कीवर्डहरू -

तीन साथीको मिहिनेतले बनाएको प्रोग्रामिज, जसले निःशुल्क सिकाउँछ कम्प्युटर प्रोग्रामिङ

तीन साथीको मिहिनेतले बनाएको प्रोग्रामिज, जसले निःशुल्क सिकाउँछ कम्प्युटर प्रोग्रामिङ
फोटोमा प्रोग्रामिजका सह-संस्थापकत्रयः बायाँबाट क्रमशः पुनित जाजोदिया, रञ्जित भट्ट र अस्विन श्रेष्ठ

कम्प्युटर प्रोग्रामिङमा औधी रुची भएका काठमाडौंका रन्जित भट्ट एक दशकअघि एउटा सपना थियो, यही क्षेत्रमा स्थापित भएर केही गर्ने ।

मान्छेको स्पष्ट लक्ष्य र मिहिनेत हुने हो भने चाहेको कुरा गरिछाड्छ । रन्जितमा पनि यही कुरा लागु हुन्छ । आफ्नो रुचीलाई व्यवसायमा परिणत गर्दै कडा मिहिनेत गरे ।

एक दशकअघि काठमाडौंमा कम्प्युटर प्रोग्रामिङ पढ्ने विद्यार्थीको संख्या बढ्दै थियो, त्यही बेला उनले सुरु गरे एउटा ब्लग प्रोग्रामिज डट कम । जसबाट कप्युटर प्रोग्राम सिकाउने उनको लक्ष्य थियो ।

सन् २०११ मा ब्लगबाट सुरु भएको प्रोग्रामिज डटकम आज एक चर्चित कम्प्युटर प्रोग्रामिङ कम्पनीमात्र बनेको छैन यो संसारभरबाट निशुल्क प्रोग्राम सिक्ने उपयुक्त थलो बनेको छ । जहाँबाट कैयन कम्प्युटर प्रोग्राम सिक्न सकिन्छ ।

यहाँसम्म आइपुग्न उनलाई त्यत्ति सजिलो भने थिएन् । विभिन्न समस्या र असफलतासमेत भोग्नु पर्यो । साथीहरु जोडिदै गए र नयाँ कामहरु थपिदै गए ।

प्रोग्रामिज शुरू गरेको ३ वर्षपछि सन् २०१४ मा भट्टले आफ्ना दुई साथी अश्विन श्रेष्ठ र पुनित जाजोदियासँग मिलेर परेवा ल्याब कम्पनी स्थापना गरे । जसले अधुरो डटकम ब्लग पनि सुरु गरेको थियो ।

अधुरो डटकम सोच जस्तो हुनसकेन । अधुरोको काम अधुरो नै भयो । त्यसलाई बन्द गर्नुको विकल्प रहेन । अधुरोलाई बन्द गरेर उनीहरुले सन् २०१६ देखि प्रोग्रामिज डटकममै केन्द्रित भए ।

यता कामसँगै उनीहरुको पढाई पनि निरन्तर चलिरहेको थियो । रञ्जितले सन् २०१७ मा पुल्चोकबाट इलेक्ट्रोनिक्स इन्जिनियरिङ उत्तिण गरे । उनका साथी अश्विन र पुनितले भारतको एनआईटी क्रुकक्षेत्रबाट त्यही वर्ष कम्प्युटर इन्जिनियरिङ गरे ।

पढाई सकिएसँगै काममा अझ धेरै समय दिए पाए । प्रोग्रामिज डटकमलाई अझ राम्रो कसरी बनाउने भनेर लागिपरे । ब्लगबाट सुरु भएको प्रोग्रामिज डटकमलाई परेवा ल्याबअन्तर्गत व्यवसायीक रूपमा अगाडि बढाउने निधो गरे।

आज प्रोग्रामिज डटकमबाट निःशुल्क प्रोग्रामिङ सिक्न एक उपयुक्त ठाउँ बनेको छ । यसबाट विभिन्न कम्प्युटर प्रोग्राम निशुल्क सिक्न सकिने प्रोग्रामिजका कन्टेन्ट हेड सुदिप भण्डारी बताउँछन् । ‘प्रोग्रामिज डटकममा अहिले २०० बढी देशबाट मासिक १ करोड ५० लाख बढी भ्युज आउँछ,’ उनी भन्छन् ।

वेबसाइटबाट अहिले पाइथन, जाभास्क्रिप्ट, सी, सी प्लस, जाभा, कोटलिन, स्विप्ट र सी सार्प प्रोग्रामिङ सिक्न सकिन्छ । यसमा विभिन्न प्रोग्रामिङका उदाहरणहरु पनि राखिएको छ ।

प्रोग्रामिङजले एक वर्षदेखि युट्युब च्यानल पनि चलाइरेको छ । साथै, प्रोग्रामिजले पाइथन, सी र जाभाको मोबाइल एप समेत विकास गरेको छ । जुन एप एन्ड्रोइड र आईओएसमा उपलब्ध रहेको छ ।

मोबाइल एपमा धेरै फिचर निःशुल्क भएपनि केही फिचर प्रयोग गर्न भने शुल्क तिर्नुपर्छ । जसको शुल्क प्रतिमहिना २ डलर तोकिएको छ ।

यी बाहेक अन्य प्रोग्रामिङका मोबाइल एप पनि ल्याउने कम्पनीको योजना छ । नेपाली विद्यार्थीलाई लक्षित गरी कोर्षहरु ल्याउने तयारी प्रोग्रामिजको छ ।

गूगल प्लेस्टोरबाट पाइथन प्रोग्रामिङ र सी प्रोग्रामिङको एप १ लाख बढी डाउनलोड भएको छ भने जाभाको एप १० हजार बढी डाउनलोड भएको छ ।

सबै प्रोग्रामिङका लागि छुट्टाछुट्टै एपभन्दा पनि एउटै वेबसाइटबाट सबै प्रोग्रामिङको सेवा दिने गरी कम्पनीले काम गरिरहेको उनले बताए ।

‘अहिले सबै प्रोग्रामिङका लागि छुट्टाछुटै छ । पाइथन पढ्नेले पाइथन डाउनलोड गर्नुपर्‍यो । जाभा पढ्नेले जाभा । त्यो कुरालाई एउटै वेबसाइट ल्याउने हाम्रो योजना छ,’ उनले आइसिटी समाचारसँग भने, ‘अब हामी एउटै प्लेटफर्म बनाउँदै छौं, जहाँ एक पटक पैसा तिरेपछि सधैभरी प्रयोग गर्न सकिने छ ।’

अहिले कम्पनीले यसमा काम गरिरहेको छ । सन् २०२१ को अन्त्यसम्ममा सार्वजनिक गर्ने उनीहरुको तयारी छ । प्रोग्रामिजमा अहिले भारत, अमेरिका, बेलायत, जर्मनी र नेपालबाट धेरै भिजिट आइरहेको उनी बताउँछन् ।

नेपाली पेमेन्ट गेटवेसँग सहकार्य गरेर पैसा तिर्ने व्यवस्था गर्ने तयारी भइरहेको छ । विदेशबाट भने पेपाल, मास्टरकार्ड तथा क्रेडिट कार्डबाट पैसा तिर्न सकिन्छ । गूगल एड र एप सब्सक्रिप्सनब प्रोग्रामिजको आम्दानी गर्ने स्रोत हो ।