कीवर्डहरू -

११ विधामा आइसिटी अवार्डको अनलाइन नोमिनेशन शुरू, कुन विधामा कसले दिन सक्छन् ?

११ विधामा आइसिटी अवार्डको अनलाइन नोमिनेशन शुरू, कुन विधामा कसले दिन सक्छन् ?

सूचना तथा सञ्चार प्रविधि क्षेत्रको एक प्रतिष्ठित अवार्डको रूपमा स्थापित आइसिटी अवार्डको छैटौं संस्करणको अनलाइन नोमिनेशन (आवेदन) आजदेखि शुरु भएको छ ।

लिभिङ विथ आइसिटीको आयोजना र विभिन्न सरकारी तथा निजी संस्थाहरूको सहकार्यमा आयोजना हुने ‘आइसिटी अवार्ड २०२१’ को लागि विभिन्न ११ विधाहरूमा अवार्डको नोमिनेशन खुला गरिएको छ ।

दोस्रो लहरको कोभिड संक्रमण दर केही घटिरहेको अवस्थालाई मध्यनजर गर्दै आइसिटी अवार्ड २०२१ को अनलाइन नोमिनेशन खुला गरिएको छ ।

गतवर्ष पहिलो लहरको संक्रमणको अवधिमा अधिकांश कार्यक्रम स्थगन भए पनि आइसिटी अवार्ड २०२० भर्चुअल माध्यमबाट नोमिनेशन र छनौट प्रक्रिया अघि बढाउँदै गत डिसेम्बरमा सोल्टी होटलमा विशेष कार्यक्रम मार्फत १२ विधाका विजेतालाई सम्मान गरिएको थियो ।

यस वर्षको आइसिटी अवार्डमा अधिकांश छनौट समितिका मिटिङहरू भर्चुअल सञ्चालन हुने आयोजकले जानकारी दिएको छ । आइसिटी अवार्डको छनौट प्रक्रियाको लागि दुई दर्जनभन्दा बढी जुरी र सल्लाहकारहरू रहेका छन् ।

विभिन्न ११ विधामा इच्छुक व्यक्ति, कम्पनी, प्रडक्ट वा संस्थाहरूले २०७८ साउन १६ गतेसम्म आवेदन दिन सक्नेछन् । अवार्डमा प्रतिस्पधी आफै वा अन्य कसैले अनलाइन नोमिनेशन दर्ता गरिदिन सकिनेछ ।

अवार्डमा नोमिनेशन गर्न आइसिटी अवार्ड डटओआरजी वेबसाइटमा गएर विधा छनौट गरी फारम भरेर बुझाउनुपर्नेछ ।

यस वर्ष गतवर्ष झैं विभिन्न ११ विधामा नोमिनेशन खुला गरिएको छ । स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड, राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड गरी ३ विधाहरू स्टार्टअप तथा प्रोजेक्टलाई अवार्ड गरिने विधाहरू रहेका छन् ।

व्यक्तिलाई प्रदान गरिने अवार्डहरूमा पायोनियर आइसिटी अवार्ड, नेपाली डायस्पोरा आइसिटी अवार्ड, आन्टरप्रेनर आइसिटी अवार्ड र वुमन आइकन आइसिटी अवार्ड छन् ।

यसैगरी सरकारी तथा निजी संस्थाहरूलाई प्रदान गरिने अवार्डहरूमा डिजिटल एजुकेशन आइसिटी अवार्ड (पब्लिक सेक्टर), डिजिटल एजुकेशन आइसिटी अवार्ड (प्राइभेट सेक्टर), डिजिटल गभर्नेन्स आइसिटी अवार्ड (पब्लिक सेक्टर) र डिजिटल सर्भिसेस आइसिटी अवार्ड (प्राइभेट सेक्टर) रहेका छन् ।

\"\"

सन् २०१६ देखि शुरु भएको आइसिटी अवार्डमा विभिन्न विधामा गरेर अहिलेसम्म ५० भन्दा बढी व्यक्ति, संस्था, कम्पनी तथा प्रडक्टहरू सम्मानित भइसकेका छन् । अवार्डमा गतवर्षको ह्वावे आइसिटी अवार्ड २०२० मा ४०० सयभन्दा बढीको अनलाइन आवेदन प्राप्त भएको थियो ।

यस वर्ष अवार्डको छनौट प्रक्रियालाई अझ व्यवस्थित र निष्पक्ष बनाउन १२ भन्दा बढीको जुरी समूहद्वारा ३ महिनासम्म विभिन्न चरणमा विजेताको छनौट गरिनेछ ।

