनाइएको छ । यहाँ कक्षा ४ देखिनै कम्प्युटर शिक्षा र प्रयोगात्मक कक्षा सञ्चालन गरिएको छ ।
विद्यालयमा १२० कम्प्युटर तथा ल्यापटपहरु सहितको अन्य २ वटा ल्याबको व्यवस्था गरिएको छ । एक दर्जनबढि कक्षामा प्रोजेक्टर तथा अरु १५ कक्षाहरुमा टिभी स्क्रिनमार्फत पनि कक्षा सञ्चालन हुने यस विद्यालयमा एक इन्टयाक्टिभ स्मार्ट क्लासरुम पनि रहेको छ ।
१०. डिजिटल एजुकेसन (प्राइभेट सेक्टर) आइसिटी अवार्ड २०२२ - ज्ञानोदय बाल बाटिका स्कुल, खोकना
नेपालमा गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले सन् १९९५ ज्ञानोदय बाल बाटिका स्कुल स्थापना भएको थियो, जुन अहिले खोकना बसपार्क नजिक अवस्थित छ ।
कोभिडको बेलामा विद्यालयले आफ्नै क्याडफारेडी नामक कोर्स विकास गरेर सञ्चालनमा ल्याएको थियो, जसले १ देखि १२ कक्षासम्मका विद्यार्थीहरुको लागि सिनेम्याटोग्राफी, एआई, डिजिटल आर्ट र क्रियसन, टुडी थ्रीडी एनिमेसन र मोडलिङ सिकाउने गर्दछ ।
कोभिड पश्चात विद्यालयले ६० लाखबढिको लगानी थपेर आवश्यक कम्प्युटर, पेन ट्याब, स्मार्ट स्क्रिन लगायतका दर्जनौ सामग्रीहरु व्यवस्थापन गरेर डिजिटल एजुकेशनलाई उच्च प्राथमिकतामा राखेर अघि बढेको छ । विद्यालयले अनलाइन कक्षा र परीक्षाका लागि विद्यालय व्यवस्थापन सफ्टवेयर प्रयोग गर्दै आएको छ ।
विद्यालयले प्रविधिमार्फत गुणस्तरीय सिकाइ प्रदान गर्न गूगल क्लासरूम, एडोब, गोप्रो, ड्रोन, रोबोट, थ्रीडी एआर, भीआर हेडसेट लगायतका टुल्स र टेक्नोलोजीहरू प्रयोग गर्दै आइरहेको छ ।
११. डिजिटल सर्भिसेस आइसिटी अवार्ड २०२२ - फोनपे
फोनपे नेपालको अग्रणी भुक्तानी सेवा सञ्चालक (पीएसओ) हो । एफवान सफ्ट ग्रुप अन्तर्गत सञ्चालित फोनपे पेमेन्ट सर्भिसेस लिमिटेडले अन्तर्राष्ट्रिय भुक्तानी साझेदारको रूपमा भिसा, मास्टरकार्ड, अलि पेसँग पनि सहकार्य गरेको छ ।
१० लाख बढी मर्चेन्ट आवद्ध रहेको फोनपे १ करोड ८० लाख बढी प्रयोगकर्ताले प्रयोग गर्दै आएका छन् । यसमा ६३ भन्दा बढि बैंक, वित्तिय संस्था तथा मोबाइल वालेट आवद्ध छन् ।
दैनिक ५ अर्ब बढी कारोबार भइरहेको फोनपेमा इन्टरबैंक फन्ड ट्रान्सफर, फोनपे डाइरेक्ट, क्युआर भुक्तानी, अनलाइन रिटेल पेमेन्ट लगायतका सुविधा छन् । कोभिड १९ पश्चात फोनपेले आक्रामक बजार बिस्तार गरेको छ, जसको कारण कारोबारलाई सहज पनि बनाइरहेको छ ।
१२. डिजिटल गभर्नेन्स आइसिटी अवार्ड २०२२ - वैदेशिक रोजगार विभाग
