कीवर्डहरू -

यस्तो अवस्थामा पनि टेलिकमको ‘कोर’ आम्दानी बढेको छ, जुन राम्रो सूचक हो : डिल्ली अधिकारी

यस्तो अवस्थामा पनि टेलिकमको ‘कोर’ आम्दानी बढेको छ, जुन राम्रो सूचक हो : डिल्ली अधिकारी

कोरोना संक्रमणले देशभर निशेषधाज्ञा भइरहँदा टेलिकम क्षेत्रलाई दोहोरो प्रभाव परिरहेको छ । पहिलो, डेटाबाट बढे पनि भ्वाइस र अन्य स्रोत घट्दा खुद आम्दानी घटेको छ । अर्को, लकडाउनले शिक्षादेखि स्वास्थ्य क्षेत्र प्रभावित हुदा थप सुविधा दिनुपर्ने अवस्था पनि छ ।
कोराना संक्रमणले धेरै कर्मचारी संक्रमित भएका छन् भने अहिलेसम्म ७ जनाले ज्यान गुमाइसकेका छन् । यही बेला नेपाल टेलिकमले भोल्टे सेवा सुरु गरिसकेको छ भने फाइभजी परीक्षणको तयारी गरेको छ । कोरोना संक्रमणको यस विषम परिस्थितिमा नेपाल टेलिकमले यि सबै कुरालाई व्यवस्थित गर्दै सेवा संचालन कसरी गरिरहेको छ भन्ने समसामयीक विषयमा आइसिटी समाचारले नेपाल टेलिकमका प्रबन्ध दिर्नेशक डिल्ली अधिकारीसँग गरिएको कुराकानी :

कोरोना संक्रमणको विषम परिस्थिति छ । अत्यावश्यक सेवा भएकाले यो बेला टेलिकमको अझबढी जिम्मेवारी थपिएको छ । यस्तो परिस्थितिमा सेवा संचालन कसरी गरिरहनु भएको छ ?

अहिले अत्यावश्यक सेवा संचालनको लागि बाध्यता पनि छ । यो राष्ट्रको जिम्मेवारी पनि हो । हामीले कोरोनाबाट अति प्रभावित क्षेत्रबाहेक सबै ठाउँ आयोजनाहरु संचालन गरिरहेका छौं ।

मर्मतसंहारमा प्राविधिकहरुलाई ड्युटिमा राखेर काम गरिरहेका छौं भने इन्जिनियरहरु घर मै सिस्टम एक्सेस गरेर काम गरिहरनु भएको छ । कतिपय बेला अफिस आउनु पर्यो भने सामाजिक दूरी कायम गरेर सुरक्षाविधि अपनाएर मर्मतसंहार र संचालनका काम गरिरहेका छौं ।

कार्यालयका छलफल अनलाइनबाटै गरिरहेका छौं । अहिलेसम्म त्यस्तो अप्ठाराहरु देखिएका छैनन् ।

यो जोखिम अवस्थामा कर्मचारीमा कोरोना संक्रमण कति भोग्नु परेको छ ?

कोरोना पहिलो लहर भोगिरहँदा खोप थिएन । अहिले हाम्रा अधिकांस कर्मचारीले खोप लगाइसक्नु भएको छ । कतिपयले व्यवास्ता गरेर वा नभ्याएर नलगाएको पनि पाइएको छ ।

खोप लगाएकोलाई संक्रमणको जोखिम धेरै कम छ र संक्रमण भइहाले पनि स्वास्थ्य स्थिति सामान्य छ। जसले यो खोप लगाउनु भएको छैन, उहाँहरुलाई संक्रमण हुदा स्वास्थ्यमा जटिलता देखिएका छन् । यो दोस्रो लहरमा ४ जना कर्मचारी गुमाउनु परेको छ । यसअघिको पहिला लहरमा ३ जनाले ज्यान गुमाउनु परेको थियो ।

