कीवर्डहरू -

आइसिटी अवार्ड २०२१ को कुन विधामा कसरी दिने आवेदन ? 

आइसिटी अवार्ड २०२१ को कुन विधामा कसरी दिने आवेदन ? 

सूचना तथा सञ्चार प्रविधि क्षेत्रको एक प्रतिष्ठित अवार्डको रूपमा स्थापित आइसिटी अवार्डको छैटौं संस्करणको अनलाइन नोमिनेशन (आवेदन) असार ८ गतेदेखि शुरु भएको छ ।

लिभिङ विथ आइसिटीको आयोजना र विभिन्न सरकारी तथा निजी संस्थाहरूको सहकार्यमा आयोजना हुने ‘आइसिटी अवार्ड २०२१’ को लागि विभिन्न ११ विधाहरूमा अवार्डको नोमिनेशन खुला गरिएको छ ।

आइसिटी अवार्ड २०२१ मा नोमिनेशन गर्न आधिकारिक वेबसाइट www.ictaward.org मा गएर रजिस्ट्रेसनमा क्लिक गरी सम्बन्धित विधा (क्याटेगोरी) छनौट गरी आवश्यक अनलाइन फारम बुझाउनुपर्नेछ ।

आइसिटी अवार्ड सूचना प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्ड हो जसले बिजेतालाइ ग्लोवल मार्केटमा चिनाउन राम्रो भूमिका खेलेको छ ।

सयौबाट अवार्ड प्राप्त गर्नु नै यो अवार्डको गौरब गर्न लायक पक्ष रहेको गतवर्ष स्टार्टअप अवार्ड जितेका क्रिप्टोजेनका बसन्त पाण्डेले बताए ।

स्टार्टअप, प्रडक्ट, इन्नोभेशन अवार्ड बिजेताले गत वर्ष २ प्रतिशत ब्याजमा रु १५ लाखसम्मको सहुलियतपूर्ण ऋण सुबिधा प्राप्त गरेका थिए ।

इन्नोभेशन विधामा बिजेतालाइ एनसेलले ३ लाख नगद पुरस्कार पनि प्रदान गरेको थियो । अन्य विधामा पनि नेपाल टेलिकम, इसेवा, हुवावे, जेनस सोलुसनले विभिन्न पुरस्कार प्रदान गरेका थिए । यस वर्ष अझ पुरस्कार र सहुलियत ऋण सुबिधा बढ्ने आयोजकले जनाएको छ ।

स्टार्टअप आइसिटी अवार्ड

आइटी प्रडक्ट, सर्भिस तथा इन्नोभेसन क्षेत्रमा काम गरिरहेका कम्पनीहरूलाइ प्रवद्र्धन र प्रोत्साहन गर्ने यो अवार्डमा सहभागी हुन नेपालको प्रचलित कानून अनुसार कम्पनी दर्ता भएर सञ्चालनमा रहेको हुनुपर्नेछ ।

यस विधामा विगत ३ वर्षको अवधिमा दर्ता भएका कम्पनीहरूले आवेदन दिन सक्नेछन् । गतवर्ष यस विधामा क्रिप्टोजेन नेपाल प्रा.लि विजेता भएको थियो ।

प्रडक्ट आइसिटी अवार्ड

आइसिटी प्रडक्ट अवार्डमा कुनै नेपाली कम्पनी, संस्था, समूह  वा व्यक्तिले विकास गरेको आइटी तथा इन्नोभेटिभ प्रडक्टलाई नोमिनेशन दर्ता गराउन सकिनेछ ।

२०७७ वैशाखदेखि २०७८ चैत मसान्तसम्म सार्वजनिक भएका आइटी प्रडक्टहरूलाई लिएर यस विधामा नोमिनेशन दर्ता गर्न सकिन्छ । गतवर्ष सिपिएफडिएस एएमएल एण्ड केवाइसी म्यानेजमेन्ट सिस्टम विजेता भएको थियो ।

राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड

राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्डमा कलेज तथा विश्वविद्यालयका विद्यार्थीहरू तथा ३० वर्ष मुनिका युवाले तयार गरेका रिसर्च, इन्नोभेसन तथा प्रोजेक्टहरूलाई लिएर नोमिनेशन दर्ता गर्न सकिनेछ ।

यस विधामा गतवर्ष सेन्ट जेभियर कलेजका विद्यार्थीको ‘सन्चै छौ’ नामक प्रोजेक्टले अवार्ड प्राप्त गरेको थियो ।

