काठमाडौं । पत्रकारितामा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग तीव्र रूपमा बढ्दै गएपनि समाचार संकलन, विश्लेषण र सम्प्रेषणमा पत्रकारको मानवीय भूमिका अपरिहार्य रहने सञ्चार क्षेत्रका अगुवाहरूले बताएका छन् ।
प्रविधिले समाचार उत्पादनलाई सहज र छिटो बनाउन सक्ने भएपनि पत्रकारको व्यावसायिक निर्णय क्षमता, जिम्मेवारी र मानवीय संवेदनालाई प्रतिस्थापन गर्न नसक्ने उनीहरूको धारणा छ ।
चीनको राजधानी बेइजिङमा शनिबारदेखि सुरु भएको सातौँ विश्व सञ्चारमाध्यम सम्मेलनको पूर्ण सत्रमा सहभागी विभिन्न देशका प्रतिनिधिहरूले एआईले पत्रकारिता क्षेत्रमा ल्याएका सम्भावना र चुनौतीबारे विचार राख्दै यसको जिम्मेवार प्रयोगका लागि अन्तर्राष्ट्रिय सहकार्यमा जोड दिएका छन् ।
‘बौद्धिकताको युगमा सञ्चारमाध्यम : सहमतिदेखि कार्यान्वयनसम्म’ भन्ने मूल नाराका साथ आयोजना गरिएको सम्मेलनमा समाचार लेखन, सम्पादन, अनुवाद र वितरणमा एआईको बढ्दो प्रयोगले सञ्चार क्षेत्रको कार्यशैलीमा ल्याएको परिवर्तनबारे छलफल भइरहेको छ ।
सम्मेलनमा इजिप्टको राज्य सूचना सेवाका अध्यक्ष अलाअ अल–दिन जकारिया युसेफले एआईले समाचार अनुवादको कामलाई तीव्र र प्रभावकारी बनाउन सक्ने बताए । यद्यपि, भाषाको सन्दर्भ, सांस्कृतिक पक्ष र कूटनीतिक संवेदनशीलता जोगाउन अनुभवी अनुवादक तथा सम्पादकको भूमिका अझै महत्वपूर्ण रहने उनको भनाइ थियो ।
त्यसैगरी, भियतनाम समाचार एजेन्सीकी महानिर्देशक भु भियत ट्राङले एआईले पत्रकारलाई विस्थापित गर्न नसक्ने धारणा राखिन् । उनका अनुसार संवाददाताहरू घटनास्थलमै पुगेर सूचना संकलन गर्ने, जनताका समस्या बुझ्ने र महत्वपूर्ण समाचार सार्वजनिक गर्ने काममा अग्रपङ्क्तिमा रहन्छन् । प्रत्येक समाचारमा पत्रकारको ज्ञान, व्यावसायिक निर्णय र जवाफदेहितासमेत जोडिने उनले उल्लेख गरिन् ।
बुरुन्डीका राष्ट्रपतिका प्रवक्ता न्यान्सी–निनेटे मुटोनीले भने एआई र नयाँ सञ्चार प्रविधिको तीव्र विकाससँगै देखिएका चुनौती सामना गर्न देशहरूबीच सहकार्य आवश्यक रहेको बताइन् । यसका लागि पत्रकार तथा सञ्चारकर्मीलाई आवश्यक तालिम प्रदान गर्ने, प्रविधिसम्बन्धी ज्ञान आदानप्रदान गर्ने र अन्तर्राष्ट्रिय साझेदारीलाई मजबुत बनाउनुपर्नेमा उनले जोड दिइन् ।
सिन्ह्वा समाचार एजेन्सी र बेइजिङ महानगर सरकारको संयुक्त आयोजनामा भइरहेको सम्मेलन नोभेम्बर ५ देखि ९ सम्म सञ्चालन हुनेछ । सम्मेलनमा विभिन्न देशका सञ्चारमाध्यमका प्रतिनिधिहरूले एआई युगमा पत्रकारिताको बदलिँदो स्वरूप, प्रविधिको जिम्मेवार प्रयोग तथा अन्तर्राष्ट्रिय सञ्चार सहकार्यका विषयमा छलफल गरिरहेका छन् ।
आईसीटी समाचार