महानगरीय अपराध महाशाखाले युरोकप २०२० लगायतका फुटबल खेलहरुमा सट्टाबाजी गराएको आरोपमा काठमाडौंबाट ८ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा काठमाडौं सुकेधारा बस्ने ५७ वर्षीय राजेन्द्र श्रेष्ठ प्रधान, ढोकाटोल बस्ने ४७ वर्षीय जिवन लामा, पर्सा घर भई हाल कुलेश्वर बस्ने ४६ वर्षीय सुरज टिवडेवाल र चितवन घर भई हाल धापासी बस्ने ४५ वर्षीय गोबिन्द प्रसाद आचार्य रहेका छन् ।
त्यस्तै भारत बिहार घर भई हाल कुलेश्वर बस्ने ४६ वर्षीय अशोक कुमार गुप्ता, भारत हरियाना घर भई हाल इन्द्रचोक बस्ने ४९ वर्षीय राजेश कुमार अग्रवाल, भारत राजस्थान घर भई हाल क्षेत्रपाटी बस्ने ३३ वर्षीय सुचित डालमिया अग्रवाल र मोरङ घर भई हाल मरुटोल बस्ने ४६ वर्षीय अमरनाथ गुप्ता रहेका छन् ।
हाल युरोप र अमेरिकामा संचालन भईरहेको युरोकप-२०२० र कोपा अमेरिका कप फुटबल खेलमा अनलाइनमार्फत् बाजी राख्दा जितिन्छ भन्ने विश्वास दिलाई आफूले लाभ लिने उदेश्य राखी ठूलो रकमको बाजी राख्न लगाउनेलाई महाशाखाबाट खटिएको बिशेष प्रहरी टोलीले आज पक्राउ गरेको हो ।
काठमाडौंको इन्द्र चोक, मरुटोल, न्यूरोड, क्षेत्रपाटी, गौरीघाटलगायतका विभिन्न स्थानबाट अनलाइन ब्याटिङ गरि नगदी कारोबार समेत गरिरहेको अवस्थामा ३४ लाख ६५ हजार ५०५ नगद र सट्टाबाजीमा प्रयोग भएको ९ थान मोबाइलसहित उनीहरुलाई पक्राउ गरिएको महाशाखाका सूचना अधिकारी एसपी कृष्णप्रसाद कोइरालाले जनाकारी दिए ।
साथै त्यसरी विभिन्न स्थानबाट सट्टाबाजीमा प्रयोग भएको पैसा आइएमीबाट पठाइने र लिने गरि कारोबार गर्ने गरेको भन्ने प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।
पक्राउ परेका व्यक्तिहरुलाई मुलुकी अपराध संहिता २०७४ को दफा १२५ को उप दफा ४ बमोजिम कसुरमा सजाय हुने गरि आवश्यक कारवाहीको लागी महानगरीय प्रहरी परीसर काठमाडौं पठाइएको एसपी कोइरालाले बताए ।
 
                  
                  
               आईसीटी समाचार
                                      आईसीटी समाचार
                                   
                      
                      
                   
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                       
                       
                      