वैदेशिक रोजगार सम्बन्धी मामला हेर्ने छुट्टै निकायको रूपमा वैदेशिक रोजगार विभागको स्थापना भएको हो । श्रम तथा रोजगार मन्त्रालय अन्तर्गत रहेको विभागले अनलाइनबाटै श्रम स्विकृति लिने, आवश्यक सेवा दिने र तत्काल सूचना प्रवाह गर्ने व्यवस्था गरेको छ ।
बैदेशिक रोजगार सूचना प्रणाली मार्फत सेवाहरुलाई प्रविधिमैत्री बनाइरहेको विभागले पछिल्लोसमय बैदेशिक रोगजारीको लागि कार्यालय धाउनै नपर्नेगरी सेवा दिइरहको छ । प्रणालीमार्फत सम्वन्धित देशको दुतावास, मेनपावर र सर्वसाधारणलाई एउटै प्लाटफर्ममा जोडेको छ । यस प्लाटफर्मले अनलाइन मार्फत २० भन्दा बढि निकायहरुसँग काम गर्दछ ।
विदेशमा काम गर्न जाने व्यक्तिले अनलाइनबाटै वैदेशिक रोजगार कल्याणकारी कोषमा रकम जम्ममा गर्न सक्छन् भने अनलाइनबाटै बीमा पनि खरिद गर्न सक्छन् । यसका साथै विभागले अनलाइन टोकन, ई(स्टिकर, ईपीएस अनलाइन एक्जाम रजिष्ट्रेसन सिस्टम, अनलाइन पेमेन्ट, मोबाइल एप र वेब मार्फत सेवाहरुलाई सरल र सहज बनाइरहेको छ ।
वैदेशिक रोजगारी सम्वन्धी भ्याकेन्सी र सूचनाहरु सर्वसाधारणले वेबसाइट मार्फत नै हेरेर आवश्यक प्रकृयाहरु अनलाइन मार्फत नै गर्न सकिने भएकोले ठगिने, लाइन बस्नुपर्ने, फाइल बोकेर कुद्नुपर्ने झन्झटहरु समाप्त भएका छन ।
१३. साउथ एशिया स्टार्टअप आइसिटी अवार्ड २०२२ - टेक फोर बिलियन (चिंगारी)
चिंगारी टिकटकको जस्तै सुविधा भएको भारतको लोकप्रिय शर्ट भिडियो प्लेटफर्म हो । सन् २०१८ मा चिंगारी गूगल प्लेस्टोरमा सार्वजनिक भएको थियो । चिंगारीमा २० बढी भाषाका भिडियोहरू अपलोड हुँदै आएका छन् ।
दैनिक २०० मिलियन भिडियो हेरिने चांगारीका ४ करोड मासिक सक्रिय प्रयोगकर्ता रहेका छन् भने दैनिक ५० लाखले प्रयोग गर्दै आएका छन् ।
१४. जुरी मेन्सन आइसिटी अवार्ड २०२२ - दिक्षान्त पाण्डे
काठमाडौंको भ्याली भ्यू स्कुलमा पढ्दै आएका १५ वर्षिय दिक्षान्त पाण्डे वेब डेभलपर हुन् । उनले बोलेरै नियन्त्रण गर्न सकिने गरी पाइथन भ्वाइस असिस्टेन्ट बनाएका छन्, जुन यसअघि आइसिटी अवार्डको राइजिङ स्टार विधा अन्तर्गत उत्कृष्ट १२ मा पर्न सफल भएको थियो ।
यसबाट इमेल पठाउने, संगीत बजाउने, कम्प्युटर खोल्ने, बन्द गर्ने, मौसम जाँच गर्ने जस्ता लगायतका काम गर्न सकिन्छ । सानै उमेरमा सूचना प्रविधि क्षेत्रमा उत्कृष्ट काम गर्दै आएका उनले कोरोना महामारीमा पनि विभिन्न नवप्रवर्तनमा काम गरेका थिए ।