स्टार्टअप, प्रडक्ट, राइजिङ स्टार इन्नोभेसन विधामा ३ चरणको छनौट पश्चात् उत्कृष्ट ५ घोषणा गर्दै पब्लिक भोटिङ सञ्चालन गरिनेछ । अन्य विधाहरूमा पनि विभिन्न ४ चरणका भर्चुअल छनौट र फिल्ड भिजिट समेत सञ्चालन गरिनेछ ।

मंगलवार भर्चुअल प्रेस कन्फ्रेन्स आयोजना गर्दै आयोजकले विभिन्न ११ विधाको लागि नोमिनेशन खुल्ला गरेको हो । कन्फ्रेन्समा बोल्दै आयोजक समितिका संयोजक राजन लम्सालले हरेक वर्ष अवार्डलाई परिस्कृत गर्दै बृहत बनाउन लागि परेको बताए ।

उनले आइसिटी अवार्ड प्रविधि क्षेत्रमा सम्भावना र उत्कृष्टताको खोजी गर्ने अभियानको रुपमा अगाडी बढेको बताए । यसैगरी जुरी संयोजक शुशिल पोखरेल र प्रमुख जुरी संयोजक हेमपाल श्रेष्ठले आइसिटी अवार्ड लाई हरेक पक्षबाट स्तरिय र विश्वसनिय बनाउन लागिपर्ने धारणा व्यक्त गरे ।

प्रा.डा. शुवर्ण शाक्यले नेपालमा भएका अवार्डहरुमध्ये आइसिटी अवार्ड सबैभन्दा विश्वसनिय र निष्पक्ष रहेको बताए ।

भर्चुअल कार्यक्रममा बोल्दै्र पुर्वमन्त्री गणेश शाहले आइसिटी क्षेत्रलाई अझ फराकिलो बनाउदै लानुपर्ने र यसको लागि अवार्डले सार्थक बनाइरहेको बताए ।

\"\"

यसैगरी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव अनिल दत्तले आइसिटी अवार्डले नेपालको आइसिटी क्षेत्रलाई प्रवद्धन गरेर बताउदै उनले नीजि तथा सरकारी क्षेत्रको सहकार्यमा डिजिटल नेपालका अभियान सार्थक बनाउनुपर्ने बताए ।

कार्यक्रममा पूर्व सहसचिव विरेन्द्र मिश्र, प्रा.डा. शुवर्ण शाक्य, क्यान महासंघका प्रथम अध्यक्ष बिमल शर्मा, प्रथम पायोनियर आइसिटी अवाडए विजेता मुनी शाक्यलगायतले अवार्डको महत्वको बारेमा विचार राखेका थिए ।

अवार्ड विजेताहरूले विशिष्ट सम्मानसँगै विभिन्न सेवा र सुविधाहरू प्राप्त गर्नेछन् । विजेताले सहुलियतपूर्ण ऋण सुविधा र लगानीको अवसर समेत प्राप्त गर्नेछन् ।

आइसिटी अवार्ड २०२१ को कुन विधामा कसले दिने आवेदन ?

आइसिटी अवार्ड २०२१ मा नोमिनेशन गर्न आधिकारिक वेबसाइट www.ictaward.org मा गएर रजिस्ट्रेसनमा क्लिक गरी सम्बन्धित विधा (क्याटेगोरी) छनौट गरी आवश्यक अनलाइन फारम बुझाउनुपर्नेछ ।

१. स्टार्टअप आइसिटी अवार्ड

आइटी प्रडक्ट, सर्भिस तथा इन्नोभेसन क्षेत्रमा काम गरिरहेका कम्पनीहरूलाइ प्रवर्द्धन र प्रोत्साहन गर्ने यो अवार्डमा सहभागी हुन नेपालको प्रचलित कानून अनुसार कम्पनी दर्ता भएर सञ्चालनमा रहेको हुनुपर्नेछ ।

यस विधामा विगत ३ वर्षको अवधिमा दर्ता भएका कम्पनीहरूले आवेदन दिन सक्नेछन् । गतवर्ष यस विधामा क्रिप्टोजेन नेपाल प्रालि विजेता भएको थियो ।

२. प्रडक्ट आइसिटी अवार्ड

आइसिटी प्रडक्ट अवार्डमा कुनै नेपाली कम्पनी, संस्था, समूह  वा व्यक्तिले विकास गरेको आइटी तथा इन्नोभेटिभ प्रडक्टलाई नोमिनेशन दर्ता गराउन सकिनेछ ।

२०७७ वैशाखदेखि २०७८ चैत मसान्तसम्म सार्वजनिक भएका आइटी प्रडक्टहरूलाई लिएर यस विधामा नोमिनेशन दर्ता गर्न सकिन्छ । गतवर्ष सिपिएफडिएस एएमएल एण्ड केवाइसी म्यानेजमेन्ट सिस्टम विजेता भएको थियो ।

३. राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड

राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्डमा कलेज तथा विश्वविद्यालयका विद्यार्थीहरू तथा ३० वर्ष मुनिका युवाले तयार गरेका रिसर्च, इन्नोभेसन तथा प्रोजेक्टहरूलाई लिएर नोमिनेशन दर्ता गर्न सकिनेछ । यस विधामा गतवर्ष सेन्ट जेभियर कलेजका विद्यार्थीको ‘सन्चै छौ’ नामक प्रोजेक्टले अवार्ड प्राप्त गरेको थियो ।

४. पायोनियर आइसिटी अवार्ड

यो अवार्ड सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विशिष्ट योगदान दिएका अग्रज व्यक्तिलाइ प्रदान गरिन्छ । गतवर्ष नीलकण्ठ उप्रेती यस अवार्डबाट सम्मानित भएका थिए ।

५. नेपाली डायस्पोरा आइसिटी अवार्ड

नेपाली मूलका व्यक्ति, जो विदेशमा बसेर पनि देशको सूचना प्रविधिको क्षेत्रमा दिइरहेको योगदानलाई उच्च कदर गर्दै यो अवार्ड दिइनेछ । गतवर्ष अमेजनमा कार्यरत नेपाली गौरवराज उपाध्यायले अवार्ड प्राप्त गरेका थिए ।

\"\"

६. आन्टरप्रेनर आइसिटी अवार्ड

आन्टरप्रेनर आइसिटी अवार्ड सूचना प्रविधि क्षेत्रमा क्रियाशील नेपाली उद्यमीलाई दिइनेछ । गतवर्ष यस विधाबाट भायानेटका प्रबन्ध निर्देशक विनय बोहरा विजेता भएका थिए ।

७. वुमन आइकन आइसिटी अवार्ड

वुमन आइकन आइसिटी अवार्ड सूचना प्रविधि क्षेत्रमा क्रियाशील नेपाली महिलाहरूका लागि लक्षित छ । गतवर्ष प्रा. तिमिला यमी थापा यस विधाबाट सम्मानित भएकी थिइन ।

८. डिजिटल एजुकेशन आइसिटी अवार्ड (पल्लिक सेक्टर)

डिजिटल एजुकेशन आइसिटी अवार्ड शिक्षा क्षेत्रलाई डिजिटल तथा प्रविधिमैत्री बनाउन प्रोत्साहन गर्ने उद्देश्यले सरकारी तथा सामुदायिक शैक्षिक संस्थानलाई प्रदान गरिन्छ । गतवर्ष बूढानीलकण्ठ विद्यालयले यस विधाबाट अवार्ड प्राप्त गरेको थियो ।

९. डिजिटल एजुकेशन आइसिटी अवार्ड (प्राइभेट सेक्टर)

यस वर्ष निजी क्षेत्रका शैक्षिक संस्थाहरूलाई पनि प्रोत्साहन गर्ने उद्देश्यले डिजिटल एजुकेशन आइसिटी अवार्ड (प्राइवेट सेक्टर) विधा थपिएको छ । निजी स्कुल, कलेज तथा शैक्षिक संस्थाहरूले यस विधामा नोमिनेशन दर्ता गर्न सक्नेछन् ।

१०. डिजिटल गभर्नेन्स आइसिटी अवार्ड (पब्लिक सेक्टर)

यस विधामा सरकारी सेवा तथा सुविधालाई डिजिटलिकरण गर्दै नागरिकलाई प्रविधिमैत्री सेवा दिन सफल सरकारी सस्था, निकाय, विभाग वा पालिकाहरूले नोमिनेशन दर्ता गर्न सक्नेछन । गतवर्ष आन्तरिक राजस्व विभागले डिजिटल गभर्नेन्स आइसिटी अवार्ड प्राप्त गरेको थियो ।

११. डिजिटल सर्भिसेस आइसिटी अवार्ड (प्राइभेट सेक्टर)

यस विधामा निजी क्षेत्रका संस्था, लिमिटेड वा सर्वसाधारणलाई सेवा दिइरहेका कम्पनीहरूले नोमिनेशन दर्ता गर्न सक्नेछन् । यसै वर्ष थपिएको यस विधामा आइटी तथा सफ्टवेयर कम्पनीहरू बाहेक अन्य सेवामूलक निजी क्षेत्रका कम्पनीहरू यसमा सहभागी हुन सक्नेछन् ।

यसैगरी गतवर्ष कोभिड १९ लाई लक्षित विधा एनसेल इन्नोभेसन ड्रिभन क्राइसिस रेसपोन्स आइसिटी अवार्ड पाइला इमर्जेन्सी रेसुसिएटरले प्राप्त गरेको थियो । जुरी मेन्सन अवार्ड २०२० हाम्रो स्वास्थ्य र मिडिया पर्सन अवार्ड किरण आचार्यले प्राप्त गरेका थिए ।