काठमाडौं । प्राविधिक समस्याका कारण आइतबार करिब डेढ घण्टा अवरुद्ध भएका सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम दिउँसो करिब ३:२० बजेदेखि पुन: सञ्चालनमा आएका छन् । समस्याका कारण विश्वभरका लाखौँ प्रयोगकर्ता प्रभावित भएका थिए ।
विशेष गरी डेस्कटप ब्राउजरमार्फत फेसबुक र इन्स्टाग्राम प्रयोग गर्नेहरूले सेवा नखुलेको गुनासो गरेका थिए । नेपालमा पनि आइतबार दिउँसो करिब १:३० बजेदेखि दुवै प्लेटफर्ममा समस्या देखिएको थियो ।
मोबाइल एपमा अधिकांश प्रयोगकर्ताले सामान्य रूपमा सेवा प्रयोग गर्न सके पनि डेस्कटप ब्राउजरबाट लगइन गर्न कठिनाइ भएको थियो । दिउँसो ३ बजेपछि सेवा विस्तारै सामान्य बन्दै गएको र केही समयमै दुवै सामाजिक सञ्जाल पूर्ण रूपमा सञ्चालनमा फर्किएका हुन् ।
अनलाइन सेवाको अवस्था निगरानी गर्ने पोर्टल डाउनडिटेक्टरका अनुसार रिपोर्ट गरिएका समस्यामध्ये ६३ प्रतिशत वेबसाइटसँग सम्बन्धित थिए । यस्तै, २० प्रतिशत समस्या मोबाइल उपकरणमा र १० प्रतिशत एपमार्फत सेवा प्रयोग गर्दा देखिएको थियो ।
आईसीटी समाचार