कीवर्डहरू -

‘जेठ मसान्तसम्म नमस्ते पे संचालनमा आउँछ, बजारमा छिट्टै लिड गर्छौं’ 

‘जेठ मसान्तसम्म नमस्ते पे संचालनमा आउँछ, बजारमा छिट्टै लिड गर्छौं’ 

बजारमा आउन लागेको नयाँ भुक्तानी सेवा प्रदायक (पिएसपी) ‘नमस्ते पे’ दुई हप्ताभित्र संचालनमा आउने भएको छ । सेवा संचालनको अन्तिम तयारीमा रहेको नमस्ते पेलाई जेठ मसान्तसम्म सुरु गर्ने तयारी भइरहेको छ ।

नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको संयुक्त उपक्रम (ज्वाइन्ट भेन्चर)मा नमस्ते पे संचालनमा आउँदै छ ।

कोरोना संक्रमणले सामान ढिलाइ भए पनि अब संचालनको अन्तिम तयारी भइरहेको नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्ली अधिकारीले बताए ।

‘अहिले हामीले कामलाई तीव्रता दिएका छौं । इन्टरकनेक्सन सम्झौता भइरहेकाछन्,’ अधिकारीले भने, ‘सम्भवत यो जेठको मसान्तसम्म सेवा संचालनमा ल्याउँछौं ।’

कोरोना संक्रमणका कारणले उपकरण आयातमा असर हुदा संचालनमा आउन ढिला भएको उनको भनाइ छ ।

कार्गो प्लेन नपाएर, नियमित उडान नभएका कारणले समयमा सामान आउन सकेका छैनन् । सामान ल्याएर जडान गर्ने र सिस्टम चलाउने बेलामा सप्लायर कम्पनीका व्यक्तिहरुलाई कोरोनाबाट संक्रमित हुदा थप समस्या भएको थियो ।

बजारमा प्रतिस्पर्धाको चुनौति भए पनि अहिले बजारमा विश्वासशिलो पार्टन चाहिएकोले नमस्ते पे छिट्टै बजारमा स्थापित हुने उनको भनाइ छ ।

‘विश्वास गर्न लागि कस्तो कम्पनी आएको हो भन्नेमा भर पर्छ,’ अधिकारीले भने, ‘नेपाल टेलिकम र वाणिज्य बैंक दुवै सरकारी कम्पनी भएकाले विश्वास आर्जन गर्छ।’
अहिले मुलुकको कुल भुक्तानीको १० प्रतिशतभन्दा कम डिजिटल कारोबारमा छ । यसलाई बिस्तार गर्नु पर्ने र त्यसको लागि डिजिटल पेमेन्ट कम्पनीले काम गर्दै जानु पर्ने उनको भनाइ छ ।

साथै यसमा अन्तर्राष्ट्रिय स्तरको सलुसन ल्याएको हुनाले डिजिटल पेमेन्ट कम्पनीमा छिट्टै मार्केट लिड गर्छौ,’ उनले भने, ‘क्यासलेस सोसाइटी बनाउनमा यसले सहयोग गर्छ भन्ने अपेक्षा छ ।’

अहिले पनि हाम्रो समाज भनेको क्यासलाई नै पैसा मान्ने खालको भएको र चेकलाई पनि पैसा नमान्ने अवस्थामा भएकाले यसमा अझ गर्नु पर्ने काम भएको उनको भनाइ छ ।

कम्पनीको अधिकृत पुँजी र चुक्तापँजीका सबैभन्दा धेरै छ । कम्पनीको सहयोगमा ‘जायन्ट’ कम्पनीको व्याकअप भएकाले यसको संचालन गर्न सजिलो र छिट्टै उपभोक्ताको विश्वास जित्ने अधिकारीले बताए ।

नेपाल राष्ट्र बैंकले जारी गरेको विवरणअनुसार नेपाल डिजिटल पेमेन्ट्सको चुक्ता पुँजी ४० करोड रुपैया रहेको छ । यही चैत ३ गते राष्ट्र बैंकबाट ‘नमस्ते पे’ले स्वीकृत पाएको थियो ।

चुक्ता पुँजिका आधारमा हेर्दा नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त २८ वटा भुक्तानी सेवा प्रदायकमा सबैभन्दा ठूला नमस्ते पे बनेको छ ।