कीवर्डहरू -

कोरोना महामारी रोकथाम तथा नियन्त्रणमा आईटीको प्रयोग गर्न क्यान महासंघको आग्रह

सुचना तथा सञ्चार प्रविधि क्षेत्र अत्यावश्यक सेवामा पर्न नसकेको प्रति गंभिर ध्यानार्कषण

कोरोना महामारी रोकथाम तथा नियन्त्रणमा आईटीको प्रयोग गर्न क्यान महासंघको आग्रह

कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघले कोरोना महामारी नियन्त्रण तथा रोकथाममा सुचना प्रविधिको अधिकतम प्रयोग गर्न आग्रह गरेको छ ।

बिहिबार एक विज्ञप्ति सार्वजनिक गर्दै महासंघले स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीमा  सूचना प्रत्येक घन्टा अद्यावधिक गर्ने, अनलाइनबाटै सामान खरिदको व्यवस्था मिलाउन सरकारसँग अनुरोध गरेको हो ।

क्यान महासंघले हाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा रहेका कोरोना उपचार गर्ने अस्पतालहरूको बेड संख्या (आइसोलेशन बेड, आईसीयू बेड तथा भेन्टिलेटरको क्षमता तथा भर्ना भएका बिरामीको संख्या समेत) हरेक दिन सार्वजनिक गर्ने गरेको तर विरामीहरु अस्पताल पुग्दा मन्त्रालयले जारी गरेको सुचना अनुसार नभेटिएकोमा, सुचना प्रविधिको प्रभावकारी प्रयोग मार्फत यस्ता सुचनाहरुलाई वास्तविक समयमा आधारित बनाउन अनुरोध गरेको छ ।

हाल संचालनमा रहेको स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीमा सुचना दैनिक अद्यावधिक गर्ने व्यवस्थालाई परिवर्तन गरि कम्तिमा प्रत्येक घण्टा अद्यावधिक गर्ने र सोहि बमोजिमको वास्तविक सुचनालाई वास्तविक समयमा सेवाग्राहीलाई दिन सकिने बनाउनका निम्ति प्रशासनिक र प्राविधिक व्यवस्थास्थापनका निम्ति नेपाल सरकार तथा सम्बन्धित सरोकारवाहरुलाई क्यान महासंघले ध्यानाकर्षण गराएको छ ।

महासंघले आजका दिनमा धेरै क्षेत्र ‘डिजिटलाइज्ड’ भैसकेको, वास्तविक समयका - वास्तविक सुचनामा आधारित रहेर नेपालमा पनि शेयर बजार लगायतका क्षेत्रवाट सरोवारकालाहरुले फाइदा लिइरहेको अवस्थामा स्वास्थ्य क्षेत्र अछुतो रहनु सुखद नभएको बताएको छ ।

प्राविधिक सहयोगका निम्ति क्यान महासंघ सदैव तयार रहेको र ‘डिजिटल नेपाल फ्रेमवर्क- २०७६’ को कार्यान्वयन सोहि अनुसार हुनुपर्ने क्यान महासंघको धारणा रहेको महासंघका महासचिव नारायण थापाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

सुचना तथा संचार प्रविधि क्षेत्र अत्यावश्यक सेवामा पर्न नसकेको बिषयमा समेत क्यान महासंघले गंभिर ध्यानार्कषण भएको बताएको छ ।

दुरसंचार अत्यावश्यक सेवामा रहेको तर कम्प्यूटरजन्य सामानहरु बिक्री बितरण तथा मर्मत बन्द रहेको, ‘होम स्कुलिङ्ग’ संचालनमा रहेको तर त्यसलाई आवश्यक हुने कम्प्यूटर तथा मोवाइलका बिक्री बितरण तथा मर्मत सेवा बन्द रहेको कारण आगामी दिनमा निषेधाज्ञाको प्रभावकारी कार्यान्वयनमा कठिनाई हुन सक्ने तर्फ पनि क्यान महासंघले ध्यानार्कषण गराएको छ ।

महासंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘निषेधाज्ञाको प्रभावकारी कार्यान्वयनका लागि मानिसहरुको आबत-जावतलाई कम गराउनका निमित्त औषधि, खाद्यवस्तु लगायतका अन्य अत्यावश्यक बस्तु किनमेलका निमित्त घर वाहिर निस्कनु भन्दा अनलाईन किनमेल गरी घर दैलोमा सरसमानहरुको होम डेलिभरी गराउनु उचित हुने हुंदा सोका निमित्त आवश्यक प्रवन्धका निमित्त पनि क्यान महासंघ नेपाल सरकारसंग अनुरोध गर्दछ ।’

भारत, चीन लगाएत अन्य देशमा समेत निषेधाज्ञाका समयमा होम डेलिभरी सेवालाई अनुमति दिएका कारण निषेधाज्ञाको प्रभावकारी कार्यान्वयन हुन सकेको कुरा स्मरण गराउंदै अनलाईन किनमेललाई बढावाका निमित्त समेत होम डेलिभरी सेवा (इकमर्स) लाई डाँक सेवा सरहको मान्यता दिएर निर्वाध रुपमा संचालन गराउन क्यान महासंघले नेपाल सरकारसंग अनुरोध गरेको छ ।

हाल सरकारले संचालन गर्न दिएको समयमा संचालित औषधि, खाद्यवस्तु, दुध लगायतका पसलहरुमा अनिवार्य रुपमा इ-बैकिङ्ग मार्फत भुक्तानी लिने व्यवस्था गरेर नगद कारोवारलाई निरुत्साहित्त गर्न समेत संबन्धित सरोकारवालाहरुलाई क्यान महासंघले आग्रह गरेको छ ।