कीवर्डहरू -

५५ रूपैयाँमा २ जीबी डाटा दिदै नेपाल टेलिकम

५५ रूपैयाँमा २ जीबी डाटा दिदै नेपाल टेलिकम

नेपाल टेलिकमले ग्राहकहरुको सुविधालाई ध्यानमा राखी उपलब्ध गराइरहेको विभिन्न प्याकेज सहितको अफरलाई परिमार्जन गरी समर अफर अन्तर्गत थप सुविधा उपलब्ध गराएको छ । कम्पनीले पहिलेदेखि उपलब्ध गराइरहेको अधिकांश प्याकेजलाई निरन्तरता दिएको छ ।

नयाँ सुविधा अन्तर्गत अब प्रतिदिन रु. ५५ मा २ जीबी डाटा प्रयोग गर्न सकिने छ । त्यसैगरी लकडाउन अफरको रुपमा उपलब्ध प्रतिदिन बिहान ५ बजेदेखि बेलुकी ५ बजेसम्म रु. ३९ मा उपलब्ध हुने १ एमबीपीएस डे टाइम अनलिमिटेड अफरलाई निरन्तरता दिइएको छ । लकडाउन अफर अन्तर्गतको बोनस अन रिचार्ज अफरलाई भने हटाइएको छ ।

नेपाल टेलिकमले सञ्चालनमा ल्याएको भीओएलटीई सेवा प्रयोग गर्न चाहने ग्राहकका लागि एक पटकका लागि उपलब्ध हुने १०० मिनेट निःशुल्क भ्वाइस कल सुविधालाई यथावत राखिएको छ । उक्त सुविधा २८ दिनभित्र प्रयोग गर्न सकिन्छ ।

कम्पनीले उपलब्ध गराइरहेको कर्पोरेट युजर ग्रुप (सीयूजी) अफरलाई पनि थप आकर्षक बनाइएको छ । कम्पनीले पहिलेदेखि नै उपलब्ध गराइरहेको प्रिपेडतर्फ २०० र पोस्टपेडतर्फ ५०० रुपैयाँको प्याकेजमा उपलब्ध हुने डाटा भोल्युम थप गरिएको छ ।

अब प्रिपेडमा रु. २०० को प्याकेज अन्तर्गत सो ग्रुपमा पहिलेदेखि नै उपलब्ध अनलिमिटेड कल, १०० मिनेट अन नेट (नेपाल टेलिकमको नेटवर्कमा प्रयोग गर्न सकिने) र १० मिनेट अफ नेट (अन्य नेटवर्कमा समेत प्रयोग गर्न सकिने) भ्वाइस तथा ५० वटा अन नेट एसएमएस सुविधाका साथै जुनसुकै समय प्रयोग गर्न सकिने १ जीबी डाटासमेत उपलब्ध हुनेछ ।

त्यसैगरी सीयूजी ५०० पोस्टपेड अन्तर्गत पहिलेदेखि नै उपलब्ध अनलिमिटेड कल, ५०० मिनेट अन नेट र ५० मिनेट अफ नेट भ्वाइस तथा १०० वटा अन नेट एसएमएस र ३० वटा अफ नेट एसएमएस सुविधाका साथै जुनसुकै समय प्रयोग गर्न सकिने ५ जीबी डाटासमेत उपलब्ध हुनेछ ।

समर अफर अन्तर्गतका विभिन्न प्याकेज प्राप्त गर्नका लागि ग्राहकले *१४१५#  डायल गर्नुपर्ने छ । कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ । त्यसैगरी कम्पनीको वेबसाइटमार्फत यस सम्बन्धी विस्तृत जानकारी प्राप्त गर्न र सेवा खरिद गर्न सकिन्छ ।