कीवर्डहरू -

अनलाइनबाट परीक्षा सञ्चालनको माग गर्दै विज्ञान तथा प्रविधि संस्थानको डीन कार्यालयमा ताला

अनलाइनबाट परीक्षा सञ्चालनको माग गर्दै विज्ञान तथा प्रविधि संस्थानको डीन कार्यालयमा ताला

कम्प्युटर विज्ञान तथा सूचना प्रविधि (सीएसआईटी) एशोसिएसन अफ नेपालले अनलाइनबाट परीक्षा सञ्चालनको माग गर्दै विज्ञान तथा प्रविधि अध्ययन संस्थानको डीन कार्यालयमा ताला लगाएको छ ।

वैकल्पिक विधिबाट परीक्षा सञ्चालन गर्नुपर्ने माग राख्दै बुधबार सीएसआईटी एशोसिएसन अफ नेपालले त्रिभुवन विश्वविद्यालयको विज्ञान तथा प्रविधि अध्ययन संस्थानको डीनको कार्यकक्षमा ताला लगाएको हो ।

अनलाइन परीक्षाको माग गर्दै डीनको कार्यकक्षमा तालाबन्दी गरेको सीएसआईटीका महासचिव आशिष गिरीले बताए । यो एउटा सांकेतिक विरोध भएको उनले बताए ।

केही दिन अगाडि संस्थानले अनलाइनबाट परीक्षा गराउन तयार रहेको बताएको थियो । तर अनलाइनबाट परीक्षा गराउन संस्थान तत्काल तयार नभएपछि डीन कार्यालयमा ताला लगाएको गिरीले जानकारी दिए ।

गिरीका अनुसार विद्यार्थीहरु पनि अनलाइनबाट परीक्षा दिन तयार थिए । माग सम्बोधन नभए आफुहरूले थप रचानात्मक आन्दोलन गर्ने उनले बताए ।

सीएआईटी एशोसिएसन नेपालले यसअघि त्रिभुवन विश्वविद्यालयका रेक्टर, रजिष्टार र उपकुलपति कार्यालयमा वैकल्पिक विधिबाट परीक्षा सञ्चालनको माग राखेको थियो भने प्रधानमन्त्री शेर बहादुर देउवालाई पनि वैकल्पिक विधिबाट परीक्षा सञ्चालनका लागि तत्काल कदम चाल्न ध्यानाकर्षण गराएको थियो ।