आईटी क्षेत्रमा महिलाहरूको अपार सम्भावना छ । आईटी उद्योग आफैमा इन्नोभेसन र ग्रोथका लागि अनगिन्ती अवसरहरू प्रदान गर्ने क्षेत्र हो, जुन नेपाललाई आर्थिक रूपमा सबल बनाउन अत्यावश्यक छ ।
महिलाहरूसँग जन्मजात नै नेतृत्व क्षमता र समस्याहरू समाधान गर्न सक्ने क्षमता हुन्छ, जसले गर्दा उनीहरू कुनै पनि अन्य व्यक्तिहरूझैं यस क्षेत्रमा उत्कृष्टता हासिल गर्न सक्छन् । मुख्य कुरा नेतृत्वको भूमिकामा अघि बढ्ने इच्छाशक्तिमा निर्भर गर्छ ।
यदि महिलाहरूलाई आफ्नो आइडिया, सीप, र क्षमता प्रदर्शन गर्न प्रेरित गर्ने विशेष प्लेटफर्महरू उपलब्ध गराइयो भने आईटी क्षेत्रमा महिलाहरू नेतृत्वदायी भूमिकामा अगाडि बढ्न सक्छन् ।
व्यावसायिक क्षेत्रमा पनि महिलाहरूको उपस्थितिले नवीन र विविध दृष्टिकोण ल्याउँछ, जसले कार्यस्थलको समग्र गतिशीलतालाई सकारात्मक रूपमा रूपान्तरण गर्छ । महिलाहरूलाई प्रायः उत्कृष्ट श्रोता मानिन्छ । समस्या समाधान गर्ने क्षमता उच्च भावनात्मक बुद्धिमत्तासँग (EQ) मिसिएको हुन्छ, जसले गर्दा हामीले चुनौतीहरूलाई सहानुभूति र रणनीतिक सोचका साथ समाधान गर्न सक्छौं ।
विभिन्न दृष्टिकोणहरूलाई बुझ्ने क्षमताका कारण महिलाहरूले समावेशी वातावरण सिर्जना गर्न प्रयास गर्छन्, जहाँ प्रत्येक टिमका सदस्यले आफ्नो महत्त्व महसुस गर्न सक्छन् । साथै, महिलाको नेतृत्वमा काम गर्ने टोलीमा इमानदारीताको स्तर उच्च हुने मैले देखेकी छु, जसले उत्तरदायित्व, विश्वास, र समर्पणको संस्कृति प्रवर्द्धन गर्छ ।
महिलाको नेतृत्व शैलीले प्रायः छोटो अवधिको फाइदाभन्दा दीर्घकालीन फाइदालाई बढी प्राथमिकता दिन्छ । निर्णय लिने प्रक्रियामा सन्तुलित दृष्टिकोण राखेर, तार्किक सोच र भावनात्मक बुद्धिमत्ताको संयोजन गर्दै, टिमलाई प्रेरित गर्न, उत्पादकत्व बढाउन र कार्यक्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन सक्छन् ।
आईटी क्षेत्रमा महिलाको सहभागिता बढ्दै गएको भए पनि विशेष गरी नेतृत्व तहमा समान अवसरहरू प्राप्त गर्नु अझै चुनौतीपूर्ण छ । आईटी पढ्ने विद्यार्थीहरूमा पुरुष र महिला विद्यार्थीहरूको अनुपात झन्डै समान रहेको देखिए तापनि, धेरैजसो महिला विद्यार्थीहरू शैक्षिक रूपमा उत्कृष्टता हासिल गरे पनि नेतृत्व भूमिकामा जानुको साटो प्राविधिक भूमिकामा सीमित रहन चाहन्छन् ।
यस अर्थमा, मात्र महिलाको उपस्थितिलाई बढाउनु मुख्य समस्या समाधान गर्ने उपाय होइन, तर उनीहरूलाई प्रभावशाली नेतृत्व भूमिकामा ल्याउनुपर्छ । यसका लागि हामीलाई अझ धेरै महिला रोल मोडलहरू आवश्यक छ ।
