कीवर्डहरू -

फाइभजीको आन्तरिक परीक्षणमा किन भयो ढिलाइ ?

फाइभजीको आन्तरिक परीक्षणमा किन भयो ढिलाइ ?

नेपाल टेलिकमले थालेको फाइभजी सेवाको आन्तरिक परीक्षणमा थप ढिलासुस्ती देखिएको छ । १९ औं वार्षिकोत्सवको अवसरमा बबरमहल र सुन्धारास्थित टेलिकमको कार्यालयमा राखिएका फाइभजी उपकरणबाट थालिएको उक्त  परीक्षण मोबाइल डिभाइसको सीमितताका कारण  सकस देखिएको नेपाल टेलिकमका प्रवक्ता सोभन अधिकारीले बताए ।

प्रवक्ता अधिकारीका अनुसार फाइभजी ‘सपोर्ट’ गर्ने मोबाइलको उपलब्धता अध्ययन गरिए पनि  यसको उपयोग तत्काललाई टेलिकमका कर्मचारीहरूले मात्रै गरिरेका छन् ।

‘सर्वसाधारणसँगफाइभजी चल्ने डिभाइसको संख्या नै न्यून छ, त्यसकारण हाल टेकलिकमका कर्मचारीहरुले मात्रै परीक्षण गरिरहेका छन्,’  उनले भने,  सुरूमा पनि परीक्षण थाल्दा एक त मोबाइल सेट नै धेरै कम पाइयो । अहिले पनि अवस्था उस्तै छ ।’

२६ सय मेगाहर्ज ब्याण्ड अन्तर्गत टेलिकमले आन्तरिक परीक्षण गर्दा नेपाली बजारमा बढी विक्री भएका मोबाइल सेटहरुमा नै फाइभजी सेवा नचल्‍ने पाइएको उनको भनाइ छ ।

उनले भने, ‘नेपाली बजारमा आएका चर्चित सेटहरुमा पनि फाइभजीको परीक्षण आफै नहुने समस्या देखा पर्‍यो। हामीले मोबाइल कम्पनीका विक्रेताहरुसँग कुरा गर्दा उनीहरुले कमर्सियल डिप्लोम्याट भएपछि मात्रै चल्‍ने जवाफ दिएका छन् ।’

यसले परीक्षणकालीन नतिजाका आधारमा अन्यत्र क्षेत्रहरुमा पनि फाइभजी विस्तार गरेर क्रमशः सर्वसाधारणका लागि सेवा उपलब्ध गराउन भने   ढिलाइ हुने नेपाल टेलिकमका प्रवक्ता अधिकरी बताउँछन् ।

विश्वभर बढ्दो प्रयोगमा रहेको दूरसञ्चारको पछिल्लो प्रविधि फाइभजी परीक्षणको नेपालमा पनि व्यग्र प्रतीक्षा थियो । परीक्षणका लागि आवश्यक मोबाइल सेटहरू बजारमा प्रभावकारी रुपमा नदेखिएपछि टेलिकमले पहिलो चरणमा देशका विभिन्न चार स्थानमा गर्ने भनेको फाइभजी परीक्षणको योजना पूरा हुन नसकेको निष्कर्ष प्रवक्ता अधिकरीको छ ।

एक वर्षसम्म  निशुल्क फाइभजी परीक्षण गर्ने सुविधा पाएको टेलिकमले त्यसपछि प्राधिकरणलाई उक्त फ्रिक्वेन्सी फिर्ता गर्नुपर्नेछ ।

यता, नियामक नेपाल दूरसञ्चार प्राधिकरणले एक वर्षसम्म निःशुल्क उपलब्ध गराउनुपर्ने सर्तसहित टेलिकमलाई २६ सय मेगाहर्जमा आवश्यक फ्रिक्वेन्सी उपलब्ध गराएको भए पनि आन्तरिक रिपोर्ट भने ३/३ महिनामा बुझाउनु पर्ने जनाएको छ ।

यसअघि दूरसञ्‍चार प्राधिकरणले फाइभजी परीक्षणको लागि कार्यविधि २०७८ तयार गरेको थियो, जसमा  फाइभजी लगायत नयाँ प्रविधिको परीक्षणको लागि सबै सेवा प्रदायकले आवेदन दिन सक्ने बताइएको थियो । तर हालसम्म नेपाल टेलिकमले मात्रै परीक्षणको अनुमति पाएको दूरसञ्चार प्राधिकरणले जनाएको छ ।

दूरसञ्चारका एक कर्मचारी भन्छन्, ‘हालसम्म नेपाल टेलिकमले मात्रै फाइभजीको अन्तरिक परीक्षणका लागि अनुमति भएको छ । एनसेलले दिएको निवेदनबारे सञ्चारमन्त्रालयमा पस्ताव पेश भएको छ, तर छलफल भइरहेको छैन् ।’

फाइभजी खास गरी उपकरणदेखि उपकरणबीचको सञ्चारका लागि उपयोगी मानिन्छ । फाइभजीको प्रयोगमार्फत प्रतिसेकेन्ड अधिकतम १० जीबी गतिको इन्टरनेट प्रयोग गर्न सकिन्छ । फाइभजी अवरोधविहीन प्रविधि मानिएकाले आईओटी, एमटुएम सञ्चारजस्ता काममा यसको प्रयोग हुने गरेको छ ।

फाइभजीको प्रयोगबाटै ड्राइभरविहीन कार, स्मार्ट सिटी, ड्रोन प्रविधि र बिग डेटाका काम सम्भव भएका छन् । अहिलेसम्म विश्वका करिब ७० देशले फाइभजीको प्रयोग सुरु गरिसकेका छन् । छिमेकी मुलुक भारतले पनि तीन महिनाअघिदेखि सर्वसाधारणका लागि फाइभजी खुला गरेको छ ।