कीवर्डहरू -

हेल्थ एट होमले भित्र्यायो वैदेशिक लगानी, स्वास्थ्य क्षेत्रलाई थप डिजिटलाइज गरिने

हेल्थ एट होमले भित्र्यायो वैदेशिक लगानी, स्वास्थ्य क्षेत्रलाई थप डिजिटलाइज गरिने

घरघरमा पुगेर उपचार सेवा प्रदान गर्दै आएको हेल्थ एट होम, मेड प्रो इन्टरनेशनल  प्रालिले बिजनेस अक्सिजन प्रालिमार्फत वैदेशिक लगानी भित्राउन सफल भएको छ ।

स्वास्थ्य क्षेत्रलाई थप डिजिटलाइज गर्दै घरघरमा पुगेर उपचार गर्ने कार्यलाई अझ विस्तार गर्ने उदेश्यले हेल्थ एट होमले वैदेशिक लगानी भित्राएको हो ।

यो लगानी आएसँगै घरघरमा पुगेर सेवा गर्ने कार्य आम मानिसको पहुँचमा पुग्ने विश्वास गरिएको छ । साथै नयाँ लगानीले जनशक्ति विस्तार र रोजगारी सिर्जनामा पनि नयाँ आयाम ल्याउने अपेक्षा गरिएको छ ।

१२ वर्ष अगाडी डा. विशाल ढकालले स्थापना गरेको हेल्थ एट होमले घरघरमा पुगेर स्वास्थ्य सेवा दिँदै आएको छ । हाल हेल्थ एट होम मार्फत करिब १० हजार भन्दा बढी घरले स्वास्थ्य सेवा लिइरहेका छन् ।

हेल्थ एट होममा हाल ४ सय जना भन्दा बढि स्वास्थ्यकर्मी समेत कार्यरत छन् भने हेल्थ एट होमले घरमै पुगेर विरामीको उपचार गर्ने, ल्याव टेस्ट तथा रिपोर्ट लिने, विभिन्न किसिमका थेरापी दिने लगायतका कार्य गर्दै आएको छ ।

हेल्थ होमले कोभिड महामारिका बेलामा समेत विरामीहरूलाई घरघरमै पुगेर उपचार गर्दै आइरहेको छ । देशव्यापी सञ्जाल बनाउने उदेश्य राखेको हेल्थ होमले उपत्यका बाहिर तीनवटा शाखा मार्फत समेत आफ्नो सेवा दिँदै आएको छ ।

हेल्थ एट होमले विभिन्न किसिमका अन्तराष्ट्रिय पुरस्कार समेत प्राप्त गर्न सफल भएको छ । हेल्थ एट होम २०१२ मा सुर्य नेपाल सामाजिक उद्यम पुरस्कार र २०१४ मा अमेरिकी सरकारबाट सामाजिक कार्यक्रम पुरस्कार समेत प्राप्त गर्न सफल संस्था हो ।

बिजनेस अक्सिजन प्रालि नेपालको पहिलो निजि इक्विटी कोष हो । यो अन्तराष्ट्रिय वित्त निगम,डिएफआइडी/एफसिडिओ/जलवायु लगानी कोष लगायतको कोषबाट सञ्चालित छ ।