कीवर्डहरू -

पोखरा विश्वविद्यालय स्थापना दिवसमा श्रमिक शान्ति क्याम्पसमा एआई र साइबर सुरक्षाबारे विशेष कार्यशाला

पोखरा विश्वविद्यालय स्थापना दिवसमा श्रमिक शान्ति क्याम्पसमा एआई र साइबर सुरक्षाबारे विशेष कार्यशाला

काठमाडौं । पोखरा विश्वविद्यालयको स्थापना दिवसको अवसरमा श्रमिक शान्ति क्याम्पसले विद्यार्थीहरूलाई लक्षित गर्दै आर्टिफिसियल इन्टेलिजेन्स (एआई), साइबर सुरक्षा र यसको सामाजिक प्रभावबारे विशेष कार्यशाला आयोजना गरेको छ ।

टेकपाइला इनोभेसन्स (TechPaaila Innovations) र साइबर सुरक्षा कम्पनी वान कभर प्राइभेट लिमिटेड (One Cover Private Limited) को सहकार्यमा सम्पन्न कार्यशालामा डिजिटल प्रविधिको विकास, साइबर सुरक्षा चुनौती र नेपालको एआई भविष्यबारे विस्तृत छलफल गरिएको थियो ।

कार्यक्रमको अध्यक्षता क्याम्पसका कार्यक्रम संयोजक फूलबाबु झाले गर्नुभएको थियो । उहाँले विद्यार्थीलाई उद्योगसँग जोडिएको व्यवहारिक ज्ञान उपलब्ध गराउन क्याम्पसले निरन्तर यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि पोखरा विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकायका डिन तथा पूर्व रजिस्ट्रार अजय कुमार थापाले विश्वविद्यालयको स्थापना, विकास यात्रा र यसको शैक्षिक दृष्टिकोणबारे चर्चा गर्नुभयो । उहाँले प्रविधिमैत्री दक्ष जनशक्ति उत्पादनमार्फत शैक्षिक संस्थाले राष्ट्र निर्माणमा महत्वपूर्ण योगदान दिन सक्ने धारणा राख्नुभयो ।

कार्यक्रमका मुख्य वक्ता क्यान महासंघका कार्यवाहक अध्यक्ष तथा टेकपाइला इनोभेसन्सका एसोसिएट डाइरेक्टर चिरञ्जीवी अधिकारीले ‘सार्वभौम एआई’ (Sovereign AI) को अवधारणाबारे प्रस्तुति दिनुभयो । उहाँले नेपालले विदेशी प्रविधिमा मात्र निर्भर नभई आफ्नै एआई प्रणाली, डाटा पूर्वाधार र डिजिटल क्षमता विकास गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

डिन थापाले अधिकारीको प्रस्तुतिको प्रशंसा गर्दै एआई र साइबर सुरक्षामा ‘स्किल्स–फर्स्ट’ अवधारणालाई प्राथमिकता दिन सके नेपालको डिजिटल सुरक्षालाई थप मजबुत बनाउन सकिने बताउनुभयो ।

कार्यक्रममा श्रमिक शान्ति क्याम्पसका पूर्व अध्यक्ष हरिकृष्ण बञ्जाङ्करको पनि उपस्थिति रहेको थियो । उहाँले संस्थाको विकास र आधुनिक शिक्षालाई प्रवर्द्धन गर्ने अभियानमा निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रमको अर्को आकर्षणका रूपमा एथिकल ह्याकर स्वागत अर्याल र प्रलिन बारामुले लाइभ फिसिङ डेमो प्रस्तुत गरेका थिए । उनीहरूले सामाजिक इन्जिनियरिङमार्फत हुने साइबर आक्रमणका तरिका तथा त्यस्ता जोखिम पहिचान र नियन्त्रणमा एआईको प्रयोगबारे व्यवहारिक जानकारी दिएका थिए ।

विद्यार्थीहरूको सहभागिता बढाउन कार्यक्रमको अन्त्यतिर साइबर सुरक्षा र प्रविधिसम्बन्धी अन्तर्क्रियात्मक प्राविधिक हाजिरीजवाफ (क्विज) प्रतियोगिता पनि सञ्चालन गरिएको थियो ।

समापन समारोहमा कार्यक्रम संयोजक फूलबाबु झाले सहयोगी संस्थाप्रति आभार व्यक्त गर्दै आगामी दिनमा विद्यार्थीलाई इन्टर्नसिप, मेन्टरसिप र उन्नत तालिम उपलब्ध गराउने उद्देश्यले टेकपाइला इनोभेसन्स र वान कभर प्राइभेट लिमिटेडसँग औपचारिक साझेदारी (एमओयू) गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।