काठमाडौं । विद्यालय शिक्षाको मूल्याङ्कन प्रणालीलाई देशभर एउटै मापदण्डमा सञ्चालन गर्ने उद्देश्यसहित सरकारले लेटर ग्रेडिङसम्बन्धी नयाँ निर्देशिका लागू गरेको छ । शिक्षा मन्त्रालयले जारी गरेको निर्देशिकाले विद्यार्थीको मूल्याङ्कन, परीक्षा सञ्चालन तथा विद्यालयको समय व्यवस्थापनमा नयाँ व्यवस्था गरेको हो ।
मन्त्रालयका अनुसार नयाँ निर्देशिका ल्याउनुको उद्देश्य विद्यालयहरूमा फरक–फरक रूपमा अपनाइँदै आएको मूल्याङ्कन प्रणालीलाई एकरूप बनाउनुका साथै परीक्षाका कारण विद्यार्थीमा देखिने मानसिक दबाब र त्रासलाई कम गर्नु हो ।
यसअघि कक्षा ९ सम्मका विद्यार्थीको ग्रेडिङ सम्बन्धित विद्यालयले आफ्नै मापदण्डअनुसार गर्दै आएका थिए भने कक्षा १० र १२ मा राष्ट्रिय परीक्षा बोर्डको ग्रेडिङ प्रणाली लागू थियो । अब भने विद्यालय तहका सबै कक्षामा एउटै लेटर ग्रेडिङ प्रणाली कार्यान्वयन गरिनेछ ।
निर्देशिकाअनुसार परीक्षामा सहभागी हुन विद्यार्थीको कम्तीमा ७५ प्रतिशत हाजिरी अनिवार्य गरिएको छ । साथै, विद्यार्थीको उपलब्धिलाई ३५ देखि १०० अंकको आधारमा आठ तहका ग्रेडमा वर्गीकरण गर्ने व्यवस्था गरिएको छ ।
नयाँ व्यवस्थाले कक्षा ५ सम्मका विद्यार्थीको मूल्याङ्कनमा पनि परिवर्तन गरेको छ । अब यस तहमा परम्परागत लिखित परीक्षाका आधारमा मूल्याङ्कन गर्ने व्यवस्था हटाइएको छ । यसको सट्टा निरन्तर सिकाइ, कक्षाको सहभागिता तथा अन्य वैकल्पिक मूल्याङ्कन विधिलाई प्राथमिकता दिइनेछ ।
त्यसैगरी, विद्यालयको पठनपाठन व्यवस्थापनमा पनि नयाँ मापदण्ड लागू गरिएको छ । अब विद्यालय तहमा एक घण्टीको अवधि ६० मिनेट हुने व्यवस्था गरिएको छ । यद्यपि विद्यालयले तोकिएको वार्षिक कार्य घण्टा पूरा हुने गरी आफ्नो आवश्यकता अनुसार समय तालिका व्यवस्थापन गर्न सक्नेछन् ।
निर्देशिकामा नियमित कक्षाबाहेक अतिरिक्त सिकाइसम्बन्धी गतिविधिलाई पनि वार्षिक कार्य घण्टामा समावेश गर्न सकिने व्यवस्था गरिएको छ । मन्त्रालयले यस व्यवस्थाले सिकाइलाई थप व्यावहारिक, व्यवस्थित र विद्यार्थीमैत्री बनाउन सहयोग पुग्ने अपेक्षा गरेको छ ।
आईसीटी समाचार