कीवर्डहरू -

डिशहोमका ग्राहकलाई अब १० एमबीपीएसको फाइबर इन्टरनेट निःशुल्क 

डिशहोमका ग्राहकलाई अब १० एमबीपीएसको फाइबर इन्टरनेट निःशुल्क 

डिशहोमले ग्राहकहरुलाई १० एमबीपीएसको इन्टरनेट निःशुल्क दिने भएको छ । डिशहोमले लाइफ स्टाइल एचडी प्याकेज अन्तर्गतका ग्राहकहरुलाई १० एमबीपीएसको डिशहोम फाइबर नेट निःशुल्क दिने भएको हो ।

डिशहोमको लाइफ स्टाइल एचडी प्याकेज लिएका ग्राहकले १० एमबीपीएसको इन्टरनेट सेवा निःशुल्क पाउने डिशहोमका जनरल म्यानेजर रमेश सापकोटाले बताए ।

‘लाइफ स्टाइल एचडी प्याकेजका ग्राहकले १० एमबीपीएसको इन्टरनेट निःशुल्क पाउने छन्,’ उनले आइसिटी समाचारसँग भने, ‘ग्राहकले शुरूमा रिफन्डेबल, तार र राउटरको वानटाइम शुल्क तिर्नुपर्छ । त्यसपछि टिभीको रिचार्ज गर्दासम्म मासिक शुल्क तिर्नु पर्दैन ।’

सापकोटाका अनुसार डिशहोम नभएका ग्राहकले डिशहोम राखेर लाइफस्टाइल एचडी प्याकेज लिएमा १० एमबीपीएसको डिशहोम फाइबर नेट निःशुल्क पाउने छन् । डिशहोम फाइबर नेटको पहुँच भएको ठाउँमा लाइफ स्टाइल एचडीका ग्राहकले १० एमबीपीएसको इन्टरनेट निःशुल्क पाउने छन् ।

डिशहोमको लाइफ स्टाइल एचडी प्याकेजको मूल्य मासिक ६ सय रूपैयाँ तोकिएको छ । डिशहोमले अहिले ३०,४०, ६० र १०० एमबीपीएसको इन्टरनेट उपलब्ध गराइरहेको छ ।

लाइफ स्टाइल एचडी प्याकेजमा डिशहोमका सबै एचडी तथा एसडी च्यानल हेर्न सकिन्छ । अहिले काठमाडौं उपत्यकाको ९० प्रतिशत ठाउँमा डिशहोम फाइबर नेट पुगिसकेको र २ महिना भित्र उपत्यकाका सबै ठाउँमा पुग्ने सापकोटाले आइसिटी समाचारलाई जानकारी दिए ।

साथै हेटौडा, इटहरी, इनरूवामा पनि डिशहोम फाइबर नेट उपलब्ध रहेको छ । सन् २०२१ भित्रमा देशका प्रमुख शहरहरुमा डिशहोम फाइबर नेट विस्तार हुने उनले बताए ।

डिशहोम प्रयोग गरिरहेका सबै ग्राहकहरुलाई डिशहोम फाइबर नेट उपलब्ध गराउने कम्पनीको योजना रहेको छ । डिशहोम जस्तै गरेर भविष्यमा स्याटेलाइटबाट इन्टरनेट सेवा उपलब्ध गराउने कम्पनीको उद्देश्य रहेको सापकोटाले बताए ।

साथै डिशहोमले लाइफस्टाइल एचडी प्याकेजका ग्राहकलाई मासिक २३३ रूपैयाँ २५ एमबीपीएसको डिशहोम फाइबर नेट प्रदान गर्ने भएको छ । २३३ रूपैयाँमा इन्टरनेट सेवा डिशहोम फाइबर नेट पुगेको ठाउँमा मात्रै उपलब्ध हुनेछ ।