कीवर्डहरू -

१ करोड ६ लाख पुगे एनसेल नेटवर्कमा स्मार्टफोन प्रयोगकर्ता

१ करोड ६ लाख पुगे एनसेल नेटवर्कमा स्मार्टफोन प्रयोगकर्ता

मुलुकमा मोबाइल फोनको आयात ह्वात्तै बढ्दै पछिल्लो १० महिनामा ३२ अर्ब बढी भित्रिएका छन् । मुलुकमा आयात भइरहेको मोबाइल र सेवा प्रदायकको नेटवर्कमा प्रयोग भइरहेको तथ्यांक हेर्दा स्मार्टफोनको आयात र प्रयोग धेरै बढेको छ ।

निजी क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एनसेलको नेटवर्कमा मात्रै स्मार्टफोन प्रयोग गर्ने उपभोक्ता १ करोडबाट माथि लागेका छन् । एनसेलको पछिल्लो तथ्यांक हेर्ने हो भने उसको नेटवर्कमा रहेका कुल ग्राहकमध्ये ६५ प्रतिशतले स्मार्टफोन प्रयोग गरिरहेका छन् ।

एनसेलको  मुख्य लगानीकर्ता मलेसियन कम्पनी आजियाटाले सार्वजनिक गरेको सन् २०२१ को पहिलो त्रैमासिक वित्तीय प्रतिवेदनअनुसार एनसेलको नेटवर्कमा १ करोड ६ लाख ग्राहकले स्मार्टफोन प्रयोग गरिरहेका छन् ।

उक्त प्रतिवेदनअनुसार हाल एनसेलको कुल ग्राहक संख्या एक करोड ६३ लाख १६ हजार पुगेका छन् । यस हिसाबले हेर्दा कुल ग्राहकमा १ करोड ६ लाख ५ हजार ४ सय जनाले स्मार्टफोनको प्रयोग गरेको देखिन्छ ।

गत वर्ष सोही अवधिको तुलनामा एनसेल नेटवर्कमा स्मार्टफोन प्रयोगकर्ता संख्या २ प्रतिशतले बढेर ६५ प्रतिशत पुगेको हो । सन् २०२० को पहिलो त्रैमासिकमा ६३ प्रतिशत ग्राहकले स्मार्टफोन प्रयोग गर्थे ।

पछिल्लो वर्षहरुमा बारफोनको प्रयोग घट्दै गएको छ भने स्मार्टफोनको बढ्दै छ । स्मार्टफोनमा धेरै सुविधा हुने, मोबाइल डाटाको प्रयोग बढ्दो र सस्तो स्मार्टफोन उपलब्ध हुनथालेपछि यसको प्रयोग बढ्दै गएको हो ।

मुलुकमा पछिल्लो पाँच वर्षको अवधिमा एनसेलका नेटवर्कमा स्मार्टफोन प्रयोगकर्ता २३ प्रतिशतले वृद्धि भएका छन् । सन् २०१६ मा उसका कुल ग्राहकमध्ये ४२ प्रतिशतले स्मार्टफोन बोक्थे भने उक्त सन् २०१७ मा ५२ प्रतिशत, २०१८ मा ५९ प्रतिशत, सन् २०१९, २०२० मा ६५ प्रतिशत र यो वर्षको पहिलो त्रैमासिकमा  पनि ६५ प्रतिशत उपभोक्ताले स्मार्टफोन प्रयोग गरेका छन् ।

डाटा सेवाको शुल्कमा गिरावट, स्मार्टफोनको मुल्य घट्नुलगायतका कारणले डाटा सेवाको माग तथा प्रयोग बढिरहेको छ । साथै, पछिल्लो एक वर्षदेखि कोरोना संक्रमणले स्कुलका अनलाइन कक्षा, घरबाटै कार्यालयको काम सुरु भएपछि स्मार्टफोनको प्रयोग बढेको छ । यसको आयात र बिक्री पनि बढेको छ ।

प्रतिवेदनअनुसार एनसेलको नेटवर्कमा प्रतिग्राहक प्रतिमहिना इन्टरनेट खपत २७९८ एमबी पुगेको छ । गत वर्ष सोही अवधिमा १३१२ एमबी थियो । एनसेलका मुलकभर थ्रिजी बीटीएस टावर ३ हजार ३ सय ६ र फोरजी बीटीएस टावर ३ हजार ४ सय ६१ रहेका छन् ।

आजियाटाको लगानीमा सञ्चालित बंगलादेशको रोबी र श्रीलंकाको डायलगकै तुलनामा एनसेलमा स्मार्टफोन प्रगोगकर्ताहरु धेरै रहेका छन् । सन् २०२१ को पहिलो त्रैमासिकसम्ममा रोबी ५० र डायलग ५८ प्रतिशत ग्राहकले स्मार्टफोन प्रयोग गर्छन् ।

आजियाटाको लगानी रहेको सेलकम र एक्सएलका स्मार्टफोन प्रयोगकर्ता भने धेरै रहेका छन् । पछिल्लो तथ्यांकअनुसार मलेसियाको सेलकमका ग्राहकमध्ये ८९ प्रतिशत र इन्डोनेसियाको एक्सएलका ९० प्रतिशत ग्राहकले स्मार्टफोन प्रयोग गर्छन् ।

एनसेलले मुलुकभर थ्रिजी र फोरजी सेवा विस्तार गरेको छ । मोबाइल डेटाको उपलब्धताले पनि प्रयोगकर्ताले स्मार्टफोनमा रुपान्तरण भइरहेकाछन् ।