कीवर्डहरू -

अव्यवस्थित इन्टरनेट-टेलिफोन तार हटाउन सेवा प्रदायकलाई १५ दिने अल्टिमेटम

अव्यवस्थित इन्टरनेट-टेलिफोन तार हटाउन सेवा प्रदायकलाई १५ दिने अल्टिमेटम

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले काठमाडौं उपत्यकाका विभिन्न ६ प्रमुख रुटहरूमा अव्यवस्थित रूपमा रहेका टेलिफोन, इन्टरनेट तथा अन्य दूरसञ्चार सेवाका तारहरूको व्यवस्थापन गर्न सम्बन्धित सेवा प्रदायकहरूलाई निर्देशन दिएको छ ।

प्राधिकरणले हालै जारी गरेको सूचनाअनुसार त्रिपुरेश्वर–कालिमाटी–कलंकी, जडीबुटी–पेप्सीकोला, त्रिपुरेश्वर–लाजिम्पाट, सामाखुसी टाउन प्लानिङ (गोंगबु), कीर्तिपुर क्षेत्र तथा पुरानो बानेश्वर–गौशाला–चाबहिल रुटमा रहेका झुन्डिएका, चुँडिएका तथा लत्रिएका तारहरू १५ दिनभित्र दैनिक रूपमा व्यवस्थापन गर्नुपर्नेछ ।

अव्यवस्थित तारका कारण सहरी सौन्दर्यमा असर पर्नुका साथै सार्वजनिक सुरक्षा र आवागमनमा समेत जोखिम बढेको भन्दै प्राधिकरणले यस्तो अभियान अघि सारेको हो । यसका साथै नेपाल विद्युत् प्राधिकरणको भूमिगत संरचना उपलब्ध रहेका क्षेत्रमा चरणबद्ध रूपमा प्रयोगमा नरहेका तथा अव्यवस्थित तार हटाउने कार्य गरिने पनि उल्लेख गरिएको छ ।

प्राधिकरणले सेवा प्रदायकहरूलाई आफ्ना तारहरूमा स्पष्ट पहिचान खुल्ने ट्याग अनिवार्य रूपमा राख्न पनि निर्देशन दिएको छ । यदि सम्बन्धित सेवा प्रदायकको प्रतिनिधि उपस्थित नभएको वा तारमा पहिचान नखुलेको अवस्थामा ती तार काटिए, हटाइए वा क्षति भए त्यसको सम्पूर्ण जिम्मेवारी सम्बन्धित सेवा प्रदायककै हुने प्राधिकरणले स्पष्ट पारेको छ ।

त्यस्तै, नेटवर्क विस्तार, मर्मत तथा पुनःव्यवस्थापनका सबै कार्य नेपाल दूरसञ्चार प्राधिकरणले जारी गरेको “Directives for Laying and Maintaining Optical Fiber Network” अनुसार मात्र गर्नुपर्ने व्यवस्था पनि सूचनामा उल्लेख छ ।

प्राधिकरणले सहरी क्षेत्रमा सुरक्षित, व्यवस्थित र विश्वसनीय दूरसञ्चार पूर्वाधार निर्माण गर्न यो कदम आवश्यक भएको जनाएको छ ।