बीमा समितिले नयाँ सर्भर र सफ्टवेयर सञ्चालनमा ल्याएको छ । शुक्रबार बिमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले एकै पटक नयाँ सर्भर र सफ्टवेयर इन्स्योरेन्स रेगुलेटरी म्यानेजमेन्ट इन्फर्मेसन सिस्टम (आईआरएमआईएस) को उद्घाटन गरेका हुन् ।
अध्यक्ष सिलवालले नयाँ सफ्टवेयर मार्फत अभिकर्ताको लाइसेन्स प्रिन्ट गरेर औपचारिक रुपमा उद्घाटन गरेका छन् । नयाँ सफ्टवेयर प्रयोग आएसँगै स्थापना भएको ५ दशकपछि बिमा समिति डिजिटाइजको बाटोमा अगाडि बढेको छ ।
बिमा समितिको आन्तरिक कामलाई डिजिटाइज गर्ने योजना अनुरूप नयाँ सफ्टवेयर निर्माण गरिएको बिमा समितिको सूचना प्रविधि विभाग प्रमुख मिलन राज नेपालीले बताए ।
सफ्टवेयर
‘नयाँ सफ्टवेयरबाट बिमा समितिको कागजी प्रक्रियालाई डिजिटल बनाउन आटेका छौं,’ उनले आइसिटी समाचारसँग कुरा गर्दै भने, ‘शाखा, महाशाखाहरु लगायतबाट हुने काम अब कागजबाट नभइ सफ्टवेयरबाट हुनेछन् ।’
उनका अनुसार बिमा कम्पनीले आफ्नो वित्तीय विवरण तथा दैनिक, मासिक, त्रैमासिक, वार्षिक रुपमा पेश गर्नुपर्ने प्रतिवेदन अनलाइनबाटै पेश गर्न सक्नेछन् । जसले गर्दा अब प्रतिबेदन बुझाउन बिमा समिति आउनुपर्ने झन्झट अन्त्य भएको छ ।
बिमा समितिको नयाँ सफ्टवेयर दर्शन टेक प्रालिले बनाएको हो । यस सफ्टवेयर मार्फत समितिको काम कारबाहीमा सहजता हुनुका साथै बीमकहरुबाट प्राप्त हुने तथ्याङ्क एवं सूचनाहरु व्यवस्थापनमा सहज हुने विश्वास गरिएको छ ।
सर्भर
बिमा समितिले आफ्नै सर्भर पनि निर्माण गरेको छ । उक्त सर्भरमा बिमकबाट आएका डेटाहरु स्टोर नेपालीले जानकारी दिए ।
साथै डाटा सुरक्षाका लागि राष्ट्रिय सूचना प्रविधि केन्द्रमा पनि ब्याकअप राखिने उनले बताए । विस्तारै आवश्यकता अनुसार थप सर्भर पनि थप्दै जाने योजना रहेको उनी बताउँछन् ।
आईसीटी समाचार