कतिजना अहिले अस्पतालमा हुनुहुन्छ र कति खोप नलगाएकाले अक्सिजनको सहारामा उपचार गरिरहनु भएको छ ।

हामीले कर्मचारीको पीसीआर परीक्षण निःशुल्क गरिरहेका छौं । उपचार आवश्यक हुने कर्मचारीलाई ३ लाखसम्मको उपचार खर्च र वीमाको सुविधा उपलब्ध गराएका छौं ।

सबै जना घर भित्रै हुदा इन्टरनेट ट्राफिकसँगै खपत पनि बढेको छ । यसलाई व्यवस्थापन गर्न कत्तिको हम्मे परेको छ ?

कोभिड–१९ दोस्रो लहर सुरु भएपछि डेटा खपत ३० प्रतिशतभन्दा धेरै बढेको छ ।
डेटा खपत बढिरहेको भए पनि यसलाई सहजरुपमा व्यवस्थापन गरेका छौं । डेटा खपतको लागि चाहिने भनेको सिस्टम एक्सेस र व्यान्डविथको उपलब्धता हो ।

कोभिड–१९ दोस्रो लहर सुरु भएपछि डेटा खपत ३० प्रतिशतभन्दा धेरै बढेको छ । डेटा खपत बढिरहेको भए पनि यसलाई सहजरुपमा व्यवस्थापन गरेका छौं ।

हामीले लोकल र अन्तर्राष्ट्रिय व्यान्डविथको व्यवस्थापन गरेर केस सर्भरको क्षमता थपेर काम गरिहेका छौं। अहिले पनि हाम्रो केस सर्भरको क्षमता वृद्धि र अन्तर्राष्ट्रिय व्यान्डविथको थप्ने काम भइरहेको छ ।

अहिले व्यान्डविथको सप्लाई र डिमान्डको इकोसिस्टम मिलिरहेको छ । केही समयपछि व्यान्डविथ पनि थप्दै छौं ।

कोभिड–१९ दोस्रा लहरसँगै तपाईहरुले विभिन्न प्याकेज ल्याउनु भएको छ । स्वास्थ्यकर्मीलाई ल्याएको भ्वाइस प्याकेज निकै लोकप्रिय भएको छ । यो विषम परिस्थितिमा यस्तो अफरले कति सहयोग गर्दो रहेछ ?

अहिले नर्स, चिकित्सक वा त्यस क्षेत्रमा काम गर्ने अन्य स्वास्थ्यकर्मीहरुलाई धेरै सम्पर्क गर्नुपर्ने हुन्छ । यो जोखिम परिस्थितिमा चिकित्सकले देशको लागि भनेर रातदिन खटेर काम गरिरहनु भएको छ ।

यो रोग भेटेरभन्दा पनि सम्पर्कमा परामर्श दिन सकिने खालको पनि छ । त्यो हुनाले उहाँहरुले धेरै कल गर्नु पर्छ । उहाँहरुलाई निःशुल्क भ्वाइस कल सुविधा दिदा धेरै नै राहत भएको प्रतिक्रिया पाएका छौं ।

आमजनतालाई परामर्श दिएर जोखिमलाई न्युनीकरण गर्ने र बिरामीको उपचारलाई मोबाइल सेवाले भरपर्दो र प्रभावकारी बनाउँछ भन्ने हिसाबले हामीले निशुल्क सेवा उपलब्ध गराएका हौं । यो हाम्रो कर्पोरेट जिम्मेवारी पनि हो ।

अहिले यदि कसैलाई सहयोग गर्नुपर्छ भने स्वास्थ्य क्षेत्रमा लागेका जनशक्तिलाई गर्नुपर्छ । स्वास्थ्य क्षेत्रको जनशक्ति मोटिभेट नभएसम्म यो महामारीसँग लड्न सकिदैन । अग्रपंक्तिको सिपाई भनेको उहाँहरु नै हो । उहाँहरुलाई सबैले आफ्नो ठाउँबाट सहयोग गर्नुपर्छ र टेलिकमले पनि उहाँहरुलाई सहयोग गरेको हो ।