पायोनियर आइसिटी अवार्ड

यो अवार्ड सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विशिष्ट योगदान दिएका अग्रज व्यक्तिलाइ प्रदान गरिन्छ । गतवर्ष नीलकण्ठ उप्रेती यस अवार्डबाट सम्मानित भएका थिए ।

नेपाली डायस्पोरा आइसिटी अवार्ड

नेपाली मूलका व्यक्ति, जो विदेशमा बसेर पनि देशको सूचना प्रविधिको क्षेत्रमा दिइरहेको योगदानलाई उच्च कदर गर्दै यो अवार्ड दिइनेछ । गतवर्ष अमेजनमा कार्यरत नेपाली गौरवराज उपाध्यायले अवार्ड प्राप्त गरेका थिए ।

आन्टरप्रेनर आइसिटी अवार्ड

आन्टरप्रेनर आइसिटी अवार्ड सूचना प्रविधि क्षेत्रमा क्रियाशील नेपाली उद्यमीलाई दिइनेछ । गतवर्ष यस विधाबाट भायानेटका प्रबन्ध निर्देशक विनय बोहरा विजेता भएका थिए ।

वुमन आइकन आइसिटी अवार्ड

वुमन आइकन आइसिटी अवार्ड सूचना प्रविधि क्षेत्रमा क्रियाशील नेपाली महिलाहरूका लागि लक्षित छ । गतवर्ष प्रा. तिमिला यमी थापा यस विधाबाट सम्मानित भएका थिए ।

डिजिटल एजुकेशन आइसिटी अवार्ड (पब्लिक सेक्टर)

डिजिटल एजुकेशन आइसिटी अवार्ड शिक्षा क्षेत्रलाई डिजिटल तथा प्रविधिमैत्री बनाउन प्रोत्साहन गर्ने उद्देश्यले सरकारी तथा सामुदायिक शैक्षिक संस्थानलाई प्रदान गरिन्छ । गतवर्ष बूढानीलकण्ठ विद्यालयले यस विधाबाट अवार्ड प्राप्त गरेको थियो ।

डिजिटल एजुकेशन आइसिटी अवार्ड (प्राइभेट सेक्टर)

यस वर्ष निजी क्षेत्रका शैक्षिक संस्थाहरूलाई पनि प्रोत्साहन गर्ने उद्देश्यले डिजिटल एजुकेशन आइसिटी अवार्ड (प्राइवेट सेक्टर) विधा थपिएको छ ।

निजी स्कुल, कलेज तथा शैक्षिक संस्थाहरूले यस विधामा नोमिनेशन दर्ता गर्न सक्नेछन् ।

डिजिटल गभर्नेन्स आइसिटी अवार्ड (पब्लिक सेक्टर)

यस विधामा सरकारी सेवा तथा सुविधालाई डिजिटलिकरण गर्र्दै नागरिकलाई प्रविधिमैत्री सेवा दिन सफल सरकारी सस्था, निकाय, विभाग वा पालिकाहरूले नोमिनेशन दर्ता गर्न सक्नेछन । गतवर्ष आन्तरिक राजस्व विभागले डिजिटल गभर्नेन्स आइसिटी अवार्ड प्राप्त गरेको थियो ।

डिजिटल सर्भिसेस आइसिटी अवार्ड (प्राइभेट सेक्टर)

यस विधामा निजी क्षेत्रका संस्था, लिमिटेड वा सर्वसाधारणलाई सेवा दिइरहेका कम्पनीहरूले नोमिनेशन दर्ता गर्न सक्नेछन् ।

यसै वर्ष थपिएको यस विधामा आइटी तथा सफ्टवेयर कम्पनीहरू बाहेक अन्य सेवामूलक निजी क्षेत्रका कम्पनीहरू यसमा सहभागी हुन सक्नेछन् ।

यसैगरी गतवर्ष कोभिड १९ लाई लक्षित विधा एनसेल इन्नोभेसन ड्रिभन क्राइसिस रेसपोन्स आइसिटी अवार्ड पाइला इमर्जेन्सी रेससिएटरले प्राप्त गरेको थियो ।

जुरी मेन्शन अवार्ड २०२० हाम्रो स्वास्थ्य र मिडिया पर्सन अवार्ड किरण आचार्यले प्राप्त गरेका थिए ।