कीवर्डहरू -

अनलाइनबाटै बागमति प्रदेशका सवारीसाधनको कर तिर्न सकिने, कार्यालय जानुपर्ने बाध्यताको अन्त्य 

अनलाइनबाटै बागमति प्रदेशका सवारीसाधनको कर तिर्न सकिने, कार्यालय जानुपर्ने बाध्यताको अन्त्य 

बागमति प्रदेशभित्र दर्ता भएका सवारीसा धनको कर तिर्ने तथा नवीकरण गर्ने काम अनलाइनबाटै गर्न सकिने भएको छ । केही समय अगाडि नै शुरू गर्ने तयारी भएपनि प्राविधिक समस्याका कारण उक्त अनलाइनसेवा शुक्रबारदेखि शुरू भएको हो ।

शुक्रबार आयोजित एक कार्यक्रममा उक्त अनलाइन सेवाको उद्घाटन बागमति प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले गरेका हुन् ।

बागमति प्रदेशभित्र दर्ता भएका सवारीसाधनको कर तिर्ने तथा नवीकरण गर्ने काम अनलाइनबाटै गर्न सकिने बागमति प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका सूचना अधिकारी राजन पोखरेल बताए ।

अन्य प्रदेशमा दर्ता भएका तर बागमति प्रदेशबाट कर तिरेका र नवीकरण गरेका सवारीसाधनले पनि अनलाइनबाटै कर तिर्ने र नवीकरण गर्न सक्नेछन् ।

भौतिक पूर्वाधार विकास मन्त्रालयको वेबसाइट यातायात व्यवस्था सूचना प्रणाली (टिएमआइएस) र नागरिक एपबाट सवारी साधनको कर तिर्ने तथा नवीकरण गर्ने व्यवस्था मिलाएको छ ।

अनलाइनबाट सवारी कर भुक्तानी गरेपछि एक पटकको लागि भने करदाता यातायात कार्यालय पुग्नु पर्नेछ । कर तिर्दा आफुले छनोट गरेको कार्यालयमा जानुपर्ने उनले जानकारी दिए ।

\"\" अनलाइन भुक्तानी सम्बन्धी कार्यविधिअनुसार करको रकम अनलाइनबाट भुक्तानी गर्न सकिनेछ र उक्त बिल बुकको अद्यावधि, भेरिफाइ गर्नको लागि एक महिनाभित्र यातायाता कार्यलय पुग्नु पर्नेछ  । एक पटक भेरिफाइ गरिसकेपछि भने अर्को वर्षदेखि यातायात कार्यालय पुग्नुपर्ने छैन ।

‘पहिलो वर्ष अनलाइनबाटै कर तिरेपनि कार्यालय जानुपर्छ,’ उनले भने, ‘सवारीको अभिलेख कम्प्युटरमा अद्यावधिक नभएसम्म जानुपर्‍यो । एकपटक गएर अद्यावधिक गरेपछि अर्को वर्षदेखि अद्यावधिक गर्न जानु परेन ।’

अहिलेलाई कनेक्ट आईपीएसबाट कर तिर्न र नवीकरण गर्न सकिने छ । अन्य सेवा प्रदायक तथा बैंकहरु पनि थप गर्दै जाने योजना रहेको छ ।

भुक्तानी गरेपछि त्यहाँ क्युआर कोडसहितको रसिद डाउनलोड गर्न सकिन्छ । जुन कोड स्क्यान गरेर ट्राफिक प्रहरीले नवीकरण, कर लगायत सवारीसाधनको सबै विवरण हेर्न सक्ने छन् ।

स्क्यानको लागि ट्राफिक एप समेत विकास गरिएको छ । यसले गर्दा ब्लुबुक बोकेर हिड्ने समस्या समेत हट्ने छ ।

\"\"

अनलाइन प्रणाली शुरू भएसँगै सवारीसाधनको कर तिर्न तथा नवीकरण गर्न कार्यालयमा लामो लाइन लाग्नुपर्ने बाध्यताको अन्त्य हुने पोखरेलले बताए । ‘सेवाग्राहीलाई पनि सजह हुन्छ । हामीलाई कार्यालय व्यवस्थापन गर्न पनि सहज हुन्छ,’ उनले भने ।

अहिले अनलाइनबाटै भुक्ताती गर्न सकिने सेवा उपलब्ध भएपनि भविष्यमा सवारीसाधन नामसारी गर्ने, दर्ताका लागि आवेदन दिन सकिने बनाउने योजना रहेको उनले सुनाए । ढड्डा बोकेर कार्यालय जानुपर्ने बाध्यतालाई अन्त्य गर्दै यातायात कार्यालयलाई प्रविधिमैत्री बनाउने सोच रहेको उनी बताउँछन् ।