कीवर्डहरू -

गण्डकीको नीति तथा कार्यक्रमः यस्ता छन् डिजिटल प्रदेश बनाउने योजना 

गण्डकीको नीति तथा कार्यक्रमः यस्ता छन् डिजिटल प्रदेश बनाउने योजना 

गण्डकी प्रदेशले सोमबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । गण्डकी प्रदेशकी प्रदेश प्रमुख सिता कुमारी पौडेलले प्रदेश सभामा आगामी आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् ।

प्रदेश सरकार अन्तर्गत सञ्चालित अस्पतालहरुमा विद्युतीय स्वास्थ्य अभिलेख प्रणाली र स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली सुधार गरी स्वास्थ्य सेवाको सुदृढिकरण गरिने उक्त नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

‘प्रदेशभित्र सञ्चालित एम्बुलेन्स सेवालाई जीपीएस ट्रयाकिङ मार्फत एकीकृत प्रणालीमा आवद्ध गरी सञ्चालन गरिनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ, ‘विद्यार्थीको सिकाईमा अनलाइन माध्यमलाई प्रयोग गर्न सहयोग पुर्‍याइनेछ ।’

विज्ञान तथा प्रविधिको क्षेत्रमा व्यवहारिक तथा उपयोगी अध्ययन, अनुसन्धान, प्रोत्साहनको लागि अनुसन्धान वृत्तिको थालनी गरिने र प्रदेश युवालाई विज्ञान तथा प्रविधिसँग जोड्ने वैज्ञानिक सम्मेलनको आयोजना गरिने बताइएको छ ।

‘सरकारले डिजिटल स्वयल म्यापिङलाई प्रदेशमा कार्यान्वयन गरिने छ । स्थानीय तहसँगको सहकार्यमा डिजिटल प्रविधिको प्रयोग गरी कृषि सम्बन्धि सूचना तथा तथ्यांक अद्यावधिक गर्ने प्रणालीको विकास गरिनेछ,’ नीति तथा कार्यक्रममा उल्लेख छ ।

प्रदेश राजधानी नजिकका शहरलाई स्याटेलाइट सिटीको रूपमा विकास गर्ने कार्यक्रमलाई निरन्तरता दिइने जनाइएको छ ।

नीति तथा कार्यक्रममा यातायात व्यवस्था कार्यालयहरु सूचना प्रविधिमैत्री बनाई सेवा प्रवाहलाई थप प्रभावकारी बनाइने र सावारी चालक अनुमतिपत्र वितरण गर्ने कार्यलाई व्यवस्थि गरिने उल्लेख छ ।

त्यस्तै सूचना प्रविधि पार्कको विस्तृत आयोजना प्रतिवेदन तयार गरी भौतिक पूर्वाधार निर्माणका कार्य प्रारम्भ गरिने विद्युतीय शासन प्रणाली गुरूयोजना कार्यान्यन गरिने बताइएको छ ।

सार्वजनिक सेवा प्रवाहमा नागरिकको सरल र सहज पहुँच वृद्धि गर्न आधुनिक सूचना प्रविधिको प्रयोग गरिने बताइएको छ ।

साथै राजस्व प्रणालीलाई प्रभावकारी बनाउन र अभिलेख अद्यावधिक गर्न विद्युतीय प्रणालीको विकास गरी कार्यान्वयनमा ल्याइने जनाइएको छ ।

डिजिटल गण्डकी प्रदेश निर्माणमा योगदान गर्न वित्तिय पहुँच विस्तार र विद्युतीय भुक्तानी प्रणाली प्रोत्साहन गरिने सो नीति तथा कार्याक्रममा उल्लेख गरिएको छ ।