तर परिवर्तन भइरहेको छ । म आशावादी छु कि भविष्यमा प्रविधि क्षेत्रमा महिला नेतृत्वको संख्या बढ्ने छ । तर यो यात्रा सहज भने छैन । नेतृत्वमा पुग्न आवश्यक पर्ने लगानी पहुँच, मार्गदर्शन, र नेटवर्किङ जस्ता पक्षहरू अझै चुनौतीपूर्ण छन् ।
मैले पनि विद्यार्थी हुँदा नै उद्यमीको रूपमा सुरुवात गरेकीले, पुरुषप्रधान उद्योगमा पाइला चाल्न कति कठिन हुन्छ भन्ने मलाई राम्ररी थाहा छ । त्यसैले नै युवतीहरूलाई आईटी क्षेत्रमा अन्वेषण गर्न, नेतृत्व लिन, र अगाडि बढ्न प्रेरित गर्ने प्लेटफर्महरू आवश्यक छन् ।
प्यानल छलफलहरूमा केवल प्रतिनिधित्वका लागि मात्र महिला समावेश गरेको जस्तो मलाई कहिलेकाही लाग्छ । किनभने ‘एक जना महिला राख्नैपर्छ, बाँकी सबै विज्ञ पुरुष छन्’ भन्ने तवरबाट महिलाको सहभागीता भएको देखिन्छ । त्यस्यो होइन, महिलाले पनि प्रगति गरेका छन् । तर यो पेशागत क्षेत्रमा अझै पूर्णरूपमा प्रतिबिम्बित हुन बाँकी छ ।
आधुनिकीकरण, बढ्दो चेतना र परिवार तथा साथीसंगीहरूको समर्थनले गर्दा प्रविधि क्षेत्रमा महिला उद्यमीहरू अगाडि आउनेछन् भन्ने विश्वास छ । आईटी क्षेत्रमा महिलाहरूको सहभागिता बढाउन शिक्षा र एक्सपोजर नै शुरुवात गर्न आवश्यक छ ।
किशोरी अवस्थादेखि नै कोडिङ, सफ्टवेयर विकास, डिजिटल व्यवसाय, साथै व्यवस्थापन, नेतृत्व, र सञ्चारजस्ता सीप सिक्न प्रोत्साहित गर्नाले उनीहरूलाई आत्मविश्वासी बनाउँछ ।
त्यसैगरी, सफल महिलाहरूले आगामी पुस्तालाई मार्गदर्शन (मेन्टरशिप) दिनु पनि अत्यावश्यक छ । महिला नेतृत्वको अभावले गर्दा धेरैजसो युवतीहरू आईटी व्यवसायमा प्रवेश गर्न हिच्किचाउँछन् । महिला नेतृत्वको उदाहरण देखिनाले युवा उद्यमीहरूलाई अझै प्रेरणा प्राप्त हुन्छ ।
स्टार्टअपहरूको सन्दर्भमा, लगानीको पहुँच पनि अत्यन्त महत्त्वपूर्ण छ । किनभने महिला-नेतृत्वमा सञ्चालित स्टार्टअपहरूले लगानी, अनुदान आदिमा धेरै चुनौतीहरूको सामना गर्नुपर्छ । यो नेपालको सामाजिक-सांस्कृतिक दृष्टिकोणसँग गाँसिएको पनि छ ।
यद्यपि छलफल, टेक फोरम र निर्णय लिने प्लेटफर्महरूमा महिलाहरूको सक्रिय सहभागीका लागि समावेशी नेटवर्कहरू सिर्जना गर्नुपर्छ । यसले उनीहरूको आवाज सुन्ने मात्र होइन, बरु व्यवसाय वृद्धिका लागि महत्त्वपूर्ण सम्पर्कहरू बनाउन मद्दत गर्छ ।
त्यसैले, यी प्रमुख पक्षहरूलाई सम्बोधन गरेर, हामी एक यस्तो वातावरण निर्माण गर्न सक्छौं, जसले महिलाहरूलाई आईटी उद्योगमा स्वागत मात्र होइन, उनीहरूलाई नेतृत्वका अवसरहरू प्रदान गर्न सशक्त बनाउँने छ ।
(टिगकी सह-संस्थापक प्रार्थना शाखःसँग गरिएको कुराकानीमा आधारित)