कीवर्डहरू -

अर्घाखाँची अस्पतालमा सुरु भयो अक्सिजन उत्पादन, अन्य जिल्लामा पनि सुरु हुदै (भिडिओ)

अर्घाखाँची अस्पतालमा सुरु भयो अक्सिजन उत्पादन, अन्य जिल्लामा पनि सुरु हुदै (भिडिओ)

पहाडी जिल्ला अर्घाखाँचीको जिल्ला अस्पतालमा पहिलो पटक अक्सिजन प्लान्ट स्थापना भएर मंगलबारदेखि उत्पादन सुरु भएको छ । अर्घाखाँची अस्पतालमा उपचार गर्ने बिरामीलाई आवश्यक पर्ने अक्सिजन भर्न बुटबलसम्म पुग्नु पर्ने बाध्यता थियो । यसले एकातिर विरामीले समयमै उपचार पाउन सक्दैनथे भने लागत खर्च पनि धेरै हुन्थ्यो ।

कोरोना संक्रमणले अर्घाखाँची अस्पतालको यो बाध्यतालाई फेरिदिएको छ । मंगलबारदेखि अस्पतालमै अस्सिजन प्लान्ट स्थापना भएर उत्पादनसमेत सुरु भइसकेको छ ।

अस्पताल मै प्लान्ट स्थापना भएपछि एउटा सिलिन्डर अक्सिजन भर्न बुटबल झर्नुपर्ने बाध्यताको अत्य भएको छ । अर्घाखाँचीमा मात्र नभएर यस्तै किसिमका अक्सिजन प्लान्ट गुल्मी, प्युठानलगायतका पहाडी जिल्लाहरुमा पनि सुरु हुन लागेको  अर्घाखाँची जिल्लाका सहायक प्रमुख जिल्ला अघिकारी विनोद खनालले बताए ।

‘कोरोना संक्रमण उच्च अवस्थामा पुगेको बेला संघीय सरकारको स्वास्थ्य मन्त्रालयबाट अक्सिजन प्लान्ट स्थापनाको लागि बजेट विनियोजन भएको थियो,’ आइसिटी समाचासँग कुरा गर्दै खनालले भने, ‘अर्घाखाँचीले अरु जिल्लाले भन्दा छिटो स्थापना गरेर संचालनमा ल्याएको छ ।’

मंगलबार अर्घाखाँची अस्पतालमा अक्सिजन प्लान्टको परीक्षण भएर उत्पादन सुरु भइसकेको छ । यस प्लान्टमा हरेक दिन ७० सिलिन्डर भर्ने क्षमता रहेको अर्घाखाँची अस्पतालका डाक्टर कपिल गौतमले बताए ।

यस प्लान्टबाट अक्सिजन सिलिन्डर भर्नुको साथै बिरामीको बेडमा सिधै वितरण गर्न सकिने पनि सुविधा रहेको डा. गौतमले बताए । ‘जता आवश्यक पर्छ, त्यतै सप्लाई गर्न सक्छौं,’ उनले भने ।

‘प्लान्ट स्थापना भएपछि जिल्ला अस्पताललाई मात्र नभएर गाउँ गाउँमा अक्सिजन चाहिने दमका रोगीहरुलाई पनि सहयोग पुग्ने छ । साथै, स्वास्थ्य चौकीहरुमा अक्सिजन वितरण गर्न सकिने छ ।

‘उत्पादन धेरै भयो र यहाँ खपत भएन भने बुटबल, गाउँपालिका स्वास्थ्य चौकी वा अक्सिजन आवश्यक पर्ने दमका रोगी भएका घरमा पनि न्युनतम मूल्यमा वितरण गर्न सकिने छ,’ डा. गौतमले भने, ‘न्युनतम मूल्यमा दिन सकिने भयो।’

अस्पतालमा अक्सिजन प्लान्ट स्थापना हुदा बिरामी र अस्पतालालई धेरै सजिलो भएको छ । बुटबल पुग्ने बाध्यतामात्र हटेको छैन, समयमै उपचार पाउने र यसले विरामीको लागत खर्च घटाएको छ । अहिले एक सिलिन्डर भर्दा कम्तिमा ७–८ सय पर्छ । त्यसमाथि ढुवानी खर्च जोड्दा यसको मूल्य उच्च हुन्छ । जिल्ला अस्पताल मै उत्पादन सुरु भएपछि यो सबै बचत भएको छ ।

संघीय सरकारले ढेड करोड रुपैयाँ बजेट विनियोजन गरेसँगै ढेड महिना अघि अक्सिजन प्लान्ट स्थापना गर्न टेन्डर आहवान  गरिएको थियो । प्रविधि इन्टरनेसनल नामक कम्पनीले ८४ लाख रुपैयाँमा यसको स्थापना गर्न टेन्डर हात पार्यो । यसबाट अक्सिजन प्लान्टको लागि छुट्याइएको ढेड करोडमा ६६ लाख रुपैयाँ बचत भएको छ ।

अब ट्रान्सफरमर र जेनेरेटर आवश्यक भएको र अन्य सबै सिस्टम जडान भइसकेको डा. गौतमले बताए ।

कोरोनाको दोस्रो लहरमा अर्घाखाँची जिल्लामा व्यापक संक्रमण बढेको छ । बुधबार अर्घाखाँची अस्पतालमा कोरोना संक्रमणका २५ विरामी रहेको र सबैलाई अक्सिजन आवश्यक रहेको डा. गौतमले बताए ।

जिल्लाभरीमा बुधबारसम्म ७३५ जना कोरोना संक्रमणका सक्रिया विरामी रहेका छन् भने ७९ जनाको मृत्यु भइसकेको छ । जिल्लामा अहिलेसम्म डिस्चार्ज भएका विरामीको संख्या २ हजार ९ सय ४६ पुगेको छ ।

भिडियो पनि हेर्नुहोस्