यो स्किममा धेरै जना सहभागित भइरसक्नु भएको छ । आइतबारसम्म ३८ हजारभन्दा धेरै स्वास्थ्यकर्मी यसमा जोडिनु भएको छ । यो संख्या एकदमै बढ्दै छ । उहाँहरुबीच यो धेरै लोकप्रिय भएको छ ।

नेपाल मेडिकल काउन्सिल, नर्सिङ काउन्सिललगायतका स्वास्थ्य संस्थामार्फत सिफारिस लिन्छौं र सिधै प्याकेज हालिदिन्छौं । यसै कारण पनि यसको अनावश्यक दुरुपयोग भएको छैन । स्वास्थ्यकर्मीलाई यसले प्रोत्साहन गर्ने भएकाले हामीलाई पनि केही चिज दिए जस्तो अनुभव भएको छ ।

योसँगै, विहान ५ बजेदेखि ७ बजेसम्म ३९ रुपैयामा मोबाइल इन्टरनेट जति चलाउन सकिने अनलिमिटेड प्याकेज पनि उपलब्ध गराएका छौं । ई-शिक्षा प्याकेजसहित हाम्रा नियमित स्किमहरु चदैछन् ।

\"\"

चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकको वित्तीय विवरणअनुसार ग्राहक तर्फको आम्दानीमा वृद्धि भए पनि  खुद नाफा घटेको छ । नेपाल टेलिकमको मात्र होइन नीजि क्षेत्रको पनि नाफामा गिरावट आएको छ । यस्तो घट्ने क्रम कोरोना संकटले नै हो कि अन्य कारणहरु पनि छन् ?

टेलिकमको आम्दानीका अन्य क्षेत्रहरु जस्तै बैंकको ब्याज, विभिन्न ठाउँबाट आउने लगानीलाई राष्ट्रिय अर्थतन्त्रले सिधै प्रभाव पार्छ । मुलुकको अर्थतन्त्र राम्रो हुँदा यसबाट हुने आम्दानी बढ्ने हो । कोरोनाको विषम परिस्थितिले आम्दानीको अन्य क्षेत्रलाई प्रभाव पारेको छ ।

सकारात्मक कुरा के छ भने नेपाल टेलिकमको ‘कोर’ व्यवसायबाट हुने आम्दानीमा बढोत्तरी भएको छ । यो हाम्रो लागि सकारात्मक कुरा हो । अन्य कम्पनीको सञ्चालन आय नै घटिरहेको बेलामा बढ्नु भनेको सकारात्मक हो ।

यो किन भएको हो भने हामीले बीचमा नेटवर्कको विस्तार बढायौं । क्षमता वृद्धि गर्यौं । ग्राहकहरु थपिए र उनीहरुलाई सस्तो र गुणस्तरीय सेवा दियौं । यसमा ग्राहकको आकर्षण भएकाले यो बढेको हो ।

विषम परिस्थितिमा अघिल्लो अवधिको तुलनामा अहिले बढ्नु भनेको सकारात्मक कुरा हो। यद्यपी अहिले चलेको लकडाउनले यसलाई प्रभाव पार्न सक्छ ।

लकडाउन सुरु भएपछि भने भ्वाइसतर्फको आम्दानीमा नराम्रोसँग खस्केको छ । मानिसहरु घरभित्रै रहेकाले परिवार कल भएका छैनन् । व्यवसाय कल पनि भएका छैनन् । अन्तर्राष्ट्रिय कलहरु धेरै घटेका छन् । यातायात, निर्माण जस्ता धेरै क्षेत्रमा पैसा कमाएर मोबाइल टपअप गर्नेलाई सिधै असर गरेकाले भ्वाइस क्षेत्रमा कमी आएको छ ।

ओटीटीको असर कस्तो छ ?

