कीवर्डहरू -

‘सरकारी र निजी क्षेत्रमा डिजिटल ट्रान्सफरमेसनका कार्यहरु अगाडि बढेका छन्’

‘सरकारी र निजी क्षेत्रमा डिजिटल ट्रान्सफरमेसनका कार्यहरु अगाडि बढेका छन्’

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरूषोत्तम खनालले सरकारी र निजी क्षेत्रमा डिजिटल ट्रान्सफरमेसनका कार्यहरु अगाडि बढेको बताएका छन् ।

सोमबार विश्व दूरसञ्चार तथा सूचना समाज दिवसको अवसरमा बोल्दै दूरसञ्चार प्राधिकरण अध्यक्ष खनालले यस्तो बताएका हुन् ।

सन् २०२१ भित्रमा देशभरका सबै स्थानीय निकाय, वडा कार्यालय, स्वास्थ्य संस्था र सामुदायिक विद्यालयमा ब्रोडब्याण्ड इन्टरनेट सेवा विस्तार गरिसक्ने गरी तिब्र रूपमा काम अगाडि बढेको उनले जानकारी दिए ।

‘सन् २०२२ सम्म देशका सम्पूर्ण स्थानका नागरिकलाई आवद्ध गर्ने गरी अत्याधुनिक चौथौ पुस्ताको मोबाइल सेवा फोरजी सेवाको पहुँच प्रतिस्पर्धात्मक रूपले उपभोक्ताहरुले सेवा प्रदायक चयन गर्न पाउने गरी विस्तार भइरहेको छ,’ खनालले भने ।

खनालका अनुसार हाल नेपालको टेलिफोन पेनिट्रेसन १३०.९४ प्रतिशत रहेको छ भने ब्रोडब्याण्ड (मोबाइल र फिक्स्ड) पेनिट्रेसन ८४.०९ प्रतिशत रहेको छ ।

कोरोना महामारीले सिर्जना भएको चुनौती सामना गर्न सरकारी, अर्ध सरकारी तथा निजी संघ संस्थाले यसअघि परम्परागत तरिकाले दिदै आएको सेवा तथा सुविधालाई प्रविधिको प्रयोग गरी दिन थालेको उनले बताए ।

कार्यक्रममा बोल्दै खनालले भने,‘हाम्रो देशमा पनि सरकारी तथा निजी सम्पूर्ण क्षेत्रले नागरिक तथा उपभोक्तालाई प्रदान गर्ने सेवा सुविधालाई डिजिटल प्रविधिमा आधारित भएर रूपान्तरण गर्नुपर्ने आवश्यकता देखिन्छ ।’