कीवर्डहरू -

रेष्टुरेन्टबाट घरमै खाना डेलिभर गर्ने प्लेटफर्म भोजमाण्डु

रेष्टुरेन्टबाट घरमै खाना डेलिभर गर्ने प्लेटफर्म भोजमाण्डु

नेपालमा कोरोना महामारीको संक्रमण रोक्न लकडाउन हुनुभन्दा २ महिना अगाडि काठमाडौंका सुनिल यादवले पार्सल पुर्‍याउने स्टार्टअप गर्ने योजना बनाए । विद्यार्थी तथा रोजगारी गर्ने व्यक्तिका लागि घरमा बनेको ताजा खाना उनीहरू भएको ठाउँसम्म पुर्‍याउने आईडिया थियो ।

तर जब २०७६ साल चैत ११ गते देशव्यापी लकडाउन घोषणा भयो तब सुनिल यो योजनाले ‘फेल’ खायो । लकडाउनले गर्दा सबैजना घरमै बस्न बाध्य भएपछि उक्त आईडिया होल्ड भयो । एउटा आईडिया होल्ड भएपनि सुनिलभित्र आफ्नै केही गर्ने हुटहुटीलाई दौडाइरहेको थियो । त्यसपछि आईडिया आयो ‘अनलाइन फुड डेलिभरी’ को ।

पार्सल डेलिभर गर्ने योजनाले मुर्त रूप लिने नभएपछि २०७७ साल वैशाख १ गतेदेखि अनलाइन फुड डेलिभरी कम्पनीको रूपमा भोजमाण्डु सुरू भएको भोजमाण्डुका संस्थापक तथा सीईओ सुनिल यादवले बताए ।

लकडाउन भएपछि पहिलाका बिजनेस पार्टनर पनि गए । तर त्यही बीचमा उनको भेट सनवे कलेजका फाइनान्स प्रमुख गौतम देसाइसँग भयो । त्यो समयमा सुनिललाई देसाइले मार्गनिर्देशन दिए । देसाइ पनि भोजमाण्डुमका सह-संस्थापक हुन् ।

उपत्यकाको भोक मेटाउने उद्देश्यले भोजमाण्डु नाम राखिएको सुनिल बताउँछन् । कोरोना महामारीमा फ्रोजन मम फ्रिजसहितको भ्यानमा राखेर घर घरमा डेलिभर गरिरहेका थिए ।

विस्तारै भोजमाण्डु लोकप्रिय हुँदै गएपछि ग्राहकको चाहन पनि बढ्न थाल्यो । त्यसपछि उनीहरूले आफ्नो प्लेटफर्ममा केक आईटम थप गरे । केकको नसोचेको जस्तो सेल भएको सुनिलको भनाइ छ । बर्थडे, एनिभर्सरी लगायत सेलिब्रेसन गर्न भोजमान्डुबाट केके अर्डर गर्न थाले ।

भोजमाण्डुको ग्रोथ राम्रो भइरहेको थियो । रेष्टुरेन्टलाई पनि आफुलाई भोजमाण्डुमा सूची गर्न कल गर्न थालिसकेका थिए । त्यसपछि रेष्टरेन्ट आवद्ध हुन थाले । हाल भोजमान्डुबाट रेष्टुरेन्टमा पाइने विभिन्न परिकार अर्डर गर्न सकिन्छ ।

भोजमाण्डु राम्रैसँग अगाडि बढिरहेको थियो । तर सरकारको एउटा नियमले तहसनहस भयो । कोरोना संक्रमण फैलिने भन्दै प्रहरीले अनलाइन फुड डेलिभरी सेवालाई बाटोमै रोकेर राख्यौं । डेलिभर गर्न दिएन् । त्यसले गर्दा एकदिनमै ४०-५० हजारको घाटा भएको सुनिलले बताए ।

‘भोजमाण्डुको ग्रोथ राम्रै भइरहेको थियो । तर सरकारले एक्कासी अनलाइन डेलिभरीलाई रोक्दा घाटा भयो,’ सुनिल दुखी हुँदै भन्छन्, ‘त्यसपछि अनलाइन डेलिभर कम्पनीहरू अदालतमा गए र अदालतले सुरक्षा साधन अपनाएर डेलिभर गर्न आदेश दिएको थियो ।’

केही समय सेवा नचल्दा भोजमाण्डु आर्थिक अवस्थाले कमजोर बन्यो । अहिले विस्तारै तंग्रिन कोसिस गर्दैछ । अहिले भोजमाण्डुले दिनमा मात्रै होइन् राती ११ बजेदेखि बिहान ३ बजेसम्म पनि आफ्नो सेवा दिदै आएको छ । काठमाडौं उपत्यकाबाट सुरू भएको भोजमाण्डु विरगंजमा समेत विस्तार भएको छ ।

नेपालका नीति नियम स्टार्टअप मैत्री नभएको सुनिलको बुझाइ छ । उनी अगाडि भन्छन्, ‘ई-कमर्स नीति आएको छैन् । नेपालको स्टार्टअपलाई नेपालको बैंक र लगानीकर्ताले पनि सहयोग गर्दैनन् ।’

आउँदो वैशाख १ गते कम्पनीले तेस्रो वार्षिकोत्सव मनाउँदै छ । करिब ३ वर्षको यात्रामा २५ हजार बढी दर्ता भएका प्रयोगकर्ता छन् । २५ हजार बढी अर्डर डेलिभर भइसकेको छ ।

काठमाडौं उपत्यकामा प्रत्येक दिन १०० बढी अर्डर डेलिभरी गरिरहेको छ । त्यसमध्ये धेरै अर्डर रातमा हुन्छन् । सुनिलका अनुसार भोजमाण्डुले रातमा ३० देखि ४५ मिनेट र दिनमा सकेसम्म १ घण्टामा अर्डर डेलिभरी गर्दै आएको छ ।

आउने दिनमा चितवन, पोखरा लगायतका शहरहरूमा भोजमाण्डु विस्तार गर्ने तयारी रहेको उनले बताए । ग्राहक नयाँ अनुभव दिन अहिले भोजमाण्डुले मोबाइल एपको युआई समेत परिमार्जन गरेको छ ।

भोजमान्डुको नियम अनुसार रेष्टुरेन्टहरूले प्याकेजिङ गर्नुपर्ने हुन्छ । वातावरण प्रदुषण कम गर्न आफुहरूले बायोडिग्रेबल प्याकेजिङ गर्दै आएको सुनिल बताउँछन् ।

‘अहिले नेपालमा वातावरण प्रदुषण बढिरहेको छ । त्यसलाई कम गर्न हामीले बायोडिग्रेडल प्याकेजिङ गर्छौं,’ सुनिल भन्छन्, ‘वातावरण प्रदुषण रोक्न हामीले गर्न सक्ने काम गरिरहेका छौ । भविष्यमा रेष्टुरेन्टलाई बायोडिग्रेडल प्याकेजिङ प्रदान गर्ने योजना छ ।’

अहिलेसम्म भोजमाण्डुमा ४० लाख बढी लगानी भइसकेको छ । भोजमाण्डुले अबको केही समयमै सब्सक्रिप्सन प्लान ल्याउँदै छ । प्रयोगकर्ताले उक्त सब्सक्रिप्सन लिएपछि निःशुल्क डेलिभर, क्यासब्याक, छुट लगायतका सुविधा पाउने छन् ।