पक्कै छ । एकताका अन्तर्राष्ट्रिय कल अथवा रोमिङ कलबाट हुने आम्दानी कुल आम्दानीको ३०–३१ प्रतिशत हुन्थ्यो । अहिले त्यो आम्दानी १४–१५ प्रतिशतमा झरेको छ ।

टेलिकमको ग्राहक संख्या बढेकै छ, नेटवर्क विस्तार भइरहेको कै छ तर पनि भ्वाइस आम्दानी घटेको छ। अर्कोतिर, डेटा पेनिट्रेसन बढ्दै गयो । भाइबर, ह्वासएप, म्यासेन्जर, इमोबाट हुने कल बढिरहेका छन् । अन्तर्राष्ट्रियमात्र होइन, आन्तरिक कल पनि  ओटिटिबाट हुन थालेका छन् । क्रमश टिडिएम बेस सेलुर मोबाइल सर्भिस ओटीटीमा परिवर्तन भइरहेको छ ।

हुन त त्यो डेटामा परिवर्तन भएको हुन्छ तर डेटाबाट हुने आम्दानी नगन्य हुन्छ । घरमा ब्रोडव्यान्ड फाइबर छ, सेलुलर डेटा चल्दैन । घरमा वाइफाइ चलाउने र त्यसैबाट भ्वाइस पनि चलाउने भएपछि टेलिकमको आम्दानी हुदैन ।

यिनै कारणले समग्र टेलिकम क्षेत्रको आम्दानीमा ओटीटीले असर गरेको छ । बाहिरको गतिविधि चलायमान हुने, व्यवसाय चल्ने हो भने सेलुलर डेटामा आम्दानी हुन्छ ।

नेपाल टेलिकमले नेपाल मै पहिलो पटक भिओएलटीई सेवा सुरु गरेको छ । यो के हो ? यसमा थप लगानी गर्नुपर्छ कि पर्दैैन ?

टेलिकमले फोरजी नेटवर्क विस्तार गर्ने सम्झौता गर्दा नै भोओएलटीई सेवा पनि संचालन गर्ने भनेर सहमति भएको थियो । फोरजी सेवाको सम्झौता गर्दा नै यो पनि समावेश भएकाले यसको लागि अतिरिक्त खर्च गरिएको छैन ।

यो संचालनको लागि भीओएलटीई सर्पोट गर्ने सेटहरु ग्राहकसँग हुनुपर्छ । भोल्टे सेवा लिएका ग्राहकले एकअर्कासँग कुरा गर्दा यसको खास अनुभव गर्न पाइन्छ । यसबाट कोठामा बसेर कुरा गरे जस्तै एचडी गुणस्तर हुन्छ । यसमा कल सेटअप टाइप पनि एकदमै छिटो हुन्छ ।

अब नेपालमा आउने सबै मोबाइल सेटमा फोरजी र भोल्टे सेवा हुनुपर्छ । त्यसले गर्दा भ्वाइस नेटवर्क क्रमशः फोरजीमा परिवर्तन हुदैजान्छ । टुजी र थ्रिजीको ट्राफिक पनि फोरजी परिवर्तन हुनेछन् ।

फाइभ जी सुरु गर्ने तयारीमा नियमक निकाय लागिरहेको छ । नेपाल टेलिकमले पनि परीक्षण सुरु गर्ने भनिरहेको छ । यसको तयारी कस्तो छ ?

