कीवर्डहरू -

एक वर्षमा ५० लाख व्यक्ति जोडिए ब्रोडव्यान्ड इन्टरनेटमा 

एक वर्षमा ५० लाख व्यक्ति जोडिए ब्रोडव्यान्ड इन्टरनेटमा 

पछिल्लो एक वर्षदेखि मुलुक कोराना संक्रमणबाट गुज्रिरहेको छ । कोरोना संक्रमणले एकातिर उद्योग व्यवसाय, स्वास्थ्य क्षेत्रमा अप्ठारो पारेको छ भने डिजिटल साक्षरता र कारोबारमा भने यसले सहयोग गरेको देखिन्छ ।

कोरोना संक्रमण कै एक वर्षको अवधिमा मुलुकमा ब्रोडव्यान्ड इन्टरनेटमा जोडिने संख्यामा पनि ह्वात्तै बढेको छ । पछिल्लो सरकारी तथ्यांकलाई हेर्ने हो भने एक वर्षमा ब्रोडव्यान्ड इन्टरनेटमा जोडिने व्यक्तिको संख्या झन्डै ५० लाख पुगेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको चैत महिनाको एमआईएस रिपोर्टअनुसार मुलुकमा ब्रोडव्यान्ड इन्टरनेटको पहुँचमा हुने जनसंख्या ८८.९३ पुगेको छ । अर्थात यो संख्या भनेको २ करोड ६८ लाख ८२ हजार ७ सय २१ हो ।

गत वर्ष चैत महिना कै तथ्यांक हेर्ने हो भने ब्रोडव्यान्ड इन्टरनेटमा जोडिने जनसंख्या २ करोड १९ लाख १४ हजार ६८ अर्थात ७३.३५ प्रतिशत थियो ।

वर्षदिनमा ब्रोडव्यान्ड इन्टरनेटमा जोडिने संख्यालाई तुलना गर्दा एक वर्षको अवधिमा ४९ हजार ६८ लाख ६ सय ५३ थपिएका छन् । अर्थात एक वर्षमा १५.५८ प्रतिशतले ब्रोडव्यान्ड इन्टरनेटका उपभोक्ता वृद्धि भएका छन् ।

एक वर्षको अवधिमा मोबाइल ब्रोडव्यान्डमा धेरै प्रगति भएको छ भने त्यसपछि फिक्स्ड ब्रोडव्यान्ड (वायर)मा रहेको छ । वायरलेस फिक्सड ब्रोडव्यान्डमा भने खासै प्रगति भएको देखिदैन ।

एक वर्षको अवधिमा मोबाइल ब्रोडव्यान्ड १० प्रतिशतले वृद्धि भएको छ । गत वर्षको चैतमा मोबाइल ब्रोडव्यान्ड ५५.२९ रहेकोमा अहिले ६५.३९ प्रतिशत पुगेको छ ।

पछिल्लो समय विस्तार भएको फोरजीका कारण मोबाइल ब्रोडव्यान्ड इन्टरनेटको विस्तार धेरै भएको हो । जस्तो कि गत वर्षको चैतसम्म फोरजी चलाउनेको संख्या ४८ लाख २१ हजार ३ सय ४२ थियो भने अहिले ३० लाख ५० हजार २ सय १३ ले वृद्धि भएर ७८ लाख ७१ हजार ५ सय ५५ पुगेको छ ।

थ्रिजी चलाउनेको संख्या १ करोड १७ लाख ६० हजार पुगेको छ । यो गत वर्षभन्दा झन्डै  २ लाखले मात्र बढी हो । गत वर्ष थ्रिजी चलाउनेको संख्या १ करोड १५ लाख ६२ हजार रहेको थियो ।

त्यस्तै, एक वर्षमा फिक्स ब्रोडव्यान्डमा ५.४५ प्रतिशतले वृद्धि भएर २२.७८ प्रतिशत पुगेको छ । गत वर्षको चैतमा यस्तो इन्टरनेट १७.३३ प्रतिशत रहेको थियो ।

वायरलेस फिक्स्ड ब्रोडव्यान्ड भने गतवर्ष ०.७३ रहेको अहिले ०.७६ मा पुगेको छ ।