कीवर्डहरू -

अनलाइनबाटै ड्राइभिङ लाइसेन्सको पैसा तिर्न सकिने व्यवस्था हुँदै

अनलाइनबाटै ड्राइभिङ लाइसेन्सको पैसा तिर्न सकिने व्यवस्था हुँदै

यातायात व्यवस्था विभागका महानिर्देशक नारायण प्रसाद भट्टराईले अब ड्राइभिङ लाइसेन्सका लागि अनलाइनबाटै पैसा बुझाउन सकिने व्यवस्था गर्न लागेको बताएका छन् ।

सोमबार आर्थिक पत्रकार संघ नेपालले राजधानीमा आयोजना गरेको एक कार्यक्रममा महानिर्देशक भट्टराईले यस्तो बताएका हुन् ।

ड्राइभिङ लाइसेन्सका लागि आवेदन दिँदा त्यसको शुल्क पनि अनलाइनबाटै तिर्ने व्यवस्था हुँदा कार्यालयसम्म धाउनु पर्ने समस्या हट्ने छ । अहिले फाराम अनलाइनबाटै भरेपनि त्यसको शुल्क बुझाउन भने यातायात कार्यालय जानुपर्ने व्यवस्था छ ।

‘ड्राइभिङ लाइसेन्सका लागि अनलाइनबाटै आवेदन दिन सकिन्छ । पैसा तिर्न र बायोमेट्रिक दिन कार्यालय आउनु पर्ने अवस्था छ,’ उनले भने, ‘अब अनलाइनबाटै पैसा बुझाउन सकिने गरी काम अगाडि बढाएका छौं । केही समयमा उक्त सुविधा उपयोग गर्न पाइने छ ।’

त्यसपछि बायोमेट्रिक दिन मात्रै कार्यालय जानुपर्नेछ । राष्ट्रिय परिचयपत्र बनाउँदा लिएको बायोमेट्रिक डेटा विभागको सिस्टमसँग नगरेसम्म कार्यालयमै जानुपर्नेछ ।

राष्ट्रिय परिचयपत्रको डेटा विभागको सिस्टमसम्म लिंक गरेपछि बायोमेट्रिकका लागि यातायात कार्यालयसम्म जानु नपर्ने र त्यसका लागि केही समय लाग्ने उनको भनाइ छ ।