फाइभजी परीक्षण गर्ने भनेर एउटा अध्ययन समिति बनेको छ । परीक्षण कसरी गर्ने, कुन कुन फ्रिक्वन्सीमा गर्ने, कुन कुन साइटमा गर्ने, कसरी गर्ने, कुन एप्लिकेसन चलाउने भनेर समितिले तय गरेको छ । समितिले प्रतिवेदन पेस गरिसकेको छ ।

केही दिनमा दूरसञ्चार प्राधिकरणलाई परीक्षण मोडलको स्वीकृतिको लागि चिठी पठाउँछौं । त्यहाँबाट स्वीकृति भएर आएपछि परीक्षणको काम अगाडि बढाउँछौं ।
फाइभजी परीक्षणको लागि आधारभूत संरचनाहरु बिटिएसम्म १० जीको अप्टिकल लिंक उपलब्ध हुनुपर्छ । टावरमा स्पेस र पावर सिस्टम उपलब्ध हुनुपर्छ ।

फाइभजीको लागि कुन कुन एप्लिकेसन चलाउने हो सबै तयार हुनुपर्छ । साथै, कोर साइड पनि तयारी हुनुपर्छ ।

फाइभजीको एक्टिभ एन्टिना युनिट (एएयु) ल्याउनु पर्छ तर यो फ्रिक्वन्सी फाइनल भएपछि ल्याउने हो । अरु पूर्वाधारहरु हामीसँग तयारी अवस्थामा छन् ।

\"\" सात सय मेगाहर्जमा चलाउने भनिएको छ । यसमा चलाउँदा कस्तो हुन्छ ?

ग्लोबल सिस्टम फर मोबाइल कम्युनिकेसन एसोसियसन (जीएसएमए) ले ३० गिगाहर्जभन्दा तल फाइजीको लागि राम्रो हुदैन भनेको छ ।

अन्तर्राष्ट्रियस्तरमा हेर्ने हो भने फाइभजीको लागि तीनवटा व्यान्डमा तय गरिएको छ । एउटा एक गिगाहर्जभन्दा तलको लोअर व्यान्ड अर्को एक गिगाहर्जभन्दा माथि मिड व्यान्ड र २४ गिगजाहर्जभन्दा माथिको हाइ व्यान्ड छन् ।

मेरो विचारमा नेपालको सन्दर्भमा लोअवर व्यान्ड र मिड व्यान्डको संयोजनमा फाइभजी चलाउँदा प्रभावकारी हुन्छ ।

अहिले बाहिर जति पनि फाइभजीका सिस्टमहरु चलेका छन्, तिनीहरुको स्पेक्ट्रम भनेको ३४ सय मेगाहर्ज व्यान्ड र २६ सय मेगाहर्ज व्यान्ड प्रयोग गरेका छन् । ७ सय मेगाहर्ज एकदमै कम भएको छ ।

त्यो भएको हुनाले नेपालको सन्दर्भमा ७ सय, ३४ सय २६ सय सय मेगाहर्ज व्यान्डमा फाइभजी चलाउँदा अझ बढी प्रभावकारी होला जस्तो लाग्छ ।

फोरजी राम्रोसँग विस्तार नहुदै र यसको लगानी नउठ्दै फाइभजीमा लगानी गर्नु पर्ने अवस्था छ । फाइभजी संचालनमा धेरै खर्च लाग्छ भनिन्छ । यसले टेलिकमलाई थप आर्थिक भार बढ्दै जाने त होइन ?

टेलिकम क्षेत्रमा निरन्तर प्रविधि एडप्सन गर्ने र प्रविधिको सेवा बेच्नु पर्ने हुन्छ । त्यो गर्न नसकेमा सस्टेनविलिटीको ठूलो कुरा हुन्छ ।

टुजीबाट थ्रिजी हुदै फोरजी पनि आइसकेको छ तर पनि टुजी र थ्रिजी अझै पनि चलिरहेका छन् । सामान्यतया विश्वको अनुभव हेर्दा सेवाहरु १० देखि १२ वर्षसम्म आभेरल्यापमा चलिरहेका हुन्छन् ।

