कीवर्डहरू -

टेलिकमले भन्यो, ‘समस्या आए न्यूनतम समयमा सेवा सुचारु गर्न सधैं तत्पर छौं’

टेलिकमले भन्यो, ‘समस्या आए न्यूनतम समयमा सेवा सुचारु गर्न सधैं तत्पर छौं’

नेपाल टेलिकमको जीएसएम मोबाइल सेवामा आज बिहान ६ बजेदेखि आएको अप्रत्याशित समस्याका कारण सेवा अवरुद्ध भएको र जानकारी प्राप्त हुनासाथ समस्या समाधानका लागि कम्पनीले तत्काल श्रोत साधन परिचालन गरी बिहान ८:१५ बजे सिस्टमलाई सुचारु गर्न सफल भएको छ ।

सेवा अवरुद्ध हुनुको प्राविधिक कारण पत्ता लगाउने कार्यको समानान्तर रुपमा सो समस्या निराकरण गर्ने कार्यलाई प्राथमिकतामा राखी समस्याको विश्लेषण गर्दै काम अगाडि बढाइएकाले करिब २ घण्टामै सेवा सुचारु गर्न सकिएको हो ।

सो अवधिमा जिएसएम मोबाइलको टुजी, थ्रीजी र फोरजी प्रविधिको डाटा सेवामा समस्या देखिएको थिएन् । त्यस्तै  कम्पनीले हालै सञ्चालनमा ल्याएको भीओएलटिईमा समस्या नआएको र जीएसएम मोबाइलका केही फिचर फोनमा समस्या नदेखिएको जानकारी प्राप्त भएको बताएको छ ।

मुख्यतः स्मार्टफोन सेटहरुमा भ्वाइस सेवा अवरुद्ध हुन गएकोले समस्याको गहन विश्लेषण गर्ने कार्यलाई निरन्तरता दिइएको छ ।

कम्पनीका सेवाहरु अवरुद्ध हुन नदिन प्रिभेन्टिभ मेन्टिनेन्सका कार्यहरु गर्ने गरिएको भएतापनि समस्या आइहालेमा न्यूनतम समयमा सेवा सुचारु गर्न सधैं तत्पर रहेको कम्पनीले जनाएको छ ।

कुनैपनि उपकरण र प्रविधिमा यदाकदा समस्या आउन सक्ने वास्तविकता नकार्न नसकिने भए तापनि यस अप्रत्याशित समस्याका कारण कम्पनीको सेवामा आएको अवरोधबाट ग्राहकवर्गलाई पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी भएको कम्पनीले बताएको छ ।