काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले नेपाल राष्ट्र बैंक अन्तर्गतको वित्तीय जानकारी इकाइ (एफआईयू–नेपाल) सँगको सहकार्यमा ‘एफएटीएफ मापदण्डअनुसार एएमएल/सीएफटी/सीपीएफ अनुपालन प्रभावकारिता अभिवृद्धि’ विषयक एकदिने कार्यशाला आयोजना गरेको छ ।
काठमाडौंमा आयोजित उक्त कार्यशालामा नियामक निकाय, बैंक तथा वित्तीय संस्था, धितोपत्र बजारसँग सम्बन्धित संस्था, बीमा कम्पनी, सहकारी तथा अन्य रिपोर्टिङ संस्थाका गरी १४० भन्दा बढी प्रतिनिधिको सहभागिता रहेको थियो ।
कार्यक्रममा नेपालमा सम्पत्ति शुद्धीकरण (Anti-Money Laundering), आतंकवादी गतिविधिमा वित्तीय सहयोग नियन्त्रण (Countering the Financing of Terrorism) तथा विनाशकारी हतियारको विस्तारसम्बन्धी वित्तीय सहयोग नियन्त्रण (Countering Proliferation Financing) सम्बन्धी प्रणालीलाई थप प्रभावकारी बनाउने विषयमा छलफल गरिएको थियो ।
कार्यक्रममा स्ट्यान्डर्ड चार्टर्ड बैंकका भारत तथा दक्षिण एसियाका हेड अफ फाइनान्सियल क्राइम कम्प्लायन्स (एफसीसी) जयराम मङ्गलानी र एफसीसी इन्भेस्टिगेसन्स एण्ड रिस्क स्पेसलिस्ट जयेश कदमले प्रशिक्षण दिएका थिए ।
उनीहरूले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय अनुभवका आधारमा वित्तीय अपराधको जोखिम व्यवस्थापन, एएमएल/सीएफटी/सीपीएफ कार्यक्रमको प्रभावकारिता तथा उत्कृष्ट अभ्यासबारे प्रस्तुति दिएका थिए ।
कार्यशालामा नेपालले वित्तीय कार्यदल (FATF) अन्तर्गतको यात्रा, ग्रे सूची (Grey List) मा समावेश हुँदा पर्ने प्रभाव, अन्तर्राष्ट्रिय अनुभव तथा नेपाललाई ग्रे सूचीबाट बाहिर निकाल्न आवश्यक व्यावहारिक उपायबारे विस्तृत छलफल भएको थियो ।
कार्यक्रमलाई एफआईयू–नेपालका निर्देशक बासुदेव भट्टराई, नेपाल राष्ट्र बैंकका निर्देशक डा. हरिकुमार नेपाल, स्ट्यान्डर्ड चार्टर्ड बैंकका हेड अफ फाइनान्सियल इन्स्टिच्युसन्स (जीसीएनए) हिमांशु ध्यानी तथा नेपालका हेड अफ फाइनान्सियल इन्स्टिच्युसन्स राजकमल बस्नेतले सम्बोधन गरेका थिए ।
उनीहरूले सार्वजनिक तथा निजी क्षेत्रबीचको सहकार्य, जोखिममा आधारित सुपरिवेक्षण, प्रभावकारी अनुसन्धान, जवाफदेहिता तथा सामूहिक प्रयासमार्फत नेपालले एफएटीएफ कार्ययोजनाअन्तर्गत गरेका प्रतिबद्धता पूरा गर्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा बोल्दै स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालका राजकमल बस्नेतले वित्तीय अपराध नियन्त्रणका लागि सबै सरोकारवालाबीच सहकार्य, निरन्तर सिकाइ र साझा प्रतिबद्धता आवश्यक रहेको बताए । यस्ता कार्यक्रमले वित्तीय क्षेत्रको क्षमता अभिवृद्धि गर्नुका साथै नेपालको वित्तीय प्रणालीलाई थप पारदर्शी, विश्वसनीय र सुदृढ बनाउन योगदान पुग्ने उनको भनाइ थियो ।
स्ट्यान्डर्ड चार्टर्ड बैंकले ज्ञान आदान–प्रदान, क्षमता अभिवृद्धि तथा सरोकारवाला निकायसँगको सहकार्यमार्फत नेपालको पारदर्शी र दिगो वित्तीय प्रणाली निर्माणमा निरन्तर सहयोग गर्दै आएको जनाएको छ ।
आईसीटी समाचार