थ्रिजी र फोरजी १० देखि १२ वर्ष सँगसँगै गए । फोरजी र भाइभजी पनि १० देखि १२ वर्षसँगसँगै हुने ट्रेन्ड देखिएको छ ।

फोरजी हामीले भर्खर सुरु गरेका छौं । यो अहिलेको अवश्यकता हो । संसारमा हेर्ने हो भने जीएसएमएको प्रतिवेदनअनुसार २०२५ सम्म जम्मा फाभइजीको प्रयोग संख्या १० देखी १५ प्रतिशतमात्र हुन्छ भनेको छ । ६० प्रतिशतभन्दा धेरै फोरजीले नै कभर गर्छ भनेको छ । उसले सन् २०३० सम्म पनि कुल बजारको मुख्य हिस्सा फोरजीले होल्ड गर्छ भनेको छ ।

फोरजी भनेको अबको १०–१२ वर्षलाई मुख्य ‘फर्टाइल ल्याण्ड’ जस्तै हो । तर, ग्राहकको सेवा र मागअनुसार जानु पर्ने भएकाले फाइभजीमा पनि लगानी गर्दैजानु पर्ने हुन्छ ।

हाम्रो लागि सकारात्मक कुरा के छ भने भाइभजीको लागि चाहिने पूर्वाधार तयारी अवस्थामा छ । जस्तो कि ट्रान्समिसन, टवर, पावर सिस्टमहरु जस्ता आधारभूत पूर्वाधार तयारी अवस्थामा रहेकाले नयाँ प्रविधि ल्याउँदा हामीलाई धेरै महंगो पर्दैन । टेक्नोलोजीमा खर्च गर्नुपर्छ, पूर्वाधारमा तत्तिधेरै खर्च गर्नुपर्दैन ।

हुन त फाइभजी भनेको इन्डष्ट्रिय इस्टान्र्डर हो । उपभोक्तालाई फोरजी नै प्रयाप्त छ । विश्वका सबै नेटवर्क सर्भिस प्रोभाइडरहरको अनुभवमा पनि फोरजी नै प्रयाप्त छ । फाइभजी भनेको औद्योगिक, आईओटी सेक्टरतिर, मसिन टु मसिन कम्युनिकेसन, एमएमटीसी, नियर टु रियल टाइम, अल्ट्रा रियलटाइम गुणस्तरको लागि फाइभजी प्रयोग गर्ने हो ।

फाइभजी ल्याउनको लागि अहिले बजार पनि तयारी अवस्थामा छैन । विदेशमा ‘टेक्नोलोजी म्याचुअर’ भएपछि बल्ला हाम्रोमा आउने हो । यहाँको औद्योगिक क्षेत्र तयार भएपछि मात्र हामीले फाइभजी रोलआउट गर्ने हो ।

त्यही भएर नेपालको सन्दर्भमा कुन स्पेक्ट्रम उपयोगी हुन्छ , परीक्षण कसरी गर्ने, इकोनोमिकल भाइबल हुन्छ कि हुदैन ? कुने एप्लिकेसनमा फाइभजी चलाउन सक्छौं भन्ने भनेर परीक्षण गर्ने भनेर अगाडि बढेका छौं  ।

\"\" नेपाल टेलिकमले एफटीटीएच सेवा पनि विस्तार गरिरहेको छ । एफटीटीएचमा नेपाल टेलिकमको विस्तार अन्यको भन्दा राम्रो पनि देखिन्छ । एफटीटीएचको सफलतामा टेलिकमलाई के कुराको सहयोग भइरहेको छ ?

यसमा गुणस्तर निर्धारण गर्नको लागि दुई तीनवटा कुराहरु हुन्छन् । नेटवर्कको संरचना कस्तो छ ? कतिको स्टेवल नेटवर्क छ ? भन्ने कुरा हुन्छ ।

हामीले ओएलटी एक्सचेन्जदेखि ग्राहकको घरछेउ जाने क्याविनेटसम्म अन्डरग्राउन्ड रोबस्ट नेटवर्क बनाएका छौं । त्यसपछि बल्ल ग्राहकको घरमा जोडिदा एरियल नेटवर्क जोडिने हो । हाम्रा नेटवर्कहरु अत्यन्तै व्यवस्थित छन् ।
एकपटक अन्डरग्राउन्ड भएपछि त्यसको समस्या आउँदैन ।

अर्को, व्यागबोन पूर्वाधार उच्च गुणस्तरको छ । हाम्रा राउटरहरुले चाहिने जति व्यान्डविथ दिइरहेका छन् । ग्राहकले मागेको व्यान्डविथ हामीले दिन सकेका छौं । हामीले हरेक कम्पोनेन्टमा गुणस्तर सुनिश्चिता गरेका छौं ।

टेलिकमले व्यवसायको दायरा विस्तार गर्दै भुक्तानी सेवा प्रदायक सेवा नमस्ते पे पनि सुरु गर्दै हुनुहुन्छ । जेठ १ देखि नै सेवा सुरु हुने कुरा थियो तर अहिलेसम्म आएन नि ? किन ढिलाइभइरहेको छ ?

यसमा ढिला हुनुको कारण कोरोना संक्रमण हो । जसले गर्दा उपकरण आयात समयमा हुन सकेन । कार्गो प्लेन पाइएन भने नियमित उडान पनि भएनन् ।
अर्कोतिर, कोरोना संक्रमणले कर्मचारीलाई पनि असर गरेको छ । सामान जडान गरेर सिस्टम चलाउने बेलामा सप्लायर कम्पनीका व्यक्तिहरुलाई कोरोना संक्रमण हुदा थप समस्या उत्पन्न भएको छ ।

अहिले कामलाई तीव्रता दिएका छौं । इन्टरकनेक्सन सम्झौता भइरहेका छन् । सम्भवत जेठ मसान्तसम्म सेवा संचालनमा ल्याउँछौं ।

अहिले बजारमा तीव्र प्रतिस्पर्धा छ । अनुमतिपत्र लिने भुक्तानी सेवा प्रदायक नै २८ वटा पुगिसकेका छन् । यो बेलामा नयाँ आउने कम्पनीलाई बजार प्रवेश र प्रतिस्पर्धा गर्न कति गाह्रो होला ?

बजारमा जनताले विश्वास गर्ने विश्वासशिलो पार्टन चाहिएको छ । विश्वास गर्न लागि कस्तो कम्पनी आएको हो भन्नेमा भर पर्छ । नेपाल टेलिकम र वाणिज्य बैंक दुबै सरकारी कम्पनी भएपछि यसले विश्वास आर्जन गर्नेछ ।

जस्तो कि, बजारमा यति धेरै आइएसपी कम्पनी थिए तर टेलिकमको एफटीटीएच थिएन । जब टेलिकमले एफटीटीएच ल्यायो अरुको छोडेर टेलिकमको लिने बढेका छन् । डिजिटल पेमेन्ट कम्पनीमा पनि ठक्कै त्यस्तै हुनेछ ।

हाम्रो चुक्तपुँज नै धेरै छ । ठूला कम्पनीको सहयोग छ । उपभोक्ताको विश्वास छ । अन्तर्राष्ट्रिय स्तरको ‘सोलुसन’ ल्याएको हुनाले डिजिटल पेमेन्ट कम्पनीमा छिनै मार्केट लिड गर्छौं र क्यासलेस सोसाइटी बनाउनमा यसले सहयोग गर्छ भन्ने अपेक्षा छ ।

हाम्रो समाज भनेको क्यासलाई नै पैसा मान्ने खालको छ । चेकलाई पनि पैसा नमान्ने अवस्थामा डिजिटल करेन्सी त परको कुरा । यस्तो अवस्थामा विश्वाससिलो कम्पनीको खोजीमा ग्